रन्जिला दाहाल,

काठमाडौंं – नागरिकको शान्ति सुरक्षा कायम गर्ने, मौलिक अधिकारको कदर गर्ने, राज्यको शासन व्यवस्थाको प्रणाली निर्धारण गर्ने, राष्ट्रको राष्ट्रिय अन्तर्राष्ट्रिय नीतिको उपयुक्त सन्तुलन गर्ने र यस्तै अन्य कार्य गर्ने नीतिलाई राजनीति भनिन्छ । राज्यको शासन व्यवस्थाको नीति, राज्यसंरचना प्रणाली, राज्य र प्रशासनसँग सम्बन्धित सिद्धान्त नै मुलरुपमा राजनीति भनेर बुझ्ने गरिन्छ । राजनीतिलाई सबै नीतिहरुको प्रमुख नीति समेत भनिन्छ । 
‘राजश्री दिप्तौ’ भन्ने धातुबाट राजनीति शब्दको ब्युत्पादन हुन्छ । रन्ज् धातुबाट राजा बन्छ (जनान् रन्जयतीति) मनिसलाई रमाइलो गराउने अनेकौं प्रकारका सम्भावनाका द्वार खोल्ने भन्ने अर्थमा ‘राजा’ शब्द बनेको देखिन्छ । त्यसको नीति भन्दा राजश्री दिप्तौ धात्ुबाट राजनीति शब्दको व्युत्पादन भएको हुन्छ । यो समस्त शब्द हो । राजसु नीति राजनीति भएको हो । ‘राज नीति’ राजनिति अर्थात् राज्यले अवलम्बन गर्ने प्रमुख नीतिको सञ्जाल हो, राजनीति ।  विश्वमा खासगरी राजतन्त्रबाट राजनीति सुरुभएको मानिन्छ । त्यसको अवशेष व्रिटेन, जापान र कतिपय स्केन्डे भियन देशमा रहेको अहिले पनि देखिन्छ । 

राजनीतिका सिद्धान्त, मत, दृष्टिकोण र तिनका आधारमा भएका कुनै न कुनै निर्णयबाट समाजको हरेक व्यक्ति प्रत्यक्ष वा परोक्ष ढंगले प्रभावित नभै छोड्दैन । त्यसकारण कसैले माने पनि नमाने पनि मानिसको जीवन एउटा न एउटा राजनीतिबाट प्रभावित भएकै हुन्छ । यो बर्गीय समाजको अनिवार्य लक्षण हो । अझ पुंजीबादी, समाजवादी देशमा त बढी सचेतन र सुस्पष्ट रुपमा यो देखिन्छ । पुँजीबादी राज्यपद्धति भएका मुलुकमा उत्पादन, उपभोग र वितरणका अनगिन्ति क्षेत्रमा व्याप्त भेदभाव, अन्याय, हरेक क्षेत्रमा पुँजीवादी चिन्तन र व्यवहारको व्यापकता अनि तिनका विरुद्ध चल्ने श्रमिक बर्गीय अन्तरविरोधका साथै साम्राज्यबाद र उत्पीडित देश वीचका अनेक रुपका अन्तरविरोधले गर्दा राजनीति उति नै जटिल बनेको छ । राजनीति प्रत्येक मानिसलाई अपरिहार्य भए पनि  राजनीतिमा जहाँतही पुगिसरी आउने टाढाबाठा र अरुलाई कल छलबलले बलमा राख्न सक्नेहरुकै कब्जा भएको हुँदा सर्वसाधारण नागरिकलाई राजनीति सामान्य गरिखाने गरीब निर्धाहरुको चासो र पहँुचको कुरा होइन, हुनेखानेहरुको सोखको विषय हो भन्ने भ्रम उत्पन्न भएको छ । आम जनतामा राजनीति प्रति वितुष्णा छ । तर यथार्थमा राजनीतिले समाजका सबैलाई उम्कनै नसक्ने गरी बाँधेको हुन्छ । राजनीतिका प्रभावबाट जानेर नजानेर कोही मुक्त हुँदैनन् । 

