काठमाडौं - गोरखा मिडियामा रकम अपचलनका विषयमा छानबिन सुरू भएको छ। 

सहकारी प्रकरणसम्बन्धी गठित संसदीय छानबिन समितिका संयोजक सूर्य थापाले सहकारीको कागजात झिकाउने निर्णय भएको बताए। उनले भने, 'अनुसूची २ मा रहेका ९ वटा सहकारीसँग सम्बन्धित कागजात मगाउने निर्णय भएको छ। जसमा साधारणसभाको प्रतिवेदन, लेखा परीक्षणको प्रतिवेदन, सञ्चालक समितिको प्रतिवेदन र अन्य वित्तीय प्रतिवेदनहरूलगायत छन्।'

उनले विभिन्न सहकारीमार्फत गोरखा मिडियामा रकम प्रवाह भएको उक्त रकमको स्थिति अध्ययनका लागि ६ वटा बुँदासहित कागजात मगाएको बताए। उनले गोरखा मिडियामा रकम अपचलन भएको विषयमा सबैको चासो रहेको र टीओआरमा पनि छुट्टै अध्ययन गर्ने उल्लेख भएकाले सोही विषयमा केन्द्रित भएको बताए। 

समितिले गोरखा मिडयामा रकम अपचलन भएका भनिएका सहकारीहरू आइडियल यमुना बहुउद्देश्यी संस्था, इमेज बचत तथा ऋण सहकारी संस्था, सहारा बचत तथा ऋण सहकारी, समानता बच तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सु्रम बच तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरु बच तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत ता ऋण सहकारीसँग कागजात झिकाउने निर्णय गरेको हो।

यसअघि समितिले सहकारी समस्याका विषयमा गठित विभिन्न ८ समितिहरूको प्रतिवेदन मगाएको र ती प्रतिवेदनहरूबारे अध्ययन अनुन्धान भइरहेको समितिका संयोजक थापाले बताए। 'ती प्रतिवेदनहरू हामीले प्राप्त गरिसकेका छौं। अहिले अध्ययन गर्ने काम भइरहेको छ। अरु केही निकायसँग पनि छलफल गर्ने निर्णय गरेका छौं। सहकारीको समग्र विषयको अध्ययन गर्दै कार्यदेशले तोकेको विषय पनि टेक्दै जानेछौं,' उनले भने।

उनले संसदीय समिति कसैको ढाकछोप र कसैलाई नियोजितरूपमा फसाउन नबनेको भन्दै सबुत, प्रमाण वा बहुमूल्य रिपोर्ट भए उपलब्ध गराउन आह्वान गरे।