काठमाडौं - अविरल वर्षाका कारण देशभर गएको बाढी र पहिराले जनधनको क्षति गरिरहेको उल्लेख गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सबै अस्पताल तथा स्वास्थ्यकर्मीहरूलाई चौबीसैं घण्टा आपतकालीन उपचारका लागि तयार रहन निर्देशन दिनुभएको छ ।

मन्त्री पौडेलले देशभरका सबै अस्पतालका आपतकालीन कक्षलाई थप प्रभावकारी बनाउन र आवश्यक परेमा नियमित सेवा प्रवाहको अवधि वृद्धि गरी सहयोग गर्नका लागि चौबीसै घण्टा तयार रहन अनुरोध गर्नुभएको छ ।

मन्त्री पौडेलले औषधोपचारका आवश्यक व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तयारी अवस्थामा रहेको उल्लेख गर्दै आपतकालीन औषधोपचारका लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न सबैलाई आग्रह गर्नुभएको छ । 

उद्धार र राहतका कार्यहरूलाई तीव्र बनाउन गृह मन्त्रालय, स्थानीय तह र अन्य सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेका उल्लेख गर्दै मन्त्री पौडेलले सबैलाई सुरक्षित रहन, सतर्क रहन र एक आपसमा सहयोग गर्न समेत अनुरोध गर्नुभएको छ ।