राजनीतिका मुलुकका सबै जातिहरु, सामाजिक समुहहरु, बर्गहरुका र राष्ट्र–राष्ट्रहरु बीचका परस्पर सम्बन्धित सम्पूर्ण राजनीतिक क्रियाकलापहरु समेत पर्छन् । विभिन्न वर्गहरुको प्रतिनिधित्व गर्ने पार्टीका सम्बन्धहरु आपसी प्रतिस्पर्धा र चर्का संघर्षहरु पनि राजनीति नै हुन । वर्ग, पार्टी, सरकार, सामाजिक समुहका क्रियाकलापहरु, यदि राजनीतिक सत्ताको प्राप्ति, गुमाई सञ्चालन आदिको सेरोफेरोमा पर्छन, त्यसतर्फ लक्षित छन् भने ती सबै राजनीति नै हुन । रुसी अक्टोबर क्रान्तिका नामक भिआई लेनिन भन्छन्– ‘राजनीति सबै वर्गहरु तथा स्तरहरुसँग राज्यसत्ता र सरकारका सम्बन्धहरुको क्षेत्र हो ।’

माकर्सबादलाई व्यवहारमा परिणत गर्ने पहिलो राजनेता लेनिनले राजनीति बारे थुप्रै तर्क संगत विचारहरु अघि सारेका छन् । उनी भन्छन् – ‘राजनीति भनेको अर्थशास्त्रको केन्द्रीभूत अभिव्यक्ति हो । राजनीतिले अर्थशास्त्र माथि प्राथमिकता दिनुपर्छ । अन्यथा तर्क गर्नु भनेको माक्र्सवादको ‘क’, ‘ख’, ‘ग’ लाई बिर्सनु हो, लेनिनको बुझाई छ । राजनीतिको अर्थ वर्गहरुबीच संघर्ष हो । त्यसको अर्थ विश्वपूँजीपति बर्गको विरुद्ध सर्वहारा वर्गको मुक्ति । संघर्षमा त्यसको सम्बन्ध हो । पूँजीबादी विश्व दृष्टिकोण अनुसार, राजनीतिलाई अर्थशास्त्रबाट अलगजस्तो देखाइन्छ । पूँजीपति वर्ग भन्छ किसानहरु हो । तिमीहरुले आफ्नो जीविकाका लागि काम गर्नुपर्छ, मजदुरहरु हो । तिमीहरुले आफ्नो जीविकाको साधान पाउन काम गर्नुपर्छ । जहाँसम्म आर्थिक नीतिको सवाल छ । त्यो त तिम्रा मालिकहरुको काम हो । तर कुरा यो होइन, राजनीति जनताको काम, सर्वहार बर्गको काम हुनुपर्छ । उनी अझै अगडि प्रस्ट पार्दछन् । राजनीति एउटा विज्ञान र एउटा कला हो र यो आकाशबाट खस्ने होइन वा सित्तैमा पाइने होइन र पछि सर्वहारा बर्ग पुँजीपति बर्गलाई पराजित गर्न चाहन्छ भने, त्यसले पुँजीवादी राजनीतिज्ञ भन्दा कुनै पनि रुपमा कमसल नभएका आफ्नै सर्वहारा बर्गीय राजनीतिज्ञहरुलाई प्रशिक्षित पार्नुपर्छ ।

वास्तवमा राजनीति सेवा भाव र समपर्णको पर्याय हो । राजनीति व्यवसाय होइन त व्यापार हो । जुवेन्ली भेलीले भनेका छन्, एउटा मान्छेलाई एकतला माथि उठाउनु भन्दा जनतालाई एक इन्च माथि उठाउनु बेस हो । बास्तवमा जनताका निम्ति गरिने निःस्वार्थ सुकार्य नै राजनीति हो । गौतम बुद्धले भनेका छन्– मानव नियति अति दुःखमय छ । त्यसलाई सुखानुभुति प्रदान गर्ने उपायको खोजी गरी गन्तव्यमा उभ्याउन सक्नु नै मानव धर्म हो । तर नेपालमा भने राजनीतिलाई पेसा बनाइएको छ, जागिर बनाइएको छ । उद्धार सेवा भावले जनहितमा काम गरिने राजनीतिको परिभाषा नै बरालिन पुगेको छ । 

