जेष्ठ नागरिक : आजको सन्दर्भ
वि.सं. २०७८ को राष्ट्रिय जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख रहेकोमा पुरुषको संख्या ४८.८७ प्रतिशत र महिलाको संख्या ५१.१३ प्रतिशत रहेको छ । जनगणनाको पछिल्लो दशकमा जनसंख्याको औसत वृद्धि दर ०.९२ प्रतिशत रहेकोमा वृद्ध व्यक्तिहरूको वृद्धि दर प्रतिवर्ष ३.२९ प्रतिशत रहेको छ । उक्त जनगणना अनुसार ६० वर्ष उमेर वा सो भन्दा माथिल्लो उमेरको जनसंख्या १०.२१ प्रतिशत रहेको छ । वृहत उमेर समूह अन्तर्गत ६०–७९ वर्ष समूहमा २६,८९,७९५ अर्थात् ९.२२ प्रतिशत र ८० वर्षभन्दा माथि २,८७,५२३ अर्थात् ०.९९ प्रतिशत रहेको पाइन्छ ।
वि.सं. २०६८ को जनगणनासँग तुलना गर्दा ५ वर्ष भन्दा कम उमेर समूहमा ९.६९ रहेकोमा २०७८ मा ८.३६ थियो । त्यस्तै ६० वर्ष वा सो भन्दा माथि २०६८ मा ८.१३ र ६८ वर्ष भन्दा माथि ३.७७ रहेकोमा २०७८ मा क्रमशः १०.२१ र ५.२३ प्रतिशत रहेको पाइएको छ । यसरी २०७८ को राष्ट्रिय जनगणनाले मुलुकमा बुढ्यौली सूचकाङ्क बढ्दै गएको देखाएको छ ।
सबैभन्दा बढी उमेर समूह ९५ वर्ष र सोभन्दा माथि जम्मा १७२३४ अर्थात् ०.१ प्रतिशत रहेका छन्, जसमध्ये पुरुष ६,८१० र महिलाको संख्या १०,४२४ रहेको छ । शहरी/ग्रामीण विवरण स्थिति हेर्दा नगरपालिका क्षेत्रमा ११,०८१ (पुरुष ४,२७१ र महिला ६,८१०) भएकोमा गाउँपालिका क्षेत्रमा ६,१५३ (पुरुष २५३९ र महिला ३६१४) छन् ।
भौगोलिक क्षेत्र अन्तर्गत हिमालमा ८८६, पहाडमा ६,९८६ र तराईमा ९,३६२ रहेका छन् । प्रदेश अन्तर्गत सबभन्दा बढी क्रमशः बागमती ३,९१९, मधेश ३,७८६, लुम्विनी २,६७०, कोशी २,६४६, गण्डकी २,२४९, सुदूरपश्चिम १,४६८ र कर्णालीमा ४९६ रहेका छन् । यस्तै जिल्लाहरूमा सबभन्दा बढी काठमाडौंमा ९८० (पुरुष ३४२ र महिला ६३८) तथा सबभन्दा कम मनाङ्ग र मुस्ताङ्गमा ४/४ जना रहेका छन् ।
उपलब्ध तथ्याङ्कहरूले नेपालमा पनि मानिसहरूको औसत आयु उत्साहजनक रूपमा बढ्दै गएको र सोही अनुरूप वृद्ध व्यक्तिहरूको संख्यामा पनि उल्लेख्य रूपमा वृद्धि हुँदै गएको स्पष्ट देखिन्छ । मुलुकमा बालबालिकाको जन्मदर घट्दै गएको र २०४८ देखि बुढ्यौली उमेर लगायत तीन गुणाले बढेको छ । यसले मुलुकको जनसंख्या युवा बहुल अवस्थाबाट वृद्धावस्थामा परिवर्तन हुँदै गएको देखाएको छ ।
हाम्रो देशको तीनवटै भौगोलिक क्षेत्रलाई तुलना गर्दा पहाडमा ६० वर्ष भन्दा बढी बाँच्न सक्ने दर ८१.२ प्रतिशत छ । जसमा महिलाको ८६.४९ प्रतिशत र पुरुषको ७५.९ प्रतिशत रहेको छ । तराईमा यो दर सबैभन्दा न्यून अर्थात् ७९.० प्रतिशत छ जसमा महिलाको ८३.५० र पुरुषको ७४.४ प्रतिशत छ ।
