काठमाडौं - रामेछापमा यात्रुबाहक बस दुर्घटना हुँदा बसमा सवार ७ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये २ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाईएको छ । 

खिम्ति केउरिनि हुँदै मन्थली जाँदै गरेको अरनिको यातायातको बा ५ ख ५६२५ नम्बरको यात्रुबाहक बस रामेछापको लिखु तामाकोसी गाउँपालिकास्थित बिर्ता लामपानीमा आज बिहान दुर्घटनामा भएको हो।

घटनाको थप विवरण आउन बाँकी छ।

त्यसैगरी, काठमाडौंको सीतापाइलास्थित सिभिल होमनजिक छमछमे खोलाको कल्भर्टमा कार खस्दा चालकको मृत्यु भएको छ। 

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार नागार्जुन नगरपालिका–६ खरिटारका ४५ वर्षीय पूर्ण दर्नालको मृत्यु भएको हो।

दर्नाल आफैँले चलाएको बाप्र०२७च ०४९१ नम्बरको कार कल्भर्टबाट खसेर उक्त दुर्घटना भएको थियो। राती खसेका उनको आज बिहान उद्धार गरिएको हो। उनको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 

त्यस्तै, गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा ६ वर्षीय बालकको मृत्यु भएको छ। गुल्मीको रेसुङ्गा नगरपालिका-४ छल्दीबाट सदरमुकाम तम्घास आउँदै गरेको लु ४ त २४६५ नम्बरको ट्याक्टर रायढुङ्गामा दुर्घटना भएको हो।

ट्याक्टर दुर्घटना हुँदा गुल्मीको मालिका गाउँपालिका वडानम्बर २ का ६ वर्षीय शिव बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए।

दुर्घटनामा परेर गम्भीर घाइते भएका बालकलाई उपचारको लागि गुल्मी अस्पतालमा ल्याइएको थियो। उनलाई उपचारको क्रममा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

त्यस्तै दुर्घटनामा परेर २६ वर्षीय चालक दिपक गोतामे र सहचालक १९ वर्षीय राजकुमार बिक गम्भीर घाइते भएका छन्। चालक गोतामे धुर्कोट गाउँपालिक-५ बस्तुका हुन् भने सहचालक बाग्लुङ्गको वडिगाड गाउँपालिका घर भइ हाल जिल्ला गुल्मी रेसुङ्गा नगरपालिका वडानम्बर ९ उपल्लो तम्घासमा बस्दै आएका थिए।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पोखरेलका अनुसार मृतक बालक टिकाराम बिकका छोरा हुन्। बालकको सहचालकसँग दाजुको नाता पर्ने भएकोले बिगत ३ दिनदेखि तम्घासमा बस्दै आएका थिए। मृतक बिक दाजुसङ्ग ट्याक्टरमा सवार रहेको प्रहरीले जनाएको छ।

घाइतेलाई थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। ट्याक्टर तम्घास/सिमलटारी पक्की सडकबाट ६०/७० मिटर तल खसेको छ। घटना बारे थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।