राजनीतिमा जो दुरदर्शी, सफल संगठन संघर्षशील, समायोजक र कुटनीति विशेषज्ञ हुन्छ, त्यही सफल हुनसक्छ । त्यसले शक्तिशाली विरोधीलाई पनि अनेक उपायले कमजोर पार्न सक्छ या आफुमा मिलाउन सक्छ । जसले आफ्नो बर्ग र मित्र शक्तिहरुलाई एकजुट पार्न सक्दैन, जसले खास ध्येयमा विरोधीहरुसित पनि मिलेर काम गर्न सक्दैन, त्यसको विपरीत शत्रुको कुटनीतिमा बहकिएर आफ्नै मित्र शक्तिलाई छिन्नभिन्न पार्न पुग्छ र ऊ आफ्नै नारा, नीति र कार्यक्रममा पनि सफल हुन सक्दैन । उदाहरणका लागि अति पुरानो आदिम कविला तन्त्रीय या मिथकीय ‘शिवगणतन्त्र’ लाई हेरौं । त्यहाँ शिव संस्कृति अन्तर्गत अनेकौं विरोधी गणहरु नाग, मुसा, मयूरगण, बाघ, गाई गोरु गण सँगसँगै बसेका छन् । शिवका घाँटीको सर्पले गणेशको बाहन मुसालाई खाएको देखिन्न । यसरी नै कुमारको बाहन मयूरले शिवको नागलाई र पार्वतीको बहान बाघको शिवको बहान साँढेलाई मारेका छैनन् । नाग, मुसा, मयूर, बाघ, साँढे त्यस युगका जनजातीय गणका प्रतिक हुन् । त्यस्ता विरोधीहरु मिलेर बसेकैले शिवको गणतन्त्र सफलताका साथ चलेको देखिन्छ ।

राजनीति गर्नेहरुले शिवगण होस या शाक्यगण विदेह गण होस या लिक्ष्छवी र मल्लहरु पौरणिक र ऐतिहासिक सदर्भबाट पनि शिक्षा लिनुपर्छ । आधुनिक विश्वका अमेरिका, चीन, भारत, रुस, ब्राजिल ठूला वा माल्दिभ्स, स्वीजरल्याण्ड, अष्ट्रिया, पाकिस्तान, श्रीलंका जस्ता साना गणतन्त्रबाट पनि शिक्षा लिनुपर्छ । पौरस्य जगतका पहिला भनिएका राजा मनुले राज्यमा शान्ति कायम गर्न गरेका प्रयत्नको दस्तावेज मनुस्मृति हो । 

निश्चित भूभाग, जनता सरकार र सार्वभौमिकता राजनीतिका अहं विषयहरु हुन । राज्य निर्माणका निम्ति भूमि र जनता सबैभन्दा प्राथमिक कुरा हुन । त्यसपछि मात्र राजनीतिले स्थान पाउँछ । राजनीतिलाई पनि असल नेतृत्वले मात्र देश र जनहितमा सञ्चालन गर्नसक्छ । नेतृत्वमा चारित्रिक शुद्धता, इच्छाशाक्ति, स्वच्छता, इमानदारी, पारदर्शिता, निष्पक्षता, तटस्थता र बिभेदशुन्यता भएमात्र राजनीतिले सुशासन दिनसक्छ । जुन नेतृत्वमा यस्ता गुणहरुको खडेरी देखिन्छ । त्यसले शासकीय समस्या उत्पन्न गराउँछ । सत्ता र पदलोलुपताले नेपाली राजनीतिमा अस्थिरता संरक्षित छ । जनताको अवस्था र पार्टीको सिद्धान्तबारे अध्ययन चिन्तन र अनुसन्धान गर्ने नेताहरु नभएका कारण नेपालको राजनीतिले जनसमस्या र मुलुकको आर्थिक विकासको गतिले लय समाउन सकेको छैन । 

राजनीतिमा सिद्धान्त हराएको छ र प्रोपोगाण्डा मात्र बाँकी रहेको देखिन्छ । नीतिको प्रवलताभन्दा व्यक्तिपूजक संस्कृतिको विकास भएको छ । लोकतन्त्र, उदारबादप्रति अटल आस्था, प्रश्नको स्वतन्त्रता खुलापन, भिन्नमतको कदर तथा समानता र समताको हृदय बन्न सक्नुपर्छ राजनीति । नेपाली राजनीतिले जनता नै जनार्दन हुन भन्ने बुझ्न चाहेको देखिँदैन । जनार्दन नमाने पनि कम से कम ‘ग्राहक’ मानेर शिक्षा, स्वास्थ्य, स्वदेशमै रोजगारी सम्यक व्यवस्था गर्न पनि नेपाली राजनीति असफल सिद्ध देखिएको छ ।