मनास्लु पदयात्रामा निस्कने प्रायः सामागाउँ (३५२० मिटर) पुगेपछि २ दिन बस्छन् । हुन त २ दिनको बसाईंले यहाँका सबै पर्यटकीय स्थल पुग्न÷घुम्न भ्याईंदैन । वास्तवमा नुब्री उपत्यका सामागाउँ वरपर घुम्न लायक पर्यटकीय स्थल अनेक छन्, ती मध्य एक हो, मनास्लु आधारशिविर (४८८० मिटर) सम्मको पदयात्रा । सुन्दर हिम दृश्यको हिसाबले मात्र हुँदै होइन । हाइ पचाउनको लागि पनि उत्तिकै उत्तम गन्तव्य हो यो गन्तब्य । आज हामी मनास्लु मुन्तिरको पदयात्रामा निस्कँदै छौ ।
हामी सवा ७ बजे उक्लिन शुरु गर्यौं । सामागाउँबाट साम्दो जाने बाटो पछ्याउँदै छौँ । बाटो त प्राय उकालो र तेर्सो छ । खोला तरेपछि साम्दो जाने सिधा बाटो छोडेर बायाँ धकलिएको मनास्लु आधारशिबिर जाने बाटो पछ्याउँदै उक्लिन्छौँ । ढुंगाको छपनी, ढुंगाकै सिढी छ । तर बाटो अलि बढी उकालो (४०–५० डिग्रीको) छ । फराकिलो पनि छ बाटो, झण्डै ४/५ फुटको ।
उकालो र ढुंगाको सिँढीयुक्त बाटोले अझै निरन्तरता पाएको छ । तर एक घण्टापछि बाटोमा उकालोको मात्रा वृद्धि (७०–८० डिग्रीसम्मको) भएको छ । दायाँबायाँ १०/१५ मिटरका नाङ्गा (पात झरेका) रुख छन् । झाडी पनि सुकेका छन् । अगाडि माछापुच्छ्रेले जस्तै दुई पुच्छर फैलाएर उभिएको छ एक आकर्षक हिमाल । विश्वको आठौं तर नेपालको सातौं अग्लो मनास्लु हिमाल (८१६३ मिटर) हो यो ।
यसको बायाँतिर ङाभी चुली÷पिक २९ (७८७१ मिटर) छ । यसलाई ससम्मान डा. हर्क गुरुङ चुली भनेर पनि नामाकरण गरिएको छ । हिमचुली (७८९३ मिटर) देखिएको छ र पछाडी स्याउला हिमाल छ । त्यसैको मुन्तिर झुरुप्प बसेको शोभायमान सामागाउँ । निर मसी खन्याएजस्तो गाढा निलो रंगमा खुलेको वीरेन्द्र तालले सुन्दरता बढाएको छ । जसलाई तल्तिरै छोडेर आए पनि छोडिएको छैन यसको सौन्दर्य । झन्झन् आँखामा टाँसिन आएको छ, यसको आकर्षक आकार र रुपरंग ।
ठ्याक्कै २ घण्टामा अर्को आकर्षण थपिएको छ । घरपालुवा बाख्राको बथानजस्तै दृश्यको । नारिँदै १४÷१५ वटा नार ९दगिभ कजभभउ० बाटो मुनीको चौरमा चरिरहेका छन् । निर्दोष नार नजरमा के परेको थियो, मन त्यसै त्यसै फुरुङ्गिदै नारको पाठा भएर उफ्रियो । आँखाहरू एकोहोरिए, एकाएक रोकिए चलायमान पाइलाहरू । हातहरू सल्बलाए, क्यामरामा कैद गर्न । एक निमेष जस्तो लाग्छ, तर बुर्कुसी मारिसकेछ २० मिनेटको समयले ।
सहमति अनुसार हामी फर्कने समय समेत गुज्रिसकेको रहेछ । त्यहीँबाट फर्कने सहमति भएको थियो, जहाँ २ घण्टाको समयावधि समाप्त हुनेछ । अर्थात् सवा ९ बजेको उचाइसँग घुलमिल हुनु हाम्रो उद्देश्य थियो । मनास्लु आधारशिविर पुग्ने तयारी नगरी निस्केकोले बीचबाटोबाट फर्कने सहमति भएको थियो, मसँग मेरो जर्मनी पाहुनाको । तर फर्कने छाँटकाँट नै देखाएको छैन । मेरो तन्नेरी पाहुनाले “के तिमी यिनीहरूसँगै अझै उक्लन्छौ?” बिहानैदेखि नै दुई तरुनी साथी (पोर्चुगलकी नाटिया र बेलायतकी फ्लोरा) सँग लहसिनमा व्यस्त छ उ । “पक्कै सँगसँगै अझ माथी पुग्न