काठमाडौं - प्रहरीले बिहीबार दिउँसो ठूलो परिमाणमा लागूऔषध गाँजासहित मोरङबाट एक जनालाई पक्राउ गरेको छ। 

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की नेतृत्वको टोलीले दिउँसो ३ बजेतिर भारततर्फ लैजान ठिक्क पारिएको अवस्थामा १५ सय ४८ किलोग्राम गाँजा बरामद गरेको हो। 

धनपालथान गाउँपालिका–७ का राजकुमार सिंहको खेतमा रहेको गोठमा लुकाएर राखेको अवस्थामा गाँजा बरामद गरिएको एसपी कार्कीले जानकारी दिए। गोठमा गाँजा लुकाइछिपाई राखेको विशेष सूचना प्राप्त हुनसाथ नियन्त्रणमा लिन उनी आफैं टोली लिएर पुगेका थिए। 

गोठ खानतलासी गर्ने क्रममा ४९ वटा बोराभित्र प्याक गरेर राखेको अवस्थामा गाँजा फेला परेको जानकारी उनले दिए। कार्कीका अनुसार गाँजा बरामद भएपछि गोठधनी सिंहलाई पक्राउ गरिएको छ। गाँजा बरामद गरेर सिंहलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको उनले बताए। 

पूर्वी पहाडी जिल्लामा उत्पादन हुने गाँजा अवैध बाटोको प्रयोग गर्दै सुरक्षाकर्मीलाई छलेर भारततर्फ कटाउने गरिएको छ। गाँजाको अवैध धन्दामा संलग्नले नेपाल–भारत खुला सीमाको फाइदा उठाउने गरेका हुन्। यसको अवैध कारोबारमा संलग्नले नेपाल–भारत सीमा क्षेत्रमा गाँजा भण्डारण गरेर राख्ने र उपयुक्त समय मिल्नासाथ भारत पुर्‍याउने गरेको प्रहरी अधिकारी बताउँछन्। 

प्रहरीका अनुसार नेपालभन्दा दोब्बर बढी मूल्य पाइने भएका कारण गाँजा भारततर्फ लैजाने गरिएको हो। नेपालमा प्रतिकिलो लगभग १५ हजार रूपैयाँमा यसको कारोबार हुने गरेको प्रहरी अधिकारीको भनाइ छ। ‘बरामद भएको गाँजाको मूल्य नेपालमा २ करोड ३२ लाख हाराहारी पर्छ,’ प्रहरी स्रोतले भन्यो, ‘भारत पुर्‍याउँदा करिब ४ करोड बढी प्राप्त हुन्छ।’ 

पहिलोपटक ठूलो परिमाणमा गाँजा बरामद भएपछि यसको ओसारपसार र कारोबारमा ठूलै गिरोहको संलग्नता रहेको हुनसक्ने प्रहरीको अनुमान छ। पक्राउ परेकाको बयान, प्राप्त सूचना र अनुसन्धानबाट खुलेको तथ्यका आधारमा गाँजाको गिरोह पत्ता लगाउने प्रहरीको तयारी छ। ‘गाँजाको कारोबार र ओसारपसारमा अन्य व्यक्तिहरू पनि संलग्न रहेको हुनसक्ने आशंका छ,’ एसपी कार्कीले भने, ‘अनुसन्धानबाट थप कुरा पत्ता लाग्छ।’