प्रदेशस्तरमा हेर्दा बागमतीमा बढी बाँच्ने दर सर्वाधिक ८२.६ प्रतिशत छ भने यस्तो दर न्यून रहेको प्रदेश लुम्विनी ७६.८ प्रतिशत हो । जिल्लास्तरमा हेर्दा बढी बाँच्ने दर अधिकतम ८९.१ प्रतिशत मुस्ताङ्ग जिल्लामा छ भने त्यसपछिका दुईवटा जिल्ला क्रमशः हुम्ला ८६.१ प्रतिशत र काठमाडौं ८४.९ प्रतिशत देखिएको छ । यो मान कम हुने तीनवटा जिल्लाहरूमा क्रमशः कपिलवस्तु ७४.८ प्रतिशत, बाँके ७४.७ प्रतिशत र पाँचथर ७३.१ प्रतिशत छन् ।
लगभग ५१ प्रतिशत वृद्ध जनसंख्या अझै पनि आर्थिक रूपमा सक्रिय रहेको तथ्याङ्कले देखाएको छ । ती मध्ये अधिकांश कृषि क्षेत्रमा संलग्न छन् । वृद्ध व्यक्तिहरूको श्रम मुख्यतः पूर्वाधारको न्यून पहुँच भएका ग्रामीण क्षेत्र र विपन्न वर्गहरूका माझ उपयोग भएको पाइएको छ । कुनै रोजगारीको अभावमा उनीहरूले स्वरोजगार हुनुलाई प्राथमिकतामा राख्ने गरेका छन् । अवकाश पश्चातको सेवा सुविधाको अभाव र सामाजिक सुरक्षाका अवसरहरूको अभावका कारण यो समूहको ठूलो हिस्सा प्राय आफ्नो जीविका चलाउन काम गर्नैपर्ने वाध्यता छ ।
बुढ्यौली समाज उन्मुख
पछिल्ला दशकमा समग्र जनसंख्यामा वृद्ध जनसंख्याको अनुपात उल्लेखनीय रूपमा वृद्धि भएको देखिन्छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार वि.सं. २०२८ मा ६५ वर्ष वा सो भन्दा माथिको संख्या कुल जनसंख्याको ३.१ प्रतिशत थियो । यो अनुपात २०६८ र २०७८ मा बढेर क्रमशः ५.३ प्रतिशत र ७ प्रतिशत पुगेको छ । वि.सं. २०६८ र २०७८ को अवधिमा नेपालमा त्यस्ता (६५ वर्ष वा सो भन्दा माथिका) वृद्धहरूको जनसंख्या ८० प्रतिशत बढीले वृद्धि भई ११ लाखबाट करीब २० लाख पुगेको छ ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कुनै देशमा ६५ वर्ष वा सो भन्दा माथिको कुल जनसंख्याको ७ प्रतिशत पुगेपछि त्यसलाई समाज भनिन्छ । यस सन्दर्भमा २०७८ को जनगणनाले नेपाललाई औपचारिक रूपमा वृद्ध समाजको स्तरमा पुर्याएको छ । युनिसेफबाट सन् २०१७ मा प्रकाशित एक प्रतिवेदनमा सन् २०२८ मा नेपाल वृद्ध समाजको स्तरमा पुग्ने अनुमान गरिएको थियो ।
राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा प्रकाशित जनसंख्या प्रक्षेपण अनुसार सन् २०५० (वि.सं. २१०७) मा ६५ वर्ष वा सो भन्दा माथिको जनसंख्या कुल जनसंख्याको १४ प्रतिशत पुग्ने अनुमान गरिएको छ । अर्थात् आगामी तीन दशकभित्र नेपाल उन्नत वृद्ध समाजको तहमा प्रवेश गर्नेछ । यसले सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, रोजगारीको ढाँचा तथा आर्थिक वृद्धिमा प्रत्यक्ष असर पार्नेछ ।
हालै समृद्ध दीर्घायु नामक कृति रामचन्द्रमान सिंहको पुस्तक (२०८२) ले यस सन्दर्भमा केही प्रश्न उठाएको छ कि जेष्ठ नागरिकहरुको जीवनलाई अत्यन्त गम्भीर रुपमा चिन्तन गर्नु पर्ने आवश्यकता छ । यसै क्रममा विभिन्न लेखकहरुले नेपालीमा पनि जेष्ठ नागरिक सम्बन्धमा कृतिहरु प्रकाशित गरिरहेका छन् जसले जेष्ठ नागरिकको सम्बन्धमा नेपालमा पनि त्यत्तिकै चिन्तनशील हुनुपर्छ भन्ने कुरा देखाएका छन् ।
