उपशालाको क्याथेड्रल अवलोकन गरिसक्दा दिनको ११ः१५ भएको थियो । अरु त्यहाँ अवलोकन गर्ने धेरै महत्वपूर्ण स्थलहरु नभएको कारण म नर्वेको राजधानी ओस्लो तर्फ प्रस्थान गर्ने उद्देश्यले उपशाला रेलवे स्टेशन तर्फ लागे । त्यहाँ पुगी रेलवेको प्रस्थान तालिका हेर्दा १२ः३० को ओस्लो जाने रेल रहेछ त्यही लिएर म ओस्लो तर्फ प्रस्थान गरे । ओस्लो रेलवे स्टेशन आइपुग्दा दिनको ४ः३५ भएको थियो ।
म सोझै रेलवे स्टेशनमा रहेको पर्यटन सूचना केन्द्र पुगी ओस्लोमा अवलोकन नगरी नहुने स्थल के छ भनेर सोध्दा मलाई भिगेलाण्ड पार्क जाने सल्लाह दिए र त्यसको साथै उनीहरुले मलाइ भिगेलाण्ड पार्कको व्रोसर र ओस्लोको शहरी नक्सा पनि निशुल्क दिए । जुलाइको ग्रिष्म महिना, लामो दिन ५ बजेको वेलामा पनि सुर्य टण्टलापुर नै थियो । नक्सा हेर्दे पैदलै म भिगेलाण्ड पार्क पुगे ।
भिगेलाण्ड पार्क
\यो पार्क नर्वेकै पयर्टन आर्कषण केन्द्र रहेछ । यस पार्क भएका मूर्तिहरु एकै कलाकार गुस्ताभ भिगेलाण्डले बनाएका रहेछन । द ओस्लो वुक र ओस्लो गाइड ब्यूरोले पनि यस पार्कको ठूलो वयान गरेको रहेछ । यस पार्कमा गुस्ताभले बनाएको २०० वटा नांगा मूर्ति रहेछन् । ती मूर्तिहरु ढलोट, ग्रेनाइट र फलाम पगाली बनाइएको रहेछ । ८५० मिटर लामो यो पार्क ५ इकाइमा विभक्त गरिएको रहेछ । यहाको आर्कषणका वस्तु भनेको पार्कको मुख्य द्धार, वच्चाहरुको खेल मैदान सहितको पुल, फोहरा र मानिसको जीवनचक्र सहितको स्तंभ (मोनोलिथ प्लेटो) रहेछ । नर्वेको ज्यादै लोकप्रिय मूर्ति रिशाह वालकू लाई पुलको वीचमा अरु ५० वटा मूर्तिसंगै राखिएको रहेछ । यी सबै मूर्तिहरुको माध्यमबाट कलाकार गुस्ताभले महिला र पुरुष वीचको सम्वन्धलाई उजागर गर्न चाहेका रहेछन् ।
पार्कमा रहेको पानीको फोहरालाई २० वटा रुख सहित मानिसको जीवन चक्र वालापन, किशोरावस्था, वयस्क, वावुआमा वनेको अवस्था (प्यारेन्टहुड) र वृद्धावस्था झल्कने गरी वनाइएको मुर्तिहरुले घेरेको रहेछ । त्यसपछिको अन्तिम रुखमा एक अस्थिपंजरको मूर्ति रहेछ जस्लाई मृत्युको सुचकको रुपमा कलाकारले प्रस्तुत गरेका रहेछन् । पार्कको केन्द्रमा १८ मिटर अग्लो स्तंभ मोनोलिथको वरिपरि ३६ मूर्तिहरु राखिएका रहेछन् ।
