पिसाब थैली र पिसाब नलीको बीचमा रहेको प्रोस्टेट ग्रन्थीले विर्यलाई आवश्यक पर्ने तत्व उत्पादन गर्छ । ४० देखि ४५ वर्षको उमेरपछि पुरुषलाई प्रोस्टेटको समस्या देखिन थाल्छ । यो उमेर समूहपछि प्रोस्टेटको आकार र वजन बढ्ने हुनाले यसबाट पिसाब र मिर्गौलासम्बन्धी समस्या आउन सक्छ । २० देखि २५ ग्रामसम्मको प्रोस्टेटलाई ‘ग्रेड वान’ भनिन्छ, जसलाई सामान्य मानिन्छ । त्यस्तै, २५ देखि ५० ग्रामसम्मको लागि ‘ग्रेड टु’ ५० देखि ७५ ग्रामसम्मको ‘ग्रेड थ्रि’ र ७५ ग्रामभन्दा माथिकोलाई ‘ग्रेड फोर’ भनी विभाजन गरिएको हुन्छ । प्रोस्टेटका विभिन्न पाँच वटा टुक्रा (लोब) हुन्छन् । कुन लोब कसरी बढ्यो त्यही अनुसार कसरी असर गर्छ भन्ने कुरा पत्ता लगाउन क्लिनिकल जाँचहरू गर्नुपर्ने हुन्छ । प्रोस्टेट बढेपछि हुने समस्यालाई दुई तरिकाले हेर्न सकिन्छ ।
१. इरिटेटिभ सिम्टम्स ः इरिटेटिभ सिम्टम्समा छिटो–छिटो पिसाब लाग्ने, पिसाब गर्न असहज हुने वा जलन हुने समस्या देखिन्छ ।
२. अब्स्ट्रक्टिभ सिम्टम्स ः पिसाब नलीमा कुनै किसिमको अवरोध आउनुलाई अब्स्ट्रक्टिभ सिम्टम्स भनिन्छ । यसमा पिसाबको धारा मसिनो हुनु, पिसाबको गति कम हुनु र पिसाब फेरिसकेपछि पनि पूरै निख्रिएजस्तो नहुनु, राति धेरैचोटि पिसाब लाग्नु जस्ता समस्या देखिन्छन् । प्रोस्टेटको अवरोधका कारण ‘युरिनरी ट्रयाक इन्फेक्सन’ (युटिआइ) हुने गर्छ । त्यस्तै, यो समस्या जटिल बन्दै गएमा पिसाबमा रगत देखिनुका साथै किड्नीमा असर पुगी किड्नी फेल हुन सक्छ । ४० वर्षपछिकै उमेरमा उच्च रक्तचाप, मधुमेह, थाइराइड, मुटुको रोग, दमका रोग, इन्डोक्राइन रोगहरू हुन सक्ने भएकाले प्रोस्टेटको समस्या झन् जटिल बन्दै जान्छ ।
प्रोस्टेट बढ्नुका मुख्य दुई कारण हुन्छन् ।
१. बिनाइन (क्यान्सर नभएको) ः बिनाइन संक्रमणका कारण पनि प्रोस्टेट बढ्छ । पुरुषको शरीरमा हुने टेस्टोस्टेरोन हर्मोनमा आउने गडबडीका कारण प्रोस्टेट बढ्ने सम्भावना रहन्छ । यो उमेरसँगै बढेर आउने समस्या हो ।
२. म्यालिग्न्यान्सी (क्यान्सर) ः यालिग्न्यान्सी हुनुको पहिलो कारण त वंशाणुगत नै हो । त्यस्तै, रेडियोथेरापी गरिएको छ भने पनि यो समस्या आउन सक्छ । कहिलेकाहीँ प्रोस्टेटको क्यान्सर नभई अन्य कुनै क्यान्सरका कारण रेडियोथेरापी दिइएको छ भने पनि म्यालिग्न्यान्सी हुन सक्ने खतरा रहन्छ । परीक्षण तथा उपचार विधि विभिन्न परीक्षणबाट प्रोस्टेटको समस्याबारे थाहा पाउन सकिन्छ । ल्याब टेस्ट गर्नुअघि एक प्रकारको क्लिनिकल जाँच गर्नुपर्ने हुन्छ । जसमा मलद्वारबाट औँला लगेर प्रोस्टेटको जाँच गरिन्छ । यसबाट पनि प्रोस्टेटको आकार थाहा पाउन सकिन्छ ।
अन्य परीक्षण विधि निम्नअनुसारका छन् ।
१. युएसजी (अल्ट्रा सोनो ग्रामर) ः
यसबाट प्रोस्टेटको आकार र प्रोस्टेटको कुन टुक्रा कसरी बढेको छ भनेर हेरिन्छ । यसबाट अवरोध भएरनभएको र पिसाब फेरिसकेपछि कति पिसाब बाँकी छ भन्ने कुरा हेरिन्छ । कहीलेकाहीँ चार सयदेखि पाँच सय मिलिलिटरसम्म पिसाब जम्मा भएर आएका बिरामी पनि भेटिन्छन् । यस्तो अवस्थामा किड्नी फेल हुने सम्भावना बढी हुन्छ ।
