काठमाडौं - इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिका र अन्य मित्रराष्ट्रले युद्धविरामका लागि आह्वान गरे पनि सशस्त्र समूह हिजबुल्लाहविरुद्ध 'पूर्ण शक्ति' का साथ लडाइँ जारी राख्न आफ्नो देशको सेनालाई निर्देशन दिएका छन् ।

लेबनानको स्वास्थ्य मन्त्रालयले बिहीबार इजरायली हवाई आक्रमणमा परी कम्तीमा ९२ जनाको मृत्यु भएको जनाएको छ ।

हिजबुल्लाहले बेरुतको दक्षिणमा रहेको एक अपार्टमेन्टमा भएको हवाई आक्रमणमा आफ्नो ड्रोन युनिटका प्रमुख मोहम्मद सुरुरको मृत्यु भएको पुष्टि गरेको छ ।

सोमबारदेखि लेबनानमा इजरायली आक्रमणमा नाटकीय वृद्धि भएपछि इजरायल र हिजबुल्लाहबीच चौतर्फी युद्धको आशंका बढेको छ ।

अमेरिका, बेलायत र युरोपेली संघसहित १२ सदस्यीय समूहले इजरायल र हिजबुल्लाहबीच तीन साताका लागि युद्धविरामको प्रस्ताव गरेको छ ।

संयुक्त राष्ट्रसंघका लागि इजरायली राजदूत ड्यानी डानोनले आफ्नो देश विचारका लागि खुला रहेको बताएपछि सुरुमा यो प्रस्ताव स्वीकार गर्ने आशा गरिएको थियो।
तर बिहीबारसम्म इजरायली राजनीतिज्ञहरूले यसलाई अस्वीकार गरिसकेका थिए र अहिले लेबनानमा इजरायली आक्रमण जारी छ ।