काठमाडौं ।
विभिन्न कार्यक्रमका साथ एक सय १२ औं बालश्रम विरुद्धको विश्व दिवस मनाइएको छ । विशेषगरी बालबालिकालाई श्रममा होइन विद्यालयमा भन्ने सन्देश यस दिवसले दिने गर्दछ । हरेक वर्ष अंग्रेजी महिनाको जुन १२ मा यो दिवस मनाइन्छ । १४ वर्षमुनीका बालबालिकालाई कुनैपनि काममा लगाउन नपाइने कानुनी व्यवस्था छ । १५ देखि १८ वर्षमुनीका बालबालिकालाई काममा लगाउदा श्रम कार्यालयको स्वीकृती लिएर मात्रै लगाउन पाइने ऐनले व्यवस्था गरेको छ । बालश्रम समग्रमा तथ्यगत हेर्दा घटेको पाइए पनि क्षेत्रगत रुपमा बालश्रम बढिरहेको देखिन्छ । बालश्रम कुनै निश्चित समुदाय कुनै निश्चित क्षेत्रको समस्या भन्दा पनि यो राष्ट्रिय समस्याको रुपमा रहदै आएको छ । बालश्रमको क्षेत्रलाई हेर्दा सबैभन्दा बढी कृर्षि क्षेत्रमा रहेको तथ्यले बताउछ । 

बालश्रम अन्त्यका लागि स्थानीय तहहरुलाई जिम्मेवार बनाउने साथै स्थानीय तहबाट नै बालश्रमको अन्त्य गर्ने प्रतिवद्धतासहितको अभियानमा बाल विकास समाज, चाइल्ड नेपाल विश्वाश नेपाल लगायतका गैर सरकारी संस्थाको अगुवाइमा बूढानीलकण्ठ नगरपालिकामा हस्ताक्षर कार्यक्रम चलाइयो । कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी नागरिक समाज विभिन्न समुह क्लव टोलसुधार समिति लगायतका निकायको सामुहिक प्रतिवद्धता गराइएको थियो । बालश्रम प्रयोग नगर्ने र नगराउने भनेर । नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीले यस नगरमा बालश्रम प्रयोग नगरौं भन्ने जुन अभियान संघ संस्थाले चलाउनु भएको छ त्यसका लागि आभारी छौं भन्दै बालश्रमको अन्त्य गर्ने सवालमा नगरपालिका संवेदनसिल रहेको कुरा समेत बताउनु भयो । नगरपालिका बालश्रम प्रयोग भइरहेका नगरक्षेत्रका सबै ठाउमा पुग्न नसकिरहेको अवस्थामा यहाँहरुले देखाइदिएको समस्या समाधानका लागि सबै पक्ष हातेमालो गर्दै अगाडी बढ्नुपर्ने नगरप्रमुखको धारणा थियो । हस्ताक्षर अभियानमा नगरउपप्रमुख अनिता लामाको पनि सहभागिता रहेको थियो । प्रतिवद्धतामा हस्ताक्षर गर्दै उपप्रमुख अनिता लामाले बालश्रम अन्त्यका लागि बूढानीलकण्ठ नगरपालिका लागि परिरहेको बताउदै विशेषगरी वडातहबाट बालश्रम अन्त्य गर्ने अभियान सञ्चालन गर्नुपर्ने उहाँको धारणा थियो । बालश्रम प्रयोग नगर्ने नगराउने प्रतिवद्धतामा हस्ताक्षर गर्ने अभियानको व्यवस्थापन बाल विकास समाज र चाइल्ड नेपालका प्रतिनिधिले गरेका थिए । 
आइ एल ओ सँगको सहकार्यमा केन्द्रीय तथ्याङक विभागले गरेको अध्ययनले ५ वर्षदेखि १७ वर्षसम्मका बालबालिका मध्ये ५३.३ प्रतिशत बालबालिका बालश्रमिकको रुपमा काम गर्ने देखाएको छ । डाटालाई आधार मान्ने हो भने पनि पछिल्लो अध्ययनले नेपालमा ११ लाख बालश्रमिक अझै छन । करिब २ लाख बालबालिका अझै जोखिमयुक्त श्रममा संलग्न रहेको पाइन्छ । अध्ययनका अनुसार कूल बालश्रमिक मध्ये ९ लाख ३९ हजार बालबालिका अर्थात ८७ प्रतिशत बालबालिका कृर्षिमा श्रम गर्ने देखिएको छ भने बाकी गैर कृर्षिमा रहेको पाइन्छ । बालश्रमिक भित्र पर्ने १ लाख ९१ जना बालबालिका अझै विद्यालयको ढोकामा पुग्न नसकेको आवस्था तथ्याङकले देखाउछ ।