अविरल वर्षाका कारण पर्सामा ८३ घरधुरी डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अविरल वर्षाको कारण मानवीय क्षति नभए पनि यहाँका ८३ घरधुरी डुबानमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले अविरल वर्षाले पर्सा जिल्लामा मानवीय क्षति नभए पनि वर्षाका कारण जिल्लाका ८३ घरधुरीमा डुबानमा परेको जानकारी दिनुभयो । 

फुसका घरमा बसोबास गरेका सर्वसाधारणलाई वडा कार्यालयमा राखिएको पर्सा प्रहरीले जनाएको छ ।

त्यस्तै, लगातारको वर्षासँगै सिरहाको लहान नगरपालिका- ४ स्थित सुन्दरपुरमा बलान नदीमा आएको बाढी बस्तीमा पसेको छ ।

पानीको बहाव उच्च हुँदा नदीले तटबन्ध भत्काएर बस्ती पसेको हो । 

घरका सामान र लत्ताकपडा नजिकै रहेको मदरसामा सारिएको पीडित मो. सदरुर मियाले बताउनुभयो । 

एक्कासि बाढी बस्ती प्रवेश गरेपछि ज्यान जोगाउन मानिसहरूको भागाभाग भएको उहाँले बताउनुभयो।

बाढी अलि कम भएपछि बाँकी रहेका भाँडाकुँडा र लत्ताकपडा मदरसामा सारिएको छ । रातभर कसरी बस्ने भन्ने चिन्तामा रहेको उहाँले बताउनुभयो ।

वर्षा जारी रहे वडा कार्यालयसँग समन्वय गरी बस्तीका मानिसहरूलाई राति नै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी गरिएको गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिनुभयो ।

बाढी बस्ती पसेपछि सुन्दरपुर र इस्लामपुरका करिब ७० घरपरिवार बिचल्लीमा परेका छन् । 

प्रभावितहरूलाई सार्वजनिक हलमा खानेबस्ने व्यवस्थासहित सार्ने तयारी गरिएको वडा नं ४ का वडाअध्यक्ष रामनाथ पण्डितले जानकारी दिनुभयो।

फोटोः सर्लाहीको बसबरिया गाउँपालिका- २ स्थित बागमती नदीको बाढीमा फसेका नागरिकको उद्धार गर्दै सशस्त्र प्रहरी ।