काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री रामबाहदुर थापाका छोरा प्रतीक थापा पक्राउ परेका छन्। प्रहरीले थापालाई शुक्रबार काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जना थुनामा छन्। सर्वोच्च अदालतले उनीहरूलाई थुनामै राख्न आदेश दिएको थियो। यसअघि काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनले नेता रायमाझीसहित तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी प्रकरणका मुख्य आरोपी केशव दुलाल, सानु भण्डारी, सागर राई र सन्देश शर्मालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। 

सोही प्रकरणमा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण ३० लाख धरौटीमा रिहा भएका थिए। त्यस्तै कांग्रेस नेता आङटावा शेर्पा र गोविन्द चौधरी पनि ३० लाख र १० लाख धरौटीमा रिहा भएका थिए। 

नेपाली नागरिकहरूलाई भुटानी शरणार्थीका रूपमा अमेरिका पठाइदिने प्रलोभनमा करोडौं ठगी गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो। उनीहरूविरुद्ध ठगी, लिखत किर्ते र राज्यविरुद्ध तथा संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ। 

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको अपराध अभियोगमा गत वर्ष सरकारी वकिलको कार्यालय काठमाडौंले थापालाई फरार सूचीमै राखेर यो अपराधमा संलग्नहरुविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो।