काठमाडौं - इरानले इजरायलको दक्षिणी सहर बेरशेबामा रहेको सोरोका अस्पताल र वरपरका आवासीय क्षेत्रहरूमा क्षेप्यास्त्र आक्रमण गरेको छ। आक्रमणमा हालसम्म कम्तीमा ६५ जना घाइते भएका छन्।
इरानी पक्षले आफ्नो निशाना अस्पताल नभई सो क्षेत्रका दुई मुख्य इजरायली सैन्य अड्डा भएको दाबी गरेको छ। तर क्षेप्यास्त्रले सोरोका अस्पताल वरपरका घरहरूमा पनि क्षति पुर्याएको जनाइएको छ।
इजरायली आपतकालीन सेवा म्यागेन डेभिड एडोम (एमडीए) का अनुसार घाइतेमध्ये ८० वर्षीय एक पुरुष र ७० वर्षभन्दा माथिका दुई महिला गम्भीर अवस्थामा छन्। अन्य ४२ जनालाई सामान्य चोटपटक लागेको छ भने १८ जना बम आश्रयस्थलतर्फ भाग्ने क्रममा घाइते भएका हुन्।
आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले तेहरानका तानाशाहहरूले यस आक्रमणको पूरा मूल्य चुकाउनुपर्ने प्रतिक्रिया दिएका छन्।
इजरायलले क्षेप्यास्त्र आक्रमणको जवाफमा कस्तो कदम चाल्नेछ भन्नेबारेमा उच्चस्तरीय सुरक्षा बैठकहरू भइरहेको जनाइएको छ। स्थिति अझै तनावपूर्ण रहेको छ।



0 comment