काठमाडौं - सिधा कुरा डट कम नामक युट्युबलगायतका सामाजिक सञ्जालबाट वैशाख १४ गते र तत्पश्चात् शृंखलाबद्ध रूपमा अपलोड गरी प्रसारित चार सयभन्दा बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वाेच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अप्रेसनसमेतको शीर्ष राखी प्रसारण गरिएको अडियो किर्ते रहेको प्रहरीले निर्क्यौल निकालेको छ । 

यससँगै, सरकारी वकिल कार्यालय काठमाडौंले सिधा कुरा डट कमका अध्यक्ष युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगाना र राजकुमार तिमिल्सनाविरुद्ध मुद्दा दायर गरेको छ। विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐनअन्तर्गतको  र अपमानजनक व्यवहारसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको हो। प्रतिवादी बनाइएका कँडेल, ढुंगाना र तिमिल्सिना फरार रहेको अभियोगपत्रमा उल्लेख छ। 

नेपाल प्रहरी प्रधान, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को पत्र, बुझिएका व्यक्तिहरू राजकुमार तिमिल्सिना, किशोरकुमार विष्ट, कैलाशप्रसाद सिरोहिया, सञ्जयसिंह थापा, रामेश्वर थापा, सुरेन्द्र काफ्ले, हरिप्रसाद उप्रेतीले खुलाई लेखाइदिएको घटना विवरण कागजहरूसमेतको आधार प्रमाण लिइएको अभियोगमा जनाइएको छ । ‘अडियो क्लिप रेकर्ड गर्दा त्यहाँ उपस्थित भनिएका प्रमुख पात्रहरूको कुनै पनि संवाद नरहेको तथा उक्त अडियो क्लिप रेकर्डकर्ता राजकुमार तिमिल्सिनाको अडियोमा गरिएको संवादले विचाराधीन मुद्दाहरूमा के कसरी प्रभाव पार्न सक्छ भन्ने कुनै पनि वस्तुनिष्ठ आधार नदेखिएको ’ अभियोगपत्रमा उल्लेख छ। त्यस्तै किशोर विष्टको कुनै विवरण उपलब्ध गराउन नसकेको र निजको उपस्थितिको औचित्यतासमेत पुष्टि हुने आधार नदेखिएको अभियोगपत्रमा उल्लेख छ।

सिधा कुरा मिडिया नेट वर्क प्रालिबाट पेन ड्राइभमा प्राप्त हुन आएको अडियो क्लिप के, कुन मिति र समय तथा के कुन उपकरण रेकर्ड गरिएको भन्ने सम्बन्धमा प्राविधिक परीक्षणबाट यकिनसाथ खुल्न नआएको समेत अभियोगपत्रमा जनाइएको छ। उक्त अडियो क्लिप २०७७ चैत ३० गते रेकर्ड गरी त्यसको दुई दिनपछि बिर्तामोड झापास्थित मोबाइल फोन पसलमा कम्प्युटर ट्रान्सफर गरी कम्प्युटरबाट व्यक्तिगत मोबाइल फोनमा ट्रान्सफर गरेको घटना विवरण कागजमा उल्लेख गरिएको छ। 

अभियोगपत्रमा भनिएको छ, बिर्तामोड झापास्थित रहेका मोबाइल  फोन पसलहरूमा निजको बारेमा फोटो देखाई सो विषयमा सोधपुछ गर्दा निजलाई कोही कसैले नचिनेको कारण निजले झुट्टा व्यहोरा लेखाई दिएको देखिन्छ। ’

तिमिल्सिनाले  सर्वोच्च अदालतको गरिमामा आँच पुर्‍याई, अदालतप्रतिको आमधारणमा भ्रम उत्पन्न गराई, घृणा र द्वैष फैलाउने उद्देश्यले अप्रमाणित, असत्य, कपोलकल्पित, भ्रामक समाचारहरूको अडियो क्लिप बनाई आफ्नो इमेल ठेगानाबाट सिधा कुरा डट कमका अध्यक्ष कँडेलको इमेल ठेगानामा पठाएको अभियोगपत्रमा खुलाइएको छ। अडियोको सत्यताको कुनै जाँच नगरी/नगराई सिधा कुरानामक युट्युब च्यानलबाट प्रसारण गरी/गराई विद्युतीय कारोबार ऐनअन्तर्गतको र अपमानजनक कसुरजन्य कार्य गरेको झनै प्रस्ट हुन आउने दाबी अभियोगपत्रमा गरिएको छ। 

तीनैजना प्रतिवादीले विद्युतीय कारोबार ऐन (२०६३) को दफा ४७ को उपदफा (१) बमोजिमको कसुर र मुलुकी अपराध संहिता, २०७४ को दफा १६८ (१) विपरीतको कसुर गरेको सप्रमाण पुष्टि भएको अभियोगपत्रमा जनाइएको छ। mसर्वोच्च अदालतका न्यायाधीश तथा अन्य निकाय तथा व्यक्तिलाई प्रतिवादीहरूको कसुरबाट पर्न गएको अपमानजनक पीडासमेतको विचार गरी पीडित व्यक्तिलाई मनासिव क्षतिपूर्ति भराई पाउनसमेत मागदाबी लिइएको छ। साथै, अपराध पीडित संरक्षण ऐन २०७४ को दफा ४१ बमोजिम कसुरदारबाट पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क जम्मा गराई पाउन पनि अनुरोध गरिएको छ।