काठमाडौँ । 
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यालय वनस्थली (घण्टीघर)मा दोस्रो स्थापना दिवस मनाएको छ । असार सात गते पार्टी स्थापना दिवसको रुपमा रास्वपाले दोस्रो स्थापना दिवस मनाएको हो । सो अवसरमा आयोजित कार्यक्रममा रास्वपाले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी गराएको थियो । 
रास्वपालाई शुभकामना दिन संघीय संसदमा प्रतिनिधित्व गर्ने धेरै जसो दलका नेता ‘घण्टीघर’ पुगेका थिए भने दिउसो सुरु भएको कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ सुरुमै पुगेका थिए । त्यसैगरी कांग्रेस सभापति शेरबार देउवा, नेता विमलेन्द्र निधि, रमेश लेखक पनि रास्वपाको  चियापान कार्यक्रममा सहभागी भएका थिए । रास्वपाको स्थापना दिवसको कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड पनि सहभागी भएका थिए । सो क्रममा प्रधानमन्त्री प्रचन्डले शुभकामना दिएका थिए । त्यसैगरी कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि आफ्ना पार्टीका नेताहरूको दलबलसहित रास्वपाको घण्टीघरमा पुगेका थिए । रास्वपाको कार्यक्रममा सहभागी भएका सबै नेताहरु प्रचण्ड, देउवा, माधव नेपाल, खनाल, भट्टराई, राजेन्द्र लिङदेन, सीके राउत, उपेन्द्र यादव, महन्थ ठाकुर लगायतका नेताहरुले रास्वपा कार्यालयमा राखिएको ‘घण्टी’ बजाएका थिए भने एमाल अध्यक्ष ओलीले भने घण्टी बजाउन अस्वीकार गरेका थिए । अध्यक्ष ओलीले रास्वपालाई दुई वर्षको समिक्षात्मक शुभकामना दिदा राम्रै छ भनेका थिए । रास्वपाले कार्यक्रममा गाँजा, बाँस र केराबाट उत्पादित वस्तु प्रदर्शनीमा राखेको थियो । एमाले अध्यक्ष ओलीले नेपाली उत्पादनका विभिन्न स्टलहरुको चासोपूर्वक अवलोकन गरेका थिए  । त्यसक्रममा ओलीलाई गाँजा, अल्लो लगायतबाट बनाइएका कपडा उपहार समेत दिइएको थियो । 
रास्वपाको कार्यक्रममा सर्वसाधारणका लागि घण्टीघरको अन्डर ग्राउण्डमा चियापानको व्यवस्था मिलाइएको थियो । सर्वसाधारणले नेताहरुलाई भेटन पाएनन किनभने कार्यक्रममा सहभागी भएका नेताहरु सभापति लामिछाने, उपसभापति स्वर्णिम वाग्ले लगायतका नेतासँग भेटघाट गरी माथिबाटै बाहिरिएका थिए । घण्टीघरबाट बाहिरिँदा सञ्चारकर्मीबाट घेरिएपछि नेताहरुले संक्षप्ति प्रतिक्रिया दिदै रास्वपालाई शुभकामना दिएका थिए । कार्यक्रममा सहभागी समाजवादीका नेता झलनाथ खनालले आलोचनात्मक टिपणी गरेका थिए । खनालको भनाइ थियो रास्वपाले देशको अवस्था परिवर्तन गर्ने नीति कार्यक्रम ल्याएन । व्यवस्था परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन नभएको आम नागरिकको गुनासोलाई रास्वपाले पनि सम्बोधन गर्ने नसकेको नेता खनालको भनाइ थियो । रास्वपाको कार्यक्रममा शिर्ष नेता तथा सरकारका मन्त्रीहरुको सहभागी भएको हुनाले बालाजु बनस्थली क्षेत्रको ट्राफिक व्यवस्थापनमा केही समस्या समेत देखिएको थियो ।