दालमा, सागसब्जीमा, मासुमा, अचारमा नुन अनिवार्य मानिन्छ । साँझ– बिहानको दालभात, दिउँसोको मःम, चाउमिन, चाउचाउ, समोसा, चाट, बेलाबखतको सितन । सबै खानपानमा नुनको मात्रा हुने नै भयो । चिकित्सकहरूको चेतावनी छ, ‘नुनको मात्रा बढी भयो भने स्वास्थ्यमा हानि गर्छ ।’ अहिलेको आधुनिक स्वास्थ्य विज्ञानलाई हेर्ने हो भने नुन हाम्रो शरीरको लागि अत्यन्त आवश्यक छ । हामीलाई २४ घण्टाभित्र ५ ग्राम नुन चाहिन्छ । यद्यपि, आयुर्वेदिक र पूर्वीय विज्ञानले भने नुन हामीले विभिन्न प्राकृतिक आहारबाट पनि पाउने गर्छौं भन्ने गरिएको छ । तथापि शरीरको लागि केही मात्रामा नुन आवश्यक रहेको छ ।
दुई वर्षअघि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको सर्वेक्षण अनुसार नेपालीहरूले आवश्यकता भन्दा बढी नुन खाने गरेका छन् । १५ देखि ६९ वर्ष उमेर समूहका पाँच हजार बढी व्यक्तिमाथि सर्वेक्षण गरिएको थियो । नुन एक प्रकारको रासायनिक तत्व हो । यसमा केही सूक्ष्म तत्वहरू हुन्छन् । नुनमा सोडियम, कोलोराइड मुख्य रुपले हुन्छ । नुन हामीले बढी नै प्रयोग गर्छौं । यसले शरीरमा सोडियमको मात्रा कायम राख्छ ।
मांसपेशी, तन्त्रिका, तरल पदार्थ आदिलाई सन्तुलनमा राख्न पनि नुनमा पाइने तत्वले विशेष भूमिका खेलिरहेको हुन्छ । रक्तचापको प्रवाहलाई नियन्त्रण गर्न केही न केही मात्रामा नुन आवश्यक हुन्छ । त्यस्तै, स्नायु र मांसपेशीलाई सक्रिय राख्न मद्दत गर्छ । शरीरका अंगसम्म सूचना आदानप्रदान गर्नका लागि सोडियमको महत्वपूर्ण भूमिका हुन्छ ।
हामी बढी नै नुनमा निर्भर भएका छौं । एक–दुई छाक छोड्दा गाह्रो हुने, एक–दुई दिन छोड्दा रक्तचाप घट्ने र त्यसपछि अझै केही दिन छोड्दा शरीरको तागत नै ओइलाएर जाने र लगातार छोडिरहँदा पछि बेहोस नै हुने स्थिति हुन्छ । तर जनावरले नुन नखाए पनि हृष्टपुष्ट नै देखिन्छन् । यसको कारण उनीहरू प्राकृतिक खानेकुराबाट नै नुनको परिपूर्ति गर्छन् । प्रायः सबै फलफूलमा चिनी र सागसब्जीमा नुनको मात्रा हुन्छ । पकाउँदाखेरि त्यसमा थप नुन हालेर खाने गर्छौं ।
प्राकृतिक तवरमै प्राप्त हुने नुनलाई पनि थप पकाएर हानिकारक बनाउने गर्छौं । औसतमा हामीले न्यूनतममा पनि एक छाकमा दाल, तरकारी र अचार मात्र समावेश गरेर २–३ वटा तरकारी खाँदा १० ग्राम जति नुन खपत गरिरहेका हुन्छौं । किनभने हामीले एक भन्दा बढी तरकारी र अचार गरेर विभिन्न प्रकारका खानेकुरा खान्छौं, जुनमा स्वादअनुसारको नुनको प्रयोग गरिएको हुन्छ । अलि चर्को खानेहरूले दुई छाकमा २० ग्रामसम्म नुन प्रयोग गरिरहेको देखिन्छ ।
