काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थाहरूलाई वर्षा र बाढीबाट भएको विपद्का घटनाबाट उद्धार गरिएका घाइते बिरामीहरूलाई  निःशुल्क उपचार गर्न स्वास्थ्य संस्थाहरूलाई आग्रह गरेको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सबै प्रादेशिक स्वास्थ्य, आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूले आपत्कालीन अवस्थामा स्वास्थ्य सम्बन्धी समस्याको बारेमा जानकारी प्रदान गर्नका लागि हटलाइन नम्बर सार्वजनिक गर्न समेत आग्रह गरिएको छ । प्रदेश, जिल्ला र स्थानीय तहका द्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राख्न, प्रादेशिक स्वास्थ्य आपत्कालीन केन्द्रहरूले हब तथा स्याटलाइट अस्पतालहरूसँग समन्वय गरी आकस्मिक चिकित्सकीय समूहहरूलाई तयारी अवस्था राख्न आग्रह गरिएको छ ।

केही दिन देखि नेपालको अधिकांश क्षेत्रमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरी सहितको वर्षाका कारणले निम्ताएको प्राकृतिक प्रकोपले जनमानसको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेको र भविष्यमा थप पार्न सक्ने भएकोले सबै स्वास्थ्य संस्था र सम्बन्धित सरोकारवालाहरूलाई सतर्क रही उपचारमा सहयोग गर्न आग्रह गरिएको छ ।

यस्तै आपत्कालीन अवस्थामा स्वास्थ्य सम्बन्धी कुनै समस्याको परे वा जानकारी आवश्यक परेमा कल सेन्टरको हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न आग्रह गरिएको छ । साथै  आपत्कालीन अवस्था आइपरी स्वास्थ्य संस्था जानुपरेमा तालीम प्राप्त एम्बुलेन्स चालक र स्वास्थ्यकर्मी सहितको एम्बुलेन्सको हटलाइन नं १०२ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।