काठमाडौँ — नेपाल भारत सम्बन्ध रोटीवेटीको हो भन्ने गरिन्छ । नेपाल भारत एक अर्काका असल मित्र भन्ने कुरा दुबै देशका उच्च तहका नेताहरु भन्ने गर्छन । भारतले देखावटी रुपमा मित्रता गरेपनि नेपाली भूमिमा अतिक्रमण गरिरहेको विभिन्न तथ्यहरुले बताइरहेको छ । भारतले नेपाली भूमिका गरेको अतिक्रमण हेपाहा प्रवृत्ति हो भन्ने कुरा जानकारहरु बताउछन । नेपालले चुच्चे नक्सा बनाएकोप्रति भारत खुशी छैन भन्ने संकेत भाजपा नेताको गुनासोले गरेको छ । भारतीय जनता पार्टीका नेता डा.विजय जोलीले नेपालले जान जानी सीमा विवाद उत्पन्न गरेको गुनासो गरे । शनिवार राष्ट्रिय एकता अभियानले आयोजना गरेको हिन्दु संस्कृति र नेपाल–भारत सम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रममा उनले विवाद झिकेर लिपुलेक जस्ता ठाउँलाई नक्सामा ल्याएको गुनासो पोखे । उनले भने, ‘मैले विश्वका ९४ देशको भ्रमण गरेको छु कुनै पनि देशको रुपैयाँमाथि कुनै छिमेकी देशको सीमा विवादको फोटो छापेको देखेको छैन ।’ ‘सीमालाई लिएर चीन र भारतको बिचमा पनि विवाद रहेको छ तर त्यो विवादित ठाउँलाई आफ्नो रुपैयाँमा कसैले छापेका छैनन्, तर नेपालले विवादित ठाउँलाई आफ्नो रुपैयाँमा छाप्दा मलाई दुःख लागेको छ’ उनले भने । जोलीले भने यो विवादलाई संवादमार्फत समाधान गर्न सकिन्छ । तर त्यसका लागि प्रयास नभएको बताउँदै उनले भने– ‘एउटा परिवारमा मतभेद हुन्छ तर त्यसलाई संवादमार्फत समाधान गर्न सकिन्छ त्यसका लागि सुझबुझको आवश्यकता छ ।’ नेपालमा नाकाबन्दी हुँदा समेत नेपालको नेतृत्वले युएनमा गएर भारत विरुद्धमा उजुरी गरेको गुनासो गर्दै जोलीले जुन काम भारतले गरेकै थिएन त्यसको गुनासो युएनसम्म पु¥याउनुको अर्थ नभएको बताए । नेपाल र भारतमा मात्र होइन विश्वका जुनसुकै देशमा यी दुई देशका मान्छे बसेका र त्यहाँ उनीहरुको बिचमा राम्रो सम्बन्ध रहेको कुरा पनि जोलीले बताए ।
नेपालमा भइरहेको धर्म परिवर्तनले आफूहरूलाई चिन्तित बनाएको उनको भनाइ थियो । जोलीले नेपालमा धर्म परिवर्तन विरुद्धको कानुन भए पनि धर्म परिवर्तनको गतिविधि चलिरहनु चिन्ताको विषय भएको बताए । नेपाल धर्मनिरपेक्ष राज्य होस् या हिन्दु राज्य त्यो निर्णय गर्ने अधिकार नेपाली जनताको हो, यसमा कसैको हस्तक्षेप हुनुहुँदैन’ उनले भने, ‘ त्यसैले धर्म परिवर्तनको कार्यलाई रोक्नुपर्छ ।’ भाजपाका नेता जोली केही दिनदेखि नेपालमा बसेर विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाट गरिरहेका छन् । यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको जानकारहरुको भनाइ रहेको छ ।
0 comment