नुनको प्रयोगको सट्टा सागसब्जीबाट प्राप्त हुने प्राकृतिक नुनमै बढी जोड दिनुपर्छ । तर मुटुरोग र उच्च रक्तचापका बिरामीले नुन थपेर खाने गर्नुहुँदैन । प्रेसरको औषधिमा पिसाबको औषधि राखिएको हुँदा नुन बढी जाने हुन्छ । शरीरले चाहिएको खण्डमा मागिरहेको हुन्छ । नुनको अत्यधिक प्रयोगले मिर्गौला, मुटु, पाचनप्रणाली, शरीरको चापदेखि हड्डीलाई हानि गर्छ । त्यसबाहेक छालालाई पनि नुनले हानि पु¥याउँछ । स्किनको चमक घटाउने, संक्रमण बढाउने, छालाको प्रतिरोधात्मक क्षमता कम गर्ने, एलर्जी हुने जस्ता समस्या आउन सक्छन् । किड्नी, फोक्सो र कलेजोले रगतलाई छान्ने काम गर्छन् । नुन सिधै रगतमा जाने हुँदा नुन बढी हुँदा तीनवटै अंग थाक्छन् । जसकारण शरीरले चाहिने भन्दा बढी पानी माग्छ । त्यही अनुसारको पानी खाने र पिसाबबाट जाने हुँदा शरीरले आराम गर्न पाइरहेको हुँदैन ।
नुन खाँदा सकेसम्म हिमाली क्षेत्रमा बनेको खानुपर्छ, जसलाई बीरेनुन, सीधेनुन भनिन्छ । यस्ता नुन खाने बानी गर्दा शरीरलाई फाइदा पुग्छ । नुनको मात्रा व्यक्ति हुर्केको वातावारण, पहिलेदेखि खाइरहेको खानपानमा भर पर्छ । शरीरलाई दैनिक नुन यति आवश्यक छ भने पनि शरीरको माग अनुसार खाने हो । नुन थपेर भने खानु हुँदैन । नुनको सट्टामा हामीले अन्य स्रोतबाट पनि नुन पाउन सक्छौं । धेरै कसरत गर्ने व्यक्ति, खेतमा काम गर्ने व्यक्तिको लागि काम अनुसार नै नुन आवश्यक पर्छ । शारीरिक कसरत कम हुने व्यक्तिको लागि कम नुनको आवश्यक पर्छ ।
हामीले प्राकृतिक खानेकुरा तरुल, आलु, सागसब्जीबाट नुन प्राप्त गरिरहेका हुन्छौं भने बजारमा पाइने पाकेटजन्य खानेकुरामा पनि केही मात्रामा नुन राखिएको हुन्छ । जसको सेवनले स्वास्थ्यलाई हानि गर्छ । नुन हाम्रो स्वास्थ्यका लागि अतिआवश्यक भएको कारण स्वास्थ्यका लागि सन्तुलनमा खाँदा हानिकारक हुँदैन । यसको अत्यधिक मात्रामा प्रयोगले मात्र शरीरलाई हानि गर्छ । उच्च रक्तचाप, मुटुरोग भएका व्यक्तिले नुन कम खानुपर्छ ।
धेरै नुन खानुले उच्च रक्तचाप, हृदयघात, मिर्गौला समस्या निम्त्याउने गर्छ । यसको मतलब नुनलाई पूर्ण रूपमा छाड्नपर्छ भन्ने होइन, तर नुन वास्तवमा मानव शरीरको लागि महत्वपूर्ण पोषक तत्व हो । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार भर्खर जन्मेका शिशुदेखि ६ वर्षका बालबालिकालाई दैनिक ९० माइक्रोग्राम, ६ देखि १२ वर्षसम्मका बालबालिकालाई १२० माइक्रोग्राम, गर्भवती तथा दूध खुवाउने आमालाई दैनिक २५० माइक्रोग्राम तथा किशोरकिशोरी र वयस्कलाई १५० माइक्रोग्राम आयोडिन दैनिक आवश्यक पर्छ । ०००
0 comment