प्रा.डा. मुकेश कुमार चालिसेले उमेरिँदाको कथा र व्यथा २०८१ पनि यस सम्बन्धमा महत्वपूर्ण एक कृति हो भने अर्को उनैको पाकाको रमाइलो र पिरलो २०८१ यस्तै महत्वपूर्ण कृति हुन् । त्यसो त जेष्ठ नागरिकको सम्बन्धमा जेष्ठ नागरिक साहित्य समाज पनि हाल खुलेको छ । जेष्ठ नागरिकका विभिन्न संस्थाहरु पनि छन् । जेष्ठ नागरिक ऐन २०६३ पनि यस सन्दर्भमा उल्लेखीय छ । यहाँ सम्झनु पर्ने अर्को कृति हो डा. प्रसन्न चन्द्र गौतम, डा. अच्युतमणि आचार्य र डा. सुमन के. श्रेष्ठका कृतिहरु सुमनको बुढेसकालमा लाग्ने रोगहरु २०६२, डा. प्रसन्नको जब पुग्यो साठ्ठी, २०६८, डा. अच्युतमणि आचार्यको बुढ्यौली जीवनका अनुभूतिहरु २०७४, डा. सुमन श्रेष्ठको जेष्ठ नागरिक स्वस्थ जीवन शैली २०७७, खप्तड बाबाको स्वास्थ्य विज्ञान २०६१ सन्दर्भित छन् ।
हरि श्रेष्ठको आँशुमा बाँचेका बुढाबुढीहरु २०५६, पुष्पनाथ शर्माको नेपाली समाजमा बुढ्यौली जीवन २०६६, शास्त्रदत्त पन्तको बारदक्य जीवन बोध २०७१, जीवन कुमार प्रसाईको सधैँ तन्नेरी २०७३, श्रीधर लामिछानेको सहज बुढ्यौली २०७९ यस्तै जगत के.सी. र सुमन के. श्रेष्ठको सम्पादनको ज्यूँदा इतिहास २०८१ पनि उपयुक्त सन्दर्भ सामग्री हुन् । यस्तै बद्री प्रसाद ढकालको नेपाली बुढ्यौली साहित्य इतिहासको अध्ययन स्वरुप बुढ्यौली साहित्य २०७७ पनि उल्लेखीय छ । राष्ट्रिय मानव अधिकार आयोगद्वारा अनुपराज शर्माको अध्यक्ष समयमा २०७५ मा गरिएको अनुसन्धान र त्यसको प्रकाशित प्रतिवेदन वृद्धाश्रम, कल्पवास, दिवा सेवा केन्द्र, स्याहार केन्द्र र अध्ययन केन्द्रहरुको अध्ययन प्रतिवेदन २०७५ महत्वपूर्ण ऐतिहासिक सामग्री देखा पर्छ ।
नेपालका जेष्ठ नागरिकको जीवनी, अन्तर्वार्ता, लेखन र प्रकाशनमा धेरै काम गर्न बाँकी छन् र अहिले वृद्धावस्थाका विभिन्न चुनौतीलाई मध्यनजर गर्दै त्यसलाई सजिलो कसरी पार्नु पर्छ भन्ने पक्षमा छलफल गर्नु पर्ने आवश्यकता छ । त्यसो त धेरै सामग्रीहरु प्रकाशित भएर पनि पाठक समक्ष नपुगेका सन्दर्भहरु हुन सक्छन् काठमाडौँ बसेर काठमाडौँबाट प्रकाशित गर्ने चर्चित लेखक डा. मुकेशको मानिला मान्छेका धामा २०७९ र पाका मान्छेका कुरा २०७९ अझै मैले पढ्न नपाएको सन्दर्भ छ । यो पंक्तिकारको आशय के हो भने सामाग्री प्रकाशित हुन्छन् तर तिनको सूचना केन्द्र नभएको अवस्थामा त्यसको लागि सम्बन्धित निकायले प्रयास गर्नु पर्ने जरुरी छ । यस सन्दर्भमा अहिले यसको काम समाज कल्याण मन्त्रालय र समाज कल्याण परिषद् र जेष्ठ नागरिक महासंघले लिनु पर्ने देखिन्छ ।




0 comment