काठमाडौं - चीनको तिब्बतमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुगेको छ । चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टीमा मंगलबार बिहान गएको भूकम्पमा परी घाइते हुनेको संख्या १८८ पुगेको छ ।

स्थानीय समयअनुसार नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टी केन्द्र भएर मंगलबार बिहान भूकम्प गएको हो । भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवर्क्स सेन्टरका अनुसार स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । सेन्टरका अनुसार भूकम्पको उद्गम बिन्दु(गहिराइ) १० किलोमिटर रहेको छ ।

भूकम्पको केन्द्रबिन्दुको ५ किलोमिटर आसपासमा ७ वटा गाउँ छन् । त्यस्तै केन्द्रविन्दुको २० किलोमिटर आसपासमा भने दुईवटा सहर रहेका छन् । भूकम्पका कारण भवनहरू भत्किएको भिडियो र तस्बिरहरूसमेत सार्वजनिक भएका छन् । चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धार टोली खटिइसकेका छन् ।

यूएस जियोलोजिकल सर्भेले भने उक्त भूकम्पको मापन ७.१ म्याग्निच्युड रहेको जनाएको छ । नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले ७.० म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का नेपालका विभिन्न जिल्लासँगै भुटानको थिम्पु, भारतको बिहार र बंगलादेशसम्म पनि महसुस गरिएको समाचारहरू आएका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि भूकम्प प्रभावित क्षेत्रमा उद्धारका लागि खटिएर क्षति न्यूनीकरण गर्न निर्देशन दिएका छन् । सयौंको संख्यामा सुरक्षाकर्मीहरू परिचालन भएका छन् ।

भूकम्प नेपालमा पनि धक्का महसुस भएको थियो । काठमाडौं उपत्यकालगायत विभिन्न ठाउँमा मानिसहरू घरबाहिर निस्किएका थिए । काठमाडौंको स्‍युचाटारमा एक पुरुषले घरको छतबाट हाम फालेर घाइते भएका छन् । अन्य केही घरहरूमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।

यस्तै भूकम्पका कारण सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको छ ।

थुलुङ दूधकोशी ७, देउसा लुरुवाका ५० वर्षीय हर्कबहादुर खत्रीको ढुंगामाटोको गारो र ढुंगाकै छानो भएको दुईतले घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका ५, हेलाजुङ बस्ने आङङिमा शेर्पाको ढुंगा,माटो र टिनको छानाको दुईतले घरमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

भूकम्पले सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जको थामे पोस्ट कार्यालय भवनमा पनि क्षति पुगेको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका ५, थामेत्याङस्थित निकुञ्जको भवनमा भूकम्पका कारण चिरा परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले जानकारी दिइन् ।