काठमाडौं - काठमाडौं उपत्यकामा आज वर्षकै सर्वाधिक वर्षा भएको छ । आज बिहान वर्षा मापन सुरु भएयताकै बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका मौसमविद् रोजन लामिछानेले आज बिहान ८ः ४५ बजे त्रिभुवन विमानस्थल वर्षा मापन केन्द्रमा पछिल्लो २४ घण्टामा २३९. ७ मिलिमिटर वर्षा मापन भएको जानकारी दिनुभयो । 

यो मापन सुरु भएयताकै सर्वाधिक वर्षा भएको उहाँले बताउनुभयो । यसअघि सन् २००२ मा यहाँ १७७ मिलिमिटर वर्षा रेकर्ड भएको थियो । 

मौसमविद् लामिछानेले काठमाडौँ उपत्यकामा यति ठूलो वर्षा अहिले सम्म मापन नभएको प्रारम्भिक अध्ययनले देखाएको र विस्तृत अध्ययन गरी केही दिनमा विस्तृत अवस्था प्रतिवेदन सार्वजनिक गरिने पनि राससलाई जानकारी दिनुभयो ।

उपत्यकाका अन्य नौ मापन केन्द्रमा पनि धेरै वर्षा मापन भएको छ । ललितपुरको चापागाउँमा सन् २००२ मा २४ घण्टामा २००. ५ मिलिमिटर वर्षा भएकामा आज शनिबार ३२३ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ । 

आज साँझ भने जिरीमा ११२. ४, जनकपुरमा १००, लुम्लेमा ११३. ३, धरानमा १७७. ६, धनकुटामा १७३, ओखलढुङ्गामा ११०. १ काठमाडौँमा  १९४, सिमरा १२० र भैरहवामा १९४. २ मिलिमिटर वर्षा भएको छ । 

भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा आज साँझसम्म देशभरमा ६६ जनाको मृत्यु भएको छ भने ७९ जना बेपत्ता भएका छन् ।

काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता छन् । आज साँझबाट भने मौसममा केही सुधार आएको छ ।