चाहन्छु ।” मानौं यो बाहेक जवाफ नै छैन जस्तो गरि बात मार्दामार्दै तन्नेरी पाहुनाले निर्धक्कले जवाफ फर्कायो । हाम्रा प्रमुख समस्या भनेको भोक र तिर्खाको थियो । बिचबाटोबाट फर्कने सहमति अनुसार हामी बिना तयारी अर्थात् दिउँसोको लागि खाना र पानी नबोकी निस्केका थियाँै । के मान्छेको मस्तीमा जागेको भूतले भोक तिर्खा भगाउँछ ? लाग्छ, जानी नजानी उ वर्तमानको खुसीलाई सकेसम्म लम्ब्याउन त चाहन्छ नै । साथै रहर छ, यसलाई अवचेतन मनभित्र पुर्याएर अनन्तसम्म टिकाइराख्न । चाहे त्यो साथीसंगतको खुसी होस्, चाहे माया पिरतीको आशक्ति ।
उसको पारा र मनोविज्ञान बुझेर उनीहरूकै हुलमा मिसिएको छु म । अब तेर्सो–ठाडो बाटो दोहरिँदै गएको छ । तर बढी मात्रामा ठाडो छ बाटो । सायद आम मान्छेको जिन्दगी पनि त यस्तै हुँदो हो । तेर्सो अर्थात् सुख कम तर उकाली अर्थात् दुःख बढी, हिउँदका दिन र रात जस्तै । उज्यालो÷दिन छोटा तर अँध्यारो÷रात लामा भए जस्तै । मास्तिरबाट छङ्छङ् झरना झरेको छ । त्यही झरनाको पानी तल खोली भएर बगेको छ । त्यही खोली तर्न जम्बो कोकका बोतल जत्रा ४/५ वटा फेदैबाट काटिएको सिङ्गो रुख तेस्र्याइएको छ । जम्मा ३÷४ पाइलाको छ यो रुखको अस्थायी पुल । ढुङ्गाको सिढी बिच्छ्याइएको झन्डै ६०–६५ डिग्रीको उकालो बाटो आयो । यो बाटो १५ मिनेट हिँडेपछि सिमेन्टको पुल भेटियो । झन्डै १५ मिटर कै छ लम्बाइ । खोलाको सतहबाटै ठड्याइएको ढुङ्गाको पिलरले टेको दिइएको छ यसलाई । भुकम्पले चर्काएको घरलाई काठको घोचाले टेको दिए जस्तो देखिएको छ । खोलाको पानीमा केही अंश हिउँ भएको छ जमेर । यसबाट पनि प्रमाणित हुन्छ कि यहाँको मौसम चिसो थियो भन्ने । तर अहिले खासै चिसो छैन । मध्याह्न हुनै लाग्दा माइनस २÷३ हुँदो हो तापक्रम । जतिबेला तापक्रम न्यून (बिहान–बेलुकी–राती) हुन्छ, खोलाको पानी जमेर हिउँ बनेको हुनुपर्छ ।
सवा १० बजेछ । पुरानो मनास्लु आधारशिविर आइपुगियो । उचाई रहेछ, ४५५० मिटर । जब देब्रेतिर धकेलिएको बाटो आउँछ तब ठाडै उकालो नाप्नु पर्छ । बनस्पति बिहिन नाङ्गो डाँडाको यो बाटो यतिसम्म खतरापूर्ण छ कि खुट्टा फिस्लियो कि हजार÷पन्ध्र सय मिटर तल रहेकोे वीरेन्द्र तालमा पौडिन पुगिन्छ । साँढे ११ बजे डाँडाको अन्तिमतिर आइपुगियो । अब नायक पिक (६२११ मिटर) हाम्रो हाराहारीमा आएको छ । मनास्लुको एकातिरको धार मात्र देखिएको छ । डाँडाको धार मनास्लुको धारभन्दा कम छैन । तल्तिर हेर्दा रिंगटा छुट्छ । खुट्टा कमाउछ । यस्तो कहालिलाग्दो र जोखिमपूर्ण बाटो २ घण्टा हिडेपछि बल्ल मनास्लु आधार शिविर पुगिन्छ । भोकले पनि उकालो उक्लँदा भाउन्न गराइसक्यो । यो उकालोमा २ पुरी डेरी मिल्क चककेट, १ मुठी मकै–भटमास र १ पुरी बिस्कुट एकै सासमा हसुरेँ । हुन त बिहान उक्लँदा एक बाउल पोरिज पड्काएकै हो । उकाली ओरालीले होला । अलि छिटो भोक लाग्न थालेको छ आजकल ।
