काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रका असन्तुष्ट नेताहरुसँग आफू निरन्तर छलफलमा रहेको बताएका छन् ।

मंगलबार पार्टी कार्यालय सानेपामा १५ औं केन्द्रीय महाधिवेशन अन्तरर्गत विभिन्न जिल्लाहरुमा निर्वाचन सम्पन्न गर्न तोकिएका निर्वाचन अधिकृतहरुको प्रशिक्षण कार्यक्रममा सभापति थापाले औपचारिक रुपमा पार्टीको महाधिवेशन प्रक्रिया सुरु भएको भन्दै सवैलाई समेट्न असन्तुष्ट नेताहरुसँग आफू निरन्तर छलफलमा रहेको बताएका हुन् ।

सदस्यता वितरण र निष्पक्षताबारे कसैको पनि असन्तुष्टि, प्रश्न वा आशंका भएमा नयाँ समिति बनाएर वा खुला छलफल गरेर समाधान खोज्न  प्रतिबद्ध रहेको बताए ।

उनले सम्पूर्ण निर्वाचन प्रक्रियामा सवैले निष्पक्षता महसुस गर्न पाउनुपर्ने र कतै पनि पूर्वाग्रह वा अनियमितता नहुने गरी काम हुनुपर्नेमा जोड दिए । सदस्यता प्रणालीलाई डिजिटलाइज गरिएकाले अब सदस्यता स्वतः नवीकरण हुँदै जाने र आगामी अधिवेशनहरूमा हालको जस्तो विवाद र झन्झट सधैँका लागि अन्त्य हुने उनले बताए ।

उनले सीमित समयभित्र धेरै काम सम्पन्न गर्नुपर्ने अवस्था रहेकोले अन्तिम मिति परिवर्तन नहुने गरी असोज १६ अगाडिका अन्य तहका अधिवेशनहरूको विस्तृत कार्यतालिका निर्वाचन समितिले बनाउने र सोही अनुसार सबैले कार्यान्वयन गर्नुपर्ने उल्लेख गरे ।