काठमाडौं - निरन्तरको वर्षासँगै कोशी प्रदेशको राजधानी विराटनगरमा डुबानको समस्या सुरु भएको छ। 

मंगलबार रातिदेखिको अविरल वर्षासँगै सिंघिया र केसलिया खोलामा पानीको बहाव उच्च भएको छ। खोलामा आएको बाढी बस्तीतिर पस्न थालेको प्रहरीले जनाएको छ। 

पानी निकासको उचित प्रबन्ध नभएका कारण विराटनगर हरेक वर्ष सामान्य वर्षामै डुबानमा पर्ने गरेको छ। निरन्तरको वर्षापछि विराटनगरका अधिकांश स्थान जलमग्न बनेका छन्। विराटनगर महानगरपालिकाले विराटनगर बजारलाई डुबानमुक्त गर्ने योजना अनुरुप काम भइरहेको दाबी गरेपनि पानीको निकासलाई व्यवस्थित गर्न सकिरहेको छैन। महानगरकै लापरबाहीका कारण बर्सेनि सयौं सर्वसाधारण बाढी र डुबानको चपेटामा पर्ने गरेका छन्।  

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार सिंघिया खोलाको बाढी हाटखोला आसपासका बस्तीतिर पस्न थालेको छ। ‘हाटखोला क्षेत्रका ५/७ वटा घर डुबानमा परेको जानकारी आएको छ। पूर्ण विवरण प्राप्त हुन बाँकी छ,’ उनले भने, ‘केसलिया खोलाको बाढी पनि बस्तीमा छिरेको जानकारी आएको छ। वर्षा रोकिएन भने बाढी र डुबानले राम्रैसँग जनजीवन प्रभावित बनाउने देखिन्छ।’

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार बाढी र डुबानबाट पीडित भएकाको उद्धारका लागि ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ। जोखिमयुक्त स्थानका सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ लैजान पहल भइरहेको उनले बताए। उनका अनुसार निरन्तरको वर्षासँगै खोलानजिक रहेका बस्ती बढी जोखिममा परेका छन्। विपद्को सम्भावित जोखिमलाई ध्यानमा राखेर सतर्कता अपनाउन एसपी कार्कीले सबैलाई अनुरोध गरेका छन्। 

विराटनगर महानगरका प्रवक्ता एवं विराटनगर–५ का वडाध्यक्ष सन्तोष न्यौपानेका अनुसार सर्वसाधारणका घरघरमा पानी पस्न थालेको छ। पानीको निकास भएपनि धेरै स्थानमा बनाइएका ठूला पर्खालले अवरोध पुर्‍याएको न्यौपाने बताउँछन्। उनका अनुसार विराटनगरका करिब ५ सय घरमा पानी पसेको आँकलन छ। पीडितलाई उद्धार गरेर राख्नका लागि विद्यालय र सामुदायिक भवनलाई ‘सेल्टर’का रूपमा तयारी अवस्थामा राखिएको जानकारी न्यौपानेले दिए। विराटनगरमा ६० वटा ‘सेल्टर’ तयारी अवस्थामा राखिएको उनले बताए। उनका अनुसार विराटनगर–१९ का ८ परिवारलाई उद्धार गरेर शिवशक्ति विद्यालयमा राखिएको छ। 

महानगरले डुबान क्षेत्रमा उद्धार र नाला निकासका लागि ३ वटा जेसीबी, २ वटा टिपर र नगरप्रहरीसहित करिब १ सय ५० बढी जनशक्ति उद्धारमा खटाएको न्यौपानेले बताए। 

त्यस्तै, अविरल वर्षाले जनजीवन प्रभावित भएसँगै विराटनगर महानगर क्षेत्रका विद्यालयमा बुधबार बिदा दिइएको छ। अधिकांश स्थान जलमग्न भएपछि विद्यार्थी आउनसक्ने सम्भावना नरहेकाले बिदा दिइएको प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकीले जानकारी दिए। 

यसैबिच , लमजुङको क्ब्होंलासोथर गाउँपालिका- ३ मा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको छ। उत्तरकन्याको बगुमस्थित पच्यु टोलमा गएराति पहिरो जाँदा तीन घर बगाउँदा पहिरोमा परि ४ जनाको मृत्यु भएको हो।

वडासदस्य विनप्रसाद घलेका अनुसार स्थानीय रूद्रमान गुरूङ, पञ्चकुमारी गुरूङ र गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेको घर पहिरोले बगाएको छ। पहिरोमा परेर ६९ वर्षीय रूद्रमान गुरूङ, ३६ वर्षिय पञ्चकुमारी गुरूङ, उनका दुई छोरीहरू ७ वर्षिया ईच्छा गुरूङ र ५ नम्रता गुरूङको मृत्यु भएको हो। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

त्यस्तै, लमजुङको बेसीसहर नगरपालिका-११ चिति स्याउतमा गएराति पहिरोले पुरिंदा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १६ वर्षीय विकल सुनार रहेका छन्। पहिरोमा परी उनका दाइ १८ वर्षीय मिलन सुनार घाइते भएका छन्। घाइते दुबै जनालाई उपचारका लागि लमजुङ जिल्ला अस्पताल ल्याउँदै गर्दा विकलको बाटोमै मृत्यु भएको हो।

गएराती गएको पहिरोले बेसीसहर चामे सडकखण्ड बन्द भएको छ।

ओखलढुंगामा पनि अविरल वर्षाका कारण गएको पहिरोले घर गोठ पुरिएको छ । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका  ५ स्थित थुम्की बस्ने वर्ष ३९ को बाबुराम खत्रीको घर र गोठ पुरिएर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा खत्रीकी श्रीमती ३५ वर्षीया देवकुमारी खत्री रहेकी प्रहरीले जनाएको छ । घर पुरिंदा खत्री र निजकी १८ वर्षीया मेनुका खत्री घाइते भएका छन् । उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । 

पहिरोको जोखिममा रहेका स्थानीयलाई सतर्क गराइएको प्रहरीको भनाइ छ ।