काठमाडौं - चीनको पहाडी क्षेत्र तिब्बतमा आज बिहान गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ५३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ३८ जना घाइते भएका छन् ।

तिब्बतको पवित्र सिगात्से सहरमा गएको भूकम्प ७.१ म्याग्निच्युडको र गहिराइ १० किलोमिटर रहेको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

भूकम्पको केन्द्रबिन्दुको ५ किलोमिटर आसपासमा ७ वटा गाउँ रहेका छन् । त्यस्तै केन्द्रबिन्दुको २० किलोमिटर आसपासमा भने २ वटा सहर रहेका छन् । भूकम्पका कारण भवनहरू भत्किएको भिडियो र तस्बिरहरूसमेत सार्वजनिक भएका छन् । चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धार टोली खटिइसकेका छन् ।

भूकम्पको धक्का छिमेकी मुलुक नेपाल र भारतका केही भागमा पनि महसुस गरिएको थियो ।