काठमाडौं - प्रहरीले सीआईबीको नाममा २ करोड रुपैयाँ लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको छ। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै आफूलाई सीआईबी भन्दै भक्तपुरको दधिकोटका डिल्लीराज राउतको घरमा लुटपाट गर्ने सिन्धुपाल्चोक घर भएका सुजन रसाइली, भीम बहादुर तामाङ, ओखलढुङ्गा भर भएका मुनाराज राई, सिन्धुपाल्चोक घर भएका कृष्णबहादुर बोहरालाई पक्राउ गरी सार्वजनिक गरेको हो। 

लुटपाटमा संलग्न कुलबहादुर खत्री भने फरार छन्। कुलबहादुरका भान्जा डिल्लीराज राउतको घरमा नगद रहेको जानकारी पाएपछि कुलबहादुरले नै लुटपाटको योजना बनाएको प्रहरीले जनाएको छ। लुटपाटका लागि कुलबहादुरले वैदेशिक रोजगारका जानका लागि काठमाडौं आएका युवाहरूलाई प्रयोग गरेको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए। 

लुटपाटको रकम उनीहरूले बाँडफाँट समेत गरिसकेको र त्यसमध्ये केही खर्च गरेको पाइएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूबाट ३६ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ।