काठमाडौं - गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । 

गए राति परेको वर्षाका कारण गएको पहिरोले मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटाका भेषबहादुर विकको घर पुरिँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। 

प्रहरीका अनुसार ५६ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४७ वर्षीया सुन्तली, बुहारी ३० वर्षीया सीता बिक, ७ वर्षीया सपना विक र २ वर्षीया विपना बिक पहिरोमा पुरिएर मृत्यु भएको हो। उनीहरु मृत अवस्थामा फेला परेका हुन्।

उनको ढुङ्गा माटोले बनेको २ तले टिनले छाएको घरमा माथिबाट ढुङ्गा,माटो सहितको पहिरो आई घर पूर्णरुपमा पुरिएको हो। इस्मा प्रहरी चौकीबाट उद्धारका लागि प्रहरी टोली घटनास्थलमा पुगेको थिए। स्थानीय र प्रहरीले उनीहरुलाई पहिरोबाट निकालेका हुन्। 

त्यसैगरी, पहिरोले घर बगाउँदा स्याङ्जाको फेदिखोला गाउँपालिका- ४ बाँगेमा आमा छोरीको मृत्यु भएको छ । बर्षाका कारण माथिबाट पहिरो झर्दा गएराती ३१ वर्षीया दुर्गा जिटी र उनका ३ वर्षिया छोरी निकिता जिटीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।

ढुंगा, माटा र टिनले छाएको १ तले घरभन्दा झण्डै २०/२५ मिटर माथिबाट पहिरो झर्दा घरमा सुतिरहेको आमा छोरीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीको भनाई छ। पहिरोले घर र गोठ समेत भत्किएको छ। गोठमा रहेको १ भैसी पनि मरेको बताइएको छ। 

त्यस्तै,

बागलुङमा पहिरोले घर पुरिँदा एक दम्पतीको मृत्यु भएको छ। बागलुङको गलकोट नगरपालिका–८ काँठेवास, बिसौनीमा शनिबार बिहान ३ बजे अविरल वर्षको कारण घर माथिबाट आएको पहिरोले घर पुरिँदा घरमुली ५५ वर्षीय प्रेम बहादुर विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए। 

विक दम्पतीको शव पुरिएको अवस्थामा फेला परेको प्रनाउ यादवले बताए। पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएकाका छन्। घाइते दुवै जनाको उद्धार गरी गलकोट नगर अस्पतालमा उपचार भइरहेको प्रनाउ यादवले जानकारी दिए। पहिरोले घर पुरिएपछि प्रहरी र स्थानीयहरूले उद्धार गरेका थिए।

त्यस्तै पहिरोको कारण  मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ । कालीगण्डकी करिडोर र बागलुङ–कुश्मीशेरा सडक पनि अवरुद्ध छ ।