देशलाई अग्रगामी दिशातिर अघि बढाउने दायित्व सबैको हो । राजतन्त्र आउने वित्तिकै रातरात कायपलट हुन्छ भन्ने भ्रमित अभियानमा लागेकोहरुको जमातलाई सरकारले निगरानी राख्नु पर्दछ । करिब २ सय ३० वर्षे राजाको शासन यही स्वतन्त्रताका लागि जनताले फालेका हुन । आज गणतन्त्र छ राजावादीको नाममा अराजक मच्चाउदै हिडेका छन् । अव यसरी मुलुकलाई राजावादीका नाममा अराजक मच्चाउनेहरुलाई अनदेखा गर्ने हो हो भने सबै उपलब्धी गुम्ने खतरा झन बलियो बन्दै जान्छ । त्यसैले सबै दलहरु यसप्रति गम्भीर बन्न ढिला गर्नु हुँदैन । काठमाडौंमा भएका जनप्रदर्शन र राजावादीहरुको भाडभैलोको बारेमा थोरै विश्लेषण गर्नु पर्दा राजधानी काठमाडौँमा एकातिर गणतन्त्र पक्षधर चार वामपन्थीहरूको जन प्रदर्शनको आयोजना थियो, भने अर्कोतिर राजावादीहरूले काठमाडौँको तिनकुनेमा कथित प्रदर्शनको आयोजना गरेका थिए । 


वामपन्थीहरूको जनप्रदर्शन शान्तिपूर्ण ढंगले भव्य रुपमा सफल भयो । तर राजावादीहरूको कथित गणतन्त्र विरोधी, संविधान विरोधी र व्यवस्था विरोधी प्रदर्शन सुरुदेखि नै प्रहरीका विरुद्ध निरन्तर उत्रिन थाल्यो, केही समयमा उनीहरूको जमघट अत्यन्त अराजक र हिंस्रक बन्न थाल्यो ।  हेर्दाहेर्दै उनीहरू प्रहरीमाथि ढुङ्गामुढा गर्न थाले, वरिपरिका घरपरिवारमाथि हमला गर्न थाले, तीनकुने स्थित मार्बल हाउसमा तोडफोड र आगजानी गरे । विभिन्न मिडिया हाउसहरु माथि समेत हमला गर्न थाले र एक पत्रकारको समेत हत्या गरे । यो गम्भीर विषय हो । 


हुदाँहुँदै हाम्रो पार्टीको केन्द्रीय कार्यालयमा राजावादी गुण्डाहरूको एउटा जथ्थाले व्यापक तोडफोड र आगजानी गरे । त्यसरी नै हाम्रो पार्टीका अध्यक्षको घर तोडफोड गर्ने दुष्प्रयास समेत गरे । त्यति मात्र होइन भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने, ठाउँठाउँमा नीजि पसलहरु समेत लुट्ने र जडीबुटी उत्पादन कारखाना समेत जलाउने काम गरे । यी अत्यन्त निन्दनीय, बिध्वंसकारी, अराजक र अराजनीतिक कृयाकलापहरु हुन् । यी सम्पूर्ण कार्यहरूको म हाम्रो पार्टीको तर्फबाट घोर भत्सना र विरोध गर्दछु । साथै सरकारले यस्तो बिध्वंसक गतिविधिलाई पनि किन नियन्त्रण गर्न सकेन ? समयमै पूर्व तयारी गर्न किन सकेन ? म सरकारको यो अकर्मण्यता र असक्षमताको बारेमा पनि प्रश्न उठाउन चाहन्छु । यस्तो अवस्थामा सरकारलाई यी बिध्वंसकारी र हत्यारा अपराधीहरुलाई तुरुन्त पक्राउ गर्न र कडा कार्यबाही गर्न म जोडदार माग गर्दछु ।


क्रान्तिकारी शक्तिहरू, देश भक्तशक्तिहरू, वामपन्थीहरु ! देशमा विकास हुदैँ गएको यो जटिल परिस्थितिलाई गम्भीरतापूर्वक विश्लेषण गरौं । सत्तामा रहेका यथास्थितिवादीहरूको अकर्मण्यताको विरोध गर्दै पूनरुत्थानवादी राजावादीहरूको बिध्वंसक गतिविधिको देशव्यापी रुपमा विरोध र भण्डाफोर गरौं र गणतन्त्रको रक्षा गर्दै जनता र राष्ट्रलाई आमूल परिवर्तनको दिशातिर दृढतापूर्बक अघि बढाउन सकियो भने मात्र गणतन्त्रलाई सुदृढ गर्न सकिन्छ ।