ठिक साँढे ११ बजे मनास्लु आधारशिविरको भूमिमा पाइला पुगे हाम्रा । सानो चौतारीजस्तो वर्गाकार समथर ठाउँ छ । चाक्लो थुम्को माथि । मनास्लु सबैभन्दा नजीक र ठूलो आकारमा निसंकोच अगाडि उभिएको छ । हावाहुरीसँग साउती मार्दै, पहाडपर्वतसँग पिरती गाँस्दै अटल भएर उभिँदै । साँच्चै निडर देखिने मनास्लुमा मस्त यौवन देखिन्छ ? उसको अजम्बरी पिरतीबाट प्रभावित भएर यिनीहरू (मेरा युवा पाहुना र अर्का साथीका युवती पाहुना) पिरती गाँस्न आतुर भएका हुन् ? मनास्लुको बायाँ क्रमशः ङागी चुली/पिक २९ (७८७१ मिटर) र हिमालचुली (७८९३ मिटर) छ । दायाँतिर क्रमशः मनास्लु नर्थ (७१५७ मिटर) अनि स्याउला चुली र चमेरी हिमाल हामीलाई हेरेर हाँसिरहेका छन् । जब हिमाल हाँस्न थाल्छन्, तब एउटा अव्यक्त रहस्य बोल्छ । आनन्दको सरोवर देखिन थाल्छ । यिनीहरू हाँस्छन र पो मान्छे हाँस्छन । हिमाल कै हाँसो टिपेर मायालुसँग मधुर मुस्कान साट्छ्न । हिमाल हाँस्दा गीत बन्छ । मानिस हाँस्दा प्रीत बन्छ । हिमालको हाँसोमा लट्ठिएको मान्छे कवि बन्छ, उसबाट गीता जन्मन्छ । क्या गाथारुपी महाकाव्यले भरिएका छन् हिमालहरू । कति हजार वर्षदेखि यसरी मित्रताको प्रतीक भएर बसेका होलान् यी दुःख भुलाउने हिमालहरू ? यिनीहरू मिलेर बसेको देखासिखी/अनुशरण गरेका त होइनन् हाम्रा नव जोडी पाहुनाहरूले? आधारशिविरको उचाई ४८८० मिटर देखाएको छ । यो उचाइ भनेको थोराङ फेदीभन्दा ३५५ मिटर बढी हो । तिलिचो तालभन्दा ३९ मिटर र थोराङ पासभन्दा ५३६ मिटर मात्र कमी हो ।
हावा हुरहुर... हुरहुुर... गर्दै जोडजोडले चलेको छ । अलि तल, हावा कम लागेको पाखोमा बसेर ल्याएको लञ्च खाने तरखरमा छौं । सहयात्री गाइड साथी अर्जुन पाण्डेले ल्याएको छ– प्याकिङ फ्राइ राइस नामको लञ्च । “खानु दाइ खानु मलाई धेरै हुन्छ ।“ अर्जुनले न्यानो आग्रह गरिरहेछ खानु कि खानु भनेर चिसो फ्राइ राइस । पोको पारेको र्यापरको एक छेउ च्यातँे र खोचे पारेर चम्चा बनाएँ । अनि भकाभक भकुरेँ । उनका दुई महिला पाहुनाले समेत फ्राइ राइसको पोको फुकाए र कपाकप खाए तर मेरो पाहुनाले लञ्च बोकेको छैन । हिमालतिर फर्केर टोलाइरहेको छ । अप्ठ्यारो र दयाले असजिलो बनाइरहेछ । मसँग भएको एक मुठी मकै फैलाए उतिर । खान्न, पर्दैन भन्दै थियो । १०/१२ गेडा हातमा राखिदिएँ । एकछिनमा आधाभन्दा बढी खाइसकेपछि सँगै बसेकी युवतीले खाँदैगरेको आफ्नो फ्राइ राइस मेरो पाहुनातिर तेर्स्याइ । बल्ल असजिलोको पारो ह्वात्तै कम भयो ।
भोक मिठो रहेछ । चिसो, र चिल्लो नगन्य भए, भोकको अगाडि । भोक त मेटियो तर तिर्खा मेट्ने कसरी ? मनतातो पानी ल्याएको थिए बोतलमा, बिहान उक्लँदा । मनतातो छँदै तीन भाग खाईसकेछु । अब चिसो न चिसो भएको १ भाग जति मात्र छ । कसरी निल्नु ? घाँटी समाउला कि भनेर डर लागिरहेछ । थोरै मुखमा केहीबेर राख्दै (ताता बनाउने हिसाबले) निलेँ, ३ घुड्को । अरुबेला भए कमतिमा मनतातो पानी पिउँथे, सके एक ग्लास स्ट्रोङ कफी घुट्क्याउँथे ।
