काठमाडौं - बंगलादेशकी प्रधानमन्त्री शेख हसिना सत्ताबाट बाहिरिएको दोस्रो दिन आज बंगलादेशको संसद विघटन गरिएको छ ।

संसद विघटनपछि अब अन्तरिम सरकार गठनको बाटो प्रशस्त भएको छ ।हसिनाले हिजो राजीनामा दिएर देश छोडिन । हप्तौंसम्म विद्यार्थी नेतृत्वको विरोध प्रदर्शन घातक अशान्तिमा परिणत भएपछि उनी देश छोड्न बाध्य भईन् ।

बंगलादेशीहरू अब के हुन्छ हेर्न पर्खिरहेका छन्, ।  अहिले सेना प्रमुखले राजनीतिक नेताहरू तथा प्रदर्शनकारीसँग वार्ता गरिरहेका छन्।तर विद्यार्थी नेताहरुले भने सैन्य नेतृत्व अस्वीकार गरेका छन् ।  

स्थानीय सञ्चारमाध्यमका अनुसार बंगलादेशमा हिजो भएको हिंसात्मक झडपमा १ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । जस्लाई प्रदर्शन सुरु भएदेखिकै सबैभन्दा घातक दिन रुपमा लिईएको छ । 

विद्यार्थीहरूले निजामती सेवामा कोटा खारेज गर्नुपर्ने भन्दै शान्तिपूर्ण आन्दोलन सुरु गरेका थिए तर पछि आन्दोलन व्यापक सरकार विरोधी आन्दोलनमा परिणत भएको थियो ।

हसिनाको राजीनामाको केही समयपछि नै  बंगलादेशका सेना प्रमुख जनरल वाकेर-उज-जमानले एक अन्तरिम प्रशासन गठन गर्ने बताएका थिए 
।  विद्यार्थी नेताहरुले नोबेल शान्ति  पुरस्कार विजेता मुहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुख सल्लाहकार बनाउन दबाब दिँदै सैन्य नेतृत्वको सरकारलाई स्वीकार नगर्ने स्पष्ट पारेका छन्।

यसैबीच, पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी नेतृ खालिदा जियालाई नजरबन्दबाट रिहा गरिएको छ ।

७८ वर्षीया जिया सन् १९९१ देखि १९९६ सम्म बंगलादेशको प्रधानमन्त्रीको रूपमा रहेकी थिईन तर भ्रष्टाचारको आरोपमा २०१८ मा जेल परेकी थिइन्, ।