काठमाडौं - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा देखिएको समस्या समाधान गर्न खोज्दा विपक्षी दलको साथ नपाएको बताएका छन् ।

सोमबार बिपक्षी दलका सांसदहरुले सदनको कामकारवाही अघि बढाउन अवरोध गरेपछि सभामुख अर्यालले विपक्षी दलका सदस्यहरुलाई पटक–पटक संवाद गर्नको लागि बोलाए पनि विपक्षी दलबाट समय नपाएको गुनासो पोखे । 

उनले सभामुखको हैसियतले आफूले संम्वादलाई प्राथमिकता दिएपनि विपक्षी दलबाट नजरअन्दाज भएपछि प्रक्रिया अनुसार नै अघि बढ्ने अवस्था आएको धारणा राखे ।

सभामुख अर्यालले आइतबार प्रतिनिधिसभा नियमावली पारित गर्ने प्रक्रियालाई पनि संविधान र नियमावली अनुसार नै अघि बढाइएको उल्लेख गरे । सभामुखको हैसियतले आफूले विधेयकमा आएका संशोधनहरुलाई निर्णयार्थमात्रै प्रस्तुत गर्न सक्ने भन्दै उनले स्वीकार गर्ने या अस्वीकृत गर्ने भन्ने सांसदहरुकै विषय भएको बताए । 

सभामुख अर्यालले आफूले प्रक्रियामा काम गरिरहेको र कुनै नियम नमिचेको समेत बताए। त्यस्तै उनले सदनमा विरोधको प्रतिष्पर्धा भन्दा पनि देश, राष्ट्र, राष्ट्रियता र जनताको जनजीविकाको विषयमा प्रतिस्पर्धा गर्न सुझाव दिए ।