काठमाडौं - सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा तितेपातीबाट तेल उत्पादन सुरु भएको छ। 

इन्द्रावती गाउँपालिकाको लघु उद्यम विकास कार्यक्रमअन्तर्गत तितेपातीबाट तेल उत्पादन सुरु भएको वडा नम्बर ५ का अध्यक्ष शशीनाथ आचार्यले जानकारी दिए। 

वडाध्यक्ष आचार्यले यस्ता क्रियाकलापले स्थानीयको आयआर्जनमा वृद्धि हुने लक्ष्य राखिएको बताए। ‘खेर जाने तितेपातीबाट तेल बनेको छ, अब पालिकाको खेर गएको जमिनमा तितेपाती खेती गर्न प्रोत्सहान गरिनेछ’, उनले भने– ‘यसलाई बाँदरले पनि केही नगर्ने हुँदा किसानहरूले तितेपाती खेतीबाट आम्दानी गर्न सक्नेछन्।’ पालिकाले स्थानीयलाई मेसिनद्वारा तेल बनाउन ५ दिने तालिमसमेत दिएको छ। 

तितेपातीबाट उत्पादित वनस्पति तेल बहुउपयोगी रहेको र अन्तर्राष्ट्रिय बजारमा प्रतिलिटर १२ हजारभन्दा माथि बिक्री वितरण गर्ने सकिने कार्यक्रम सहजकर्ता बुद्धिरत्न डंगोलले बताए। ‘अन्तर्राष्ट्रिय बजारमा अहिले यो तेलको उच्च माग छ,’ उनले भने, ‘स्थानीय स्तरमा यस्ता धेरै जडिबुटी छन्, स्थानीय सरकारले त्यसको पहिचान गर्ने र उद्योग सञ्चालन गर्ने हो भने धेरै रोजगारीको अवसर सिर्जना हुन सक्छ।’

तितेपातीको गुणस्तर हेरेर ६० रुपैयाँदेखि ८० रुपैयाँसम्म प्रति किलो मूल्य रहेको उनले बताए। ‘पात पछाडि जति धेरै भुवा भयो उति गुणस्तर मानिन्छ, यस्तो खालको तितेपाती मूल्य प्रतिकिलो ८० रुपैयाँसम्म बिक्री हुन्छ।’ गाउँमा प्रयोगविहीन भइरहेको तितेपातीबाट आम्दानी गर्नसक्ने उनले बताए। ‘गाउँघरमा तितेपाती काटेर फाल्ने, जलाउने गरिन्छ’, डंगोलले भने– ‘त्यो भनेको तितेपाती जलाएको होइनौं पैसा जलाएका हौं, फालेका हौं।’

घरेलु रक्सी बनाएकोजस्तै तरिकाले यो तेल उत्पादन हुने डंगोलले बताए। लोकल रक्सी बनाउँदा भाडामा बस्ने भए पनि तितेपातीको तेल बनाउँदा उडेर जाने उनले जनाए। ‘हाइड्रो डष्टिलेट नामको मेसिनबाट यसको तेल उत्पादन हुन्छ’, उनले भने– ‘१ हजार किलो तितेपातीबाट १ केजी तेल उत्पादन हुन्छ।’

गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले स्थानीय जडिबुटी र उत्पादनमा जोड दिएर रोजगारीको सिर्जना गर्न पालिका तत्पर रहेको बताए। ‘हामी स्थानीयलाई कसरी स्वरोजगार बनाउने र आर्थिक रुपमा बलियो बनाउने भन्ने विषयमा गम्भीर छौं’, उनले भने, ‘तितेपाती खेती गर्ने र यसबाट तेल उत्पादन गरी बिक्री वितरण गर्ने हो भने पालिकाबासी समृद्ध हुन सक्छन्।’ 

तितेपाती फुल्नु वा दाना लाग्नुभन्दा पहिला नै तेल बनाउन प्रयोग गर्नुपर्छ। सामान्यतया वैशाखदेखि भदौ–असोजसम्म यसको तेल बनाउने उपयुक्त समय हो। हिउँदयाममा भने, फुल्ने तथा तितेपातीको बिरुवा मर्न थाल्छ र तेल निकाल्न सकिँदैन।

तितेपातीको तेल मुटु तथा कलेजोका लागि सबैभन्दा राम्रो औषधी भएको तेल उत्पादन गर्दै आएका उत्तम बज्रचार्य बताउँछन्। जिउको दुखाइ हटाउने, काखी गन्हाउने समस्याको समाधान, दाँत दुखेको निको, रुघाखोकीलगायत छालासम्बन्धी समस्या समाधान हुने बताइन्छ। 

चोटपटकबाट बगेको रगत बन्द गर्न तितेपाती बहुउपयोगी हुन्छ। सामान्यतया कपालमा तेल लगाएको जसरी उक्त तेलको प्रयोग गर्नुपर्छ। तितेपातीको तेल मात्रै होइन पात नै पकाएर खाए पनि धेरै रोग निको हुने बज्राचार्य बताउँछन्।