काठमाडौं - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा उखु उत्पादन वृद्धि गर्न तथा प्रवर्द्धनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।
‘नेपाल फार्मस एड्भाइजरी काउन्सिल प्रालि’ सिनामङ्गल काठमाडौँद्वारा आज विराटनगरमा आयोजित उखुखेती प्रवर्द्धनका लागि किसानको सीपमूलक तथा आय अभिवृद्धि अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले उखु उत्पादनमा वृद्धि, बजारीकरण र मूल्यका लागि आगामी तीन महिनाभित्र कृषक, उखु मिल र सरकारबीच त्रिपक्षीय छलफलसहित निष्कर्ष निकाली सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले प्रदेशमा कृषि उत्पादनमा वृद्धिका लागि कृषकले सिँचाइमा प्रयोग गर्ने विद्युत् र मलखादमा आवश्यक अनुदान दिने जानकारी दिनुभयो ।
उहाँले मुलुकमा रहेका उद्योगलाई आवश्यक पर्ने कृषि कच्चापदार्थ उत्पादन गर्न किसानलाई आग्रह गर्दै यसबाट आयात प्रतिस्थापन भई विदेशी मुद्रा बचत हुने उल्लेख गर्नुभयो ।
तराईमा छिटो उत्पादन भई प्रतिफल दिने उखु, धान, सनपाट र मकैको उत्पादन प्रवर्द्धनका लागि आगामी आर्थिक वर्ष २०८२/ ८३ को वार्षिक नीति तथा कार्यक्रम ल्याउनुका साथै बजेटको व्यवस्था गर्ने मुख्यमन्त्री कार्कीले जानकारी दिनुभयो ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले कृषकले आफ्नो उत्पादनको मूल्य आफै निर्धारण गर्न पाएमा मात्र उत्पादन वृद्धि हुने बताउनुभयो ।
प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले प्रदेशमा छ हजार हेक्टरमा उखुखेती हुनाका साथै वार्षिक तीन लाख ५० हजार मेट्रिक टन उखु उत्पादन हुने जानकारी दिनुभयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कृषकलाई सिँचाइ, प्राविधिक ज्ञान, कृषि उत्पादनको उचित मूल्य निर्धारणमा गर्नुपर्ने सुझाव दिनुभयो ।
0 comment