काठमाडौं - गाजाको दराज जिल्लामा रहेको एउटा विद्यालयमा शनिबार बिहान भएको आक्रमणमा सयभन्दा बढीको मृत्यु भएको छ । अल जजिराको रिपोर्टका अनुसार मृत्यु हुनेमा महिला, बालबालिका र वृद्धवृद्धा रहेका छन् ।

यस विद्यालयमा धेरैले आश्रय लिएका थिए । बिहानको नमाज पढिरहेको समयमा आक्रमण भएको हो । स्थानीयवासीका अनुसार विद्यालयमा एकपछि अर्को ३ रकेट प्रहार भएको थियो । त्यसपछि विद्यालयमा आगलागी भएको थियो। 

इजरायली सेनाले आक्रमणको पुष्टि गरेको छ। अल-ताबीन विद्यालय हमासको कार्यालयको रूपमा प्रयोग भइरहेको उनीहरुकोको दाबी छ। त्यहाँ धेरै हमास आतंकवादीहरू उपस्थित थिए। सेनाले आफूले सर्वसाधारणमाथि आक्रमण नगरेको दाबी गरेको छ ।

आइडीएफले आक्रमण गर्नुभन्दा पहिले नागरिकको क्षति कम गर्न धेरै काम गरेको बतायो। यसका लागि उक्त क्षेत्रको हवाई अनुगमन गरिएको र त्यहाँ उपस्थित इजरायली गुप्तचर स्रोतहरूबाट पनि जानकारी सङ्कलन गरिएको सेनाले बताएका छन्।
 
हमासका प्रवक्ता महमूद बसालले आक्रमणमा करिब १०० जनाको मृत्यु भएको जनाएका छन्। यससँगै दर्जनौं घाइते भएका छन् । विस्थापित प्यालेस्टिनीहरू विद्यालयमा बस्दै आएका थिए। उनले यो आक्रमणलाई ‘भयानक’ भनेका छन् । आगो निभाउने, शव निकाल्ने र घाइतेलाई बचाउने काममा कर्मचारी खटिरहेका छन् ।

बिहीबार गाजाका दुई विद्यालयमा इजरायली सेनाले गरेको आक्रमणपछि यो हमला भएको हो। बिहीबारको हमलामा कम्तीमा १८ जनाको मृत्यु भएको थियो। त्यसबेला इजरायली सेनाले हमासको कमाण्ड सेन्टरमा आक्रमण गरेको बताएको थियो।

प्यालेस्टाइनी पत्रकार होसम शाबतले सामाजिक सञ्जालमा लेखेका छन्, 'प्यालेस्टाइनीहरू गाजा सहरको बम विस्फोट गरिएको स्कूलमा फसेका छन्। इजरायली सेनाले पानी आपूर्ति पनि बन्द गरेकाले आगो निभाउन कठिनाई भइरहेको छ ।'

गत वर्षको डिसेम्बरमा पनि इजरायलले गाजाका दुई विद्यालयमा हवाई आक्रमण गरेको थियो । यसमा ५० जनाको ज्यान गएको थियो भने सयौं घाइते भएका थिए । अक्टोबर ७ देखि इजरायलले गाजामा ४३० पटक आक्रमण गरेको छ।