विष्णु भट्टराई,
श्री ३ भीम शमशेरका नाति जनरल हिरण्य शमशेरका सुपुत्र तथा नेपाली कांग्रेसका संस्थापक नेतामध्येका सुवर्ण शमशेरका नाममा श्री ३ भीम शमशेरका पालामा बनेको नेपाल राष्ट्र बैंकको पुरानो भवन रहेको दरबारसहित हाल प्रधानमन्त्री, प्रधान न्यायधीश, सभामुख निवास र त्यसको दक्षिण पश्चिम क्षेत्रमा २९९ रोपनी ९ आना ३ पैसा क्षेत्रफल सहितको क्याम्प रहेको थियो ।
२०१७ असार १९ मा सुवर्ण शमशेरले काठमाडौ रजिस्ट्रेसन अड्डाबाट र नं. १५४७ बाट पास भएको बकसपत्रमार्फत पत्नी श्वेतप्रभालाई ५८ रोपनी, छोराहरु कनक शमशेर, कञ्चन शमशेर र रुक्म शमशेर प्रत्येकलाई ५७ रोपनी ८ आना २ पैसाका दरले २९९ रोपनी ९ आना ३ पैसा जग्गा ‘मेरो हकका’ भनी उल्लेख गर्दै बकस पाएको जति आफ्नो एकलौटी हक लागेको तिरो तिरी भोगचलन गरिखानु बेहोर्न भनी, मेरो घर बैठकमा बसी बकसपत्र लेखिदिएको भन्ने व्यवहोराबाट बकसपत्र गरेको र बाँकी जग्गा सुवर्ण शमशेरले आफुले राखेका थिए ।
२०१७ पौष १ गते तत्कालीन संविधानको धारा ५५ लाई प्रयोग गर्दै राजा महेन्द्रले जननिर्वाचित वीपी कोइराला नेतृत्वको कांग्रेस सरकार र संसद दुवै विघटनगरी राजकीय सत्ता आफ्नो हातमा लिए । २०१५ सालको संसदिय आम निर्वाचनमा नेपाली कांग्रेसले दुईतिहाई बहुमत ल्याएर आफ्नो एकमना सरकार गठन गरेको थियो । संविधान सभाको मागबाट पछि हटेर कांग्रेस आम निर्वाचनमा होमिएको थियो । बाबु त्रिभुवनले नगराएको संविधान सभाको निर्वाचन छोरा महेन्द्रले किन गराउँथे ? राजा महेन्द्र भलिभाँति जानकार थिए कि संविधानसभा गणतन्त्रको सिंढी बन्नसक्छ । नभन्दै २०६४ मा बनेको संविधान सभाले राजतन्त्रलाई इतिहासमा सिमित गरायो । राजा महेन्द्रले सैन्य ‘कु’ गरेपछि नेपाली कांग्रेसका नेताहरु बीपी, कृष्णप्रसाद भट्टराई, गणेशमानसिंह, सूर्यप्रसाद उपाध्याय लगायत प्रायसः गिरफ्तारीमा परे । सुवर्ण शमशेर भने पुस १ गतेको अघिल्लो दिन नै भारतको कोलकता गएका थिए । गिरफ्तारीमा पर्न नसकेका कांग्रेस, कम्युनिष्ट र गोरखा परिषदका नेताहरुले राजाको अधिनायबादी कदम विरुद्ध आन्दोलन चर्काउने हुन कि भन्ने राजा महेन्द्रमा भय थियो ।
राजा महेन्द्रले वि.सं. २०१८ फागुन १९ मा सुवर्ण शमशेर लगायत ७६ जना कांग्रेस नेताहरुलाई विशेष परिस्थिति ऐन २०१७ अनुरुप २१ दिनभित्र आफ्नो घरद्वारमा आई बस्न आदेश जारी गरे । २०१८ चैत १० मा कम्युनिष्ट नेता पुष्पलाल र सुवर्णका माइला छोरा कञ्चन शमशेर जवरा सहित ८३ जनालाई सोही आदेश दिइयो । विशेष परिस्थिति ऐन २०१७ मा त्यस्तो सूचनामा परेका व्यक्तिहरु आफ्नो घरद्वारमा आई नबसेमा घरजग्गा र सम्पत्ति जफत हुने व्यवस्था थियो । राजा महेन्द्रको प्रशासनले सुवर्ण शमशेरको नाममा रहेको ललिता निवास क्याम्पको २९९ रोपनी ९ आना ३ पैसा जग्गा मध्ये सुवर्ण शमशेर जवरा र कञ्चन शमशेर जबराका नाममा रहेको दुइ अंश कब्जामा लिएको थियो । राजाले २०२१ सालमा ६ वटा राणकालीन दरबार विना प्रयोजन अधिग्रहणगरेको सूचना निकालियो । सो सूचनामा सुवर्ण र कञ्चनको अंशमा परेको १४ रोपनी जग्गामा सरकार लागिसकेको उल्लेख थियो ।
२०२५ जेठ २ गते सशस्त्र संघर्ष परित्याग र संविधानमा सुधार भएर निर्वाचित सरकार गठन गर्ने, कार्यकर्तालाई आममाफी सम्पत्ति फिर्ता भए राजालाई सघाउन सकिने वक्तव्य सुवर्ण शमशेरले जारी गरे । प्रजातन्त्रको पुनस्थापनाको संघर्षमा घरजग्गा सम्पत्ति हरण भएका प्रजातन्त्रका सेनानीहरुको सम्पत्ति प्रचलित कानुनको हदबन्दी भित्ररही फिर्ता दिने सम्बन्धमा कृष्णप्रसाद भट्टराई नेतृत्वको आन्तरिम सरकारले निर्णय ग¥यो । पछि फेरि साउन ८ र भदौ ