काठमाडौं । 
शुक्रबारदेखिको अविरल वर्षाका कारण जलमग्न ललितपुर महानगरपालिका–२५ सुगम बस्ती टोल बस्दै आएका स्थानीयहरु बाढी अवलोकन गर्न नदी आसपास गएका थिए ।
सुगम बस्ती टोल सुधार समितिका अध्यक्ष समेत रहेका पूर्ण केसी पनि बिहानैदेखि आफ्नो टोल वरपर परिचालित थिए । सुगम बस्तीमै भाडामा बस्दै आएका थिए, काभ्रेका चणिकलाल ताामाङ ।

काभ्रेको तेमाल गाउँपालिका–९ घर भएका चणिकलाल पेन्टर हुन् । दशैंको मुखमा पेन्टिङ कामको चाप बढे पनि वर्षाका कारण शनिबारको काम रोकिएको थियो । उनी पनि आफ्नो वरपर बाढीको कहर हेर्न निक्लेका थिए ।
सुगम बस्ती टोल नजिकै नख्खु खोला किनारमा एउटा टहरो थियो । टोलसुधार समितिका अध्यक्ष केसीका अनुसार टहरोमा ग्रिल कारखाना र कवाड सामान राख्ने गरिएको थियो ।

उक्त क्षेत्रमा बस्ने व्यक्तिहरु आ–आफ्नो सामान सार्दै पारि तर्दै थिए । उनीहरुले पनि स्थानीयका सामानहरु सार्न सहयोग गर्दै थिए । त्यही बेला खोला बढ्न गयो । रौतहट घर भई सुगम बस्ती टोल बस्दै आएका ४३ वर्षीय राजु साह, उनकी छोरी ६ वर्षीया मेघना साह, राजुका भाइ २२ वर्षीय राज साह, राजकै छोरी करिब ४ वर्षीया शेर्तु साह आफ्नो ज्यान जोगाउन जस्ताको टहरोमाथि चढेका थिए ।

करिब १० मिनेट जति उनीहरु जस्ताको टहरोमाथि बसेका थिए । दुई बच्चा र दुई युवक गरी चार जना टहरामाथि चढेर उद्धारको याचना गर्दै थिए ।
बीच खोलामा चार जना फसेका थिए भने वारिपारि स्थानीयहरु थुप्रिएका थिए ।

उनीहरु निसहाय भएर बाढीमा बग्न थाले । ज्यानको याचनाबीच कतैबाट सहायता प्राप्त भएन ।

तर त्यही बेला फुत्त नख्खु खोलामा हाम फाले चणिकलाल । टहराको छानाबाट बगेका चार जना करिब ३ सय मिटर बगिसकेका थिए । चणिकलाल एक्लैले दुई जनालाई सकुशल उद्धार गरे ।

राजु आफ्नी छोरी मेघनालाई च्यापेर पौडिँदै गरेका बेला चणिकलालले निकालेका थिए ।
‘म खोला किनारमै हिँड्दै थिए । खोलाबाट कराउँदै बचाउ–बचाउ भनेको आवाज भयो’, चणिकलालले भने, ‘त्यसपछि म आफैं बाढीमा पसेर उद्दार गरेँ ।’

नख्खुमा डुबेका एक युवकले एउटा हातले छातीमा आफ्नो बच्चा च्यापेका थिए । अर्को हातले पौडिँदै थिए । त्यही बेला खोलाको छालले पनि उनीहरुलाई किनारतर्फ फाल्यो । चणिकलाललाई उद्धार गर्न सजिलो पनि भयो ।

मुस्किलले हेलिँदाहेलिँदै किनार नजिक आइपुगेपछि आफू पनि खोलामा पसेर उनीहरुको उद्धार गर्न सफल भएको उनको भनाइ छ । बगेको ठाउँबाट करिब तीन सय मिटर तलबाट उनीहरुलाई निकालेपछि चणिकलालले भुइँमा सुताए । अनि पालैपालो पेटमा थिचे, त्यसपछि बल्ल होसमा आएका राजुले बाढीमा आफ्नो अर्को बच्चा बगेको भन्दै गुहार मागे ।
उद्दार गरिएका उनीहरु दुई जनालाई नेपाल प्रहरीका पूर्वडीआईजी अशोक सिंह आफ्नो गाडीमा हालेर पाटन अस्पताल पु¥याएका थिए । उनले भने, ‘मेरो घर नजिकैको घटना हो यो । उद्धार गरिएपछि घाइतेलाई उपचारका लागि पाटन अस्पताल पु¥याएँ । त्यहाँ अर्का व्यक्ति पनि उपचाररत भेटिए ।’

यसरी टहरोबाट बेपत्ता भएका चार जना मध्ये दुई जनालाई चणिकलालले उद्धार गरेका थिए । भने अर्का एक जना आफैं पौडिएर निस्केको पाइएको छ । यता जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले पनि टहरोबाट बगेको भनिएका मध्ये तीन जनाको उद्धार भएको र अहिले पाटन अस्पतालमा उपचाररत भएको बताए । खोला किनाराका वस्तीहरु जहिले पहिले पनि जोखिममा नै हुन्छन । सरकारले खोला किनारमा रहेका टहरा हटाउने पहल नगर्दा राजधानीले बाढीले धेरै मानिसको ज्यान लियो ।