२. युरोफ्लोमेट्री ः यसमा बिरामीलाई मेसिनमा पिसाब फेर्न लगाइन्छ र पिसाबको धार कस्तो छ ? पिसाबको ‘फोर्स’ कस्तो छ भनेर हेरिन्छ । यसबाट पिसाबको गति थाहा पाइन्छ ।
३. पिएसए (प्रोस्ट्याटिक सेन्सेटिभ एन्टिजिन)ः प्रोस्टेटभित्र क्यान्सर भए÷नभएको पत्ता लगाउन पिएसए जाँच गरिन्छ । तर, पिएसए बढ्दैमा क्यान्सर भएको छ भन्ने चाहिँ हुँदैन । यो प्रोस्टेट क्यान्सर पत्ता लगाउनका लागि गरिने सामान्य स्क्रिनिङ मात्र हो ।
४. पिसाबको जाँच ः पिसाबमा संक्रमण छरछैन भनेर पिसाबको ल्याब परीक्षण गरिन्छ । ‘युरिन कल्चर’ परीक्षण पनि गर्नुपर्ने हुन सक्छ । यसबाट पिसाबमा संक्रमण छ/छैन भन्ने कुरा पत्ता लाग्छ ।
५. किड्नी जाँच ः किड्नी जाँचबाट चाहिँ प्रोस्टेटले किड्नीमा असर गरेको छरछैन भन्ने कुरा पत्ता लगाइन्छ । यी सबै जाँच गरिसकेपछि यदि बिनाइन प्रोस्ट्रेट हो भने पहिला औषधि चलाइन्छ र त्यसले कुनै काम गरेन भने शल्यक्रिया गर्नुपर्ने हुन्छ ।
प्रोस्टेटको आकार अनुसार शल्यक्रियाको किसिम पनि फरक हुनेगर्छ ।
१. मोनोपोलार टियुआरपी ः पिसाबनलीबाट औजारको सहयोगमा प्रोस्टेट ग्रन्थी खुर्किने विधिलाई मोनोपोलार भनिन्छ । यो करिब ५० वर्ष पुरानो विधि हो । यसमा मेसिनबाट दिइएको करेन्ट मानिसको शरीरबाट निस्कन्छ ।
२. बाइपोलार टियुआरपी ः यो विधि पनि मोनोपोलार जस्तै हो । तर यसमा चाहिँ मेसिनबाट मानिसको शरीरमा दिइएको करेन्ट मेसिनमै फर्किनेगर्छ । यो मोनोपोलार टियुआरपीको परिमार्जित विधि हो ।
३. ओपन सर्जरी ः बिरामीको पेटको तल्लो भाग चिरेर प्रोस्टेट निकाल्ने विधिलाई ओपन सर्जरी विधि भनिन्छ ।
४. लेजर ः यदि बिरामीको प्रोस्टेटको आकार ६० ग्रामभन्दा धेरै छ, बिरामीलाई मुटुमा समस्या छ र रगत पातलो गर्ने औषधि लिइरहेको छ भने ‘लेजर सर्जरी’ गर्नुपर्ने हुन्छ । यो पिसाबनलीबाट ‘रेज’ पठाएर गरिने सर्जरी हो। यो विधिको प्रयोग गर्दा शरीरबाट रगत निस्कँदैन । प्रोस्टेटको सर्जरी गर्दा कहिलेकाहीँ विर्य बाहिर ननिस्कने अवस्था आउन सक्छ । तसर्थ, बच्चाको चाहना पूरा भएकाहरू सर्जरी गरेर यो समस्याबाट छिटो उम्किन सक्छन्। बच्चाको चाहना छ भने चाहिँ औषधि सेवनबाट यसको समस्यालाई कम गर्न सकिन्छ ।
प्रोस्टेट क्यान्सर भएको शंका भएमा बायप्सी गरिन्छ ।
बायप्सीका लागि मलद्वारबाट सानो सुइमार्फत प्रोस्टेटको टुक्रा निकालिन्छ । त्यसबाट पनि क्यान्सर पत्ता नलागेमा ‘एमआरआई गाइडेड बायप्सी’ गर्नुपर्ने हुन्छ । त्यसपछि क्यान्सरको अवस्था पत्ता लगाई उपचार गरिन्छ । सुरुवाती चरणको क्यान्सर भएमा ‘रोबोटिक सर्जरी’ गर्न सकिन्छ र पूरै निको हुन्छ । तर, क्यान्सर जटिल अवस्थामा पुगिसकेको भए ‘रेडियोथेरापी’ र ‘केमो मोडुलेसन’ गरेरे बिरामीको प्रोस्टेटलाई स्थिर बनाइन्छ । प्रोस्टेट क्यान्सर अरु क्यान्सरजस्तो चाँडो फैलिएर गम्भीर असर पार्दैन । प्रोस्टेट क्यान्सर भएरनभएको थाहा पाउनका लागि समय–समयमा क्यान्सर स्क्रिनिङ गरिरहँदा यसको जोखिमबाट बच्न सकिन्छ ।
0 comment