काठमाडौं - अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले रुसका जनरल स्टाफ प्रमुख भ्यालेरी गेरासिमोभ र पूर्वरक्षामन्त्री सर्गेई शोइगुविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

नागरिकहरूलाई अत्यधिक आकस्मिक हानि पुर्याउने कथित युद्ध अपराधका साथै युक्रेनमा अमानवीय कार्यहरूको अपराधका लागि उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको आइसिसीले एक विज्ञप्तिमा जनाएको छ । 

'कम्तीमा सन् २०२२ अक्टोबर १० देखि सन् २०२३ मार्च ९ सम्म युक्रेनी विद्युतीय पूर्वाधारविरुद्ध रुसी सशस्त्र सेनाहरूले गरेको मिसाइल हमलाको जिम्मेवारी दुई संदिग्ध व्यक्तिले वहन गर्ने उचित आधारहरू छन्', आइसिसी न्यायाधीशहरूले भनेका छन् ।  

अदालतले गत वर्षको मार्चमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि पक्राउ पुर्जी जारी गरेको थियो । उक्त फैसलालाई मस्कोले अमान्य भनेको थियो । जवाफमा रुसले आइसिसीका अध्यक्षविरुद्ध आफ्नै पक्राउ पुर्जी जारी गरेको थियो ।

हेगस्थित आइसिसीसँग पक्राउ पुर्जी लागु गर्नका लागि आफ्नौ प्रहरी बल छैन । यसलाई कार्यान्वयन गर्नका लागि आफ्ना एक सय २४ सदस्यको न्याय प्रणालीमा निर्भर छ । सैद्धान्तिकरूपमा वारेन्टअन्तर्गत कुनै पनि गिरफ्तारीको डरले आइसिसी सदस्य मुलुकको भ्रमण गर्नबाट रोकिएको छ । 

पुटिनले विशेषगरी आइसिसी सदस्य नभएका किर्गिस्तान, साउदी अरब र संयुक्त अरब इमिरेट्सको विदेश भ्रमण गरेका छन्।