एउटै ग्रेनाइट पत्थरबाट वनाइएको यो मोनोलिथ स्तंभमा १२१ अनुहारहरु कुंदिएका रहेछन् जस्लाई मानिसको अध्यात्म र दैविक शक्ति प्रतिको आशक्त भनेर वर्णन गरिएको रहेछ । यो ग्रेनाइटको स्तंभमा यी अनुहारहरु कुंदन कलाकारलाई १४ वर्षको श्रम मेहनत लागेको रहेछ । कलाकार आफैको अतिरिक्त गुस्ताभले अर्का तीन मूर्तिकारको सहयोग पनि लिएका रहेछ जस्ले उनको निर्देशनमा कुंदने काम गरेका रहेछन् ।
त्यसै गरी जीवन चक्र नामक मूर्तिहरुलाई ८५० मिटर लामो पार्कको अन्तमा सजाइएको रहेछ । जीवनयात्रा शिर्षक दिइएको यसभागमा चारवटा मानवका अनुहार तिनीहरुद्धारा घेरिएको अवस्थामा रहेको आनन्दमा रुमल्ली रहेको एउटा वच्चाको अनुहार कुंदिएको रहेछ । यहा भएका सबै मूर्ति र कुदिएका अनुहारहरु गुस्ताभले ओस्लोको नगर पालिकालाई सन १८६९ देखि १९४३ सम्म गरी विभिन्न समयमा उपहार दिएका रहेछन् ।
त्यसको वदलामा गुस्ताभलाई यो पार्क रहेको जग्गा ओस्लो नगरपालिकाले उनको कलाकारिताको सम्मान गर्दै निशुल्क उपलब्ध गराएको रहेछ । जग्गा प्राप्त गरेपछि गुस्ताभले आफ्ना कलाकारितालाइ पार्कमा सजाउने कार्य सन् १९२० मा शुरु गरेका रहेछन् र सन् १९४३ मा उन्को मृत्यु हुंदाको अवस्थामा पनि त्यो कार्य संम्पन्न हुन सकेको रहेनछ । तर संम्पन्न भएको अवस्थामा भने गुस्ताभले सोचेकै तरिकामा भएको रहेछ । पार्कको मुख्य आर्कषण जीवन चक्र शिर्षकको मूर्ति रहेको नांगोवच्चा गुस्ताभको आफनै वालापनको अवस्थाको रहेछ ।
१९२० देखि ३० सम्म बनाइएका यी मूर्तिहरु हेर्दा प्राचीन मूर्ति नभै भर्खरै वनाइएको जस्ता लाग्दा रहेछन् । पानीको फोहरा वरिपरिको १८०० वर्गमिटरमा फैलिएको स्थललाई सेता र काला ग्रेनाइटले छापेको रहेछ । यहाँ वनाइएको ३ हजार मिटर लामो घुमेको मार्ग ९बिदथचष्लतज० (पशुपति मन्दिर भित्रको चतुषष्ठी शिवलिंगमा जस्तो जेलिएको घुमाउरो बाटो) मार्फत कलाकार गुस्ताभले मानव जीवनको जटिलतालाई प्रस्तुत गर्न चाहेका रहेछन् । जहा धैर्य गर्दा मार्फत जीवनको बाटो पहिल्याउन सकिन्छ भन्ने सन्देश दिइएको रहेछ ।
वर्षको १० लाख भन्दा वढी पर्यटकहरुले अवलोकन गर्ने यो पार्क घुमिसकेर वाहिर निस्कदा पार्कको कलात्मक तश्विर भएको एउटा पोष्टकार्ड किने र रेलवे स्टेसन तिर फर्कने क्रममा बाटोमा नर्वेको राजाको दरवार, त्यहाको नगरपालिका र शहरी म्यूजियम भवनहरु वाहिरबाट अवलोकन गरे । यी सबै हेरेर फर्कि रेलवे स्टेशन आइपुग्दा वेलुकाको नौ वजेको थियो यद्यपि सुर्यास्त भएको थिएन । म राती ११ वजेको रेल लिएर ओस्लोबाट नर्वेको फियोर्ड रहेको प्रख्यात शहर स्टाभान्गर तर्फ लाग्ने क्रममा रेलको वर्थमा गएर सुते ।
0 comment