धादिङ र काठमाडौँको सीमाक्षेत्रमा पर्ने धुनिवेँशी नगरपालिका- ९ झयाप्ले खेलामा पहिरोले पुरिएको बसबाट दुई जनाको शव निकालिएको छ ।

आज बिहान बुटवलबाट काठमाडौँ तर्फ आउँदै गरेको बस सहित तीनवटा सवारी साधन पहिरोमा पुरिएका थिए । ती सवारी साधन मध्ये बसमा सवार एक महिला र एक पुरुषको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता प्रल्हाद सिलवालले जानकारी दिनुभयो ।

बसमा चालकसहित १२ जना रहेको बताइएको छ । बस मालिकले बुटवलबाट १२ तथा नारायणगढबाट एक जना यात्रु चढेको जानकारी दिनुभएको तर अहिलेसम्म यात्रुहरू कोही पनि सम्पर्कमा नभएको उहाँले बताउनुभयो ।

देशको विभिन्न भेगबाट राजधानी काठमाडौँ प्रवेश गर्ने नौबिसे- नागढुङ्गा सडक ठाउँ ठाउँमा पहिरो गएपछि बिहीबार साँझदेखि अवरुद्ध छ । 

अहिले पहिरो पन्छाउने काम भइरहेको छ । निरन्तरको वर्षा, पहिरो र लेदो माटोका कारण पृथ्वी राजमार्गको नौबिसे- मुग्लिन खण्ड क्षतविक्षत छ ।