ठीक १ घण्टापछि ओरालो झर्यौं हामी । ४८८० मिटरको हाइ पचाएर । १२/१५ मिनेट हुँदानहुँदै टि हाउसमा चिया खाने भन्दै बस्न थाले युवतीहरू । मैले मेरो युवक पाहुनालाई अलग्याएर ओरालो झर्ने क्रमलाई निरन्तरता दिए । तर मेरो पाहुनाको हिँडाइको गति आधै कम भयो ।
हिजो पुङ्गेन गुम्बाबाट झर्दाको गतिभन्दा कम्तीमा ७५ प्रतिशत कमी छ । युवतीहरूलाई पर्खदै हिँडेजस्तो गर्दैछ उ । साँच्चै भेटाइ छाडे युवतीहरूले हामीलाई । केटीहरू भेटेपछि त हिँडाइ झनै कछुवाको गति भयो । मलाई भने तिर्खा लागेको छ, थकाइभन्दा चर्को । यस्तो बेला कसरी हिँडु कछुवाको चालमा ? अगाडि हुत्तिँदै झरेँ । सुँगुरको मासुको लाम्टाजस्ता मनास्लु हिमपहिरोले बनाएको अनौठो आकृती, त्यसमाथि खेतबारीका जस्ता तर सेता न सेता हिउँका डल्लाका राश । तल्तिर निर मसी खन्याएजस्तो गाढा निलो वीरेन्द्र ताल, गुजुमुज्ज परेका तर मिहिनेतले मिलाएर राखेका उपहारका खजानाजस्ता राता–निला सामागाउँका होटलहरू हेर्दै अल्मलिएँ । यताबाट श्याला गाउँ र नजिकैको वनको डाँडामा अवस्थित गुम्बाले पनि आँखा तानेको छ । एकछिन भए पनि तिर्खा र थकाइ भुलाइदिएछ । बीच बाटोबाट देखिएका भूदृश्य हेर्दै पर्खंदै गर्दा । आधी घन्टा त एकै थलोमा बसेछु । पछाडि हेर्छु । मास्तिर टाढाबाट कमिला जत्रा मानव तलतिर घिस्रीएजस्तो देखियो । यहाँ आउन अझै १ घण्टा लाग्ला । अब भने पर्खने धैर्यताको बाँध भत्क्यो । अत्याससँगै भोक समेत लाग्न थल्यो । तिर्खा त पुरानै तिर्सना हो तनको ।
भोक, तिर्खा र थकाइले जर्जर बनेको म मुढो बनेर साँढे ३ मा सामागाउँ स्थित माउण्ट मनास्लु होटल छिरेँ । पानीलाई पहिलो प्राथमिकतामा राखेर मनतातो पानी आधा लिटर खाएँ । बाँकी आधा लिटर आधा घण्टाको समयावधिमा सकाएँ । जेनतेन ४ः३० बजाएपछि भोकलाई अल्मल्याउन पुष्टकारी मुखमा च्याप्दै कोठाबाट निस्केँ । चेक पोष्टतिर पहुनाको नाम इन्ट्री गर्न ।
वैभवशाली नासो र विश्वव्यापी सम्पदा बनेको छ, मनास्लु हिमाल । मे ९, १९५६ मा जापानी नागरिक तोसिओ इमानिसी र ग्याल्जेन नोर्बु शेर्पाले सफल आरोहण गरे मनास्लुको । त्यसपछि मनास्लु संरक्षण क्षेत्रको प्रतिष्ठा चुलियो, राष्ट्रिय तथा अन्तरास्ट्रिय क्षेत्रमा प्रचुर प्रचार प्रसारको कारण । त्यसपछि पर्यटक ओइरिन थालेको हो यस क्षेत्रमा । फलस्वरूप यसले विकासको छलाङ मार्दै वर्तमान अवस्थामा उत्रन सफल भयो ।
बिधिवत रुपमा २०५५ सालदेखि यही हिमालको नाम जोडेर “मनास्लु संरक्षण क्षेत्र“को घोषणा गरियो । प्राकृतिक स्रोतको संरक्षण र पर्यटन विकास गरी स्थानीय जनसमुदायको आर्थिक उन्नति गर्ने उद्देश्यका साथ । यथार्थमा “मनास्लु संरक्षण क्षेत्र” पर्यटकीय आकर्षणले भरिपूर्ण छ । प्राकृतिक साधनश्रोत, जैविक विविधता, सांस्कृतिक सम्पदा यसका सबल पक्ष हुन् । जसमा मनास्लु क्षेत्रको त हुँदै हो, मुलुक कै सौन्दर्य, पहिचान र प्रतिष्ठा समेटिएका छन् ।


1 comment
LP Pande बुधबार, २७ मंसिर, २०८१
Very great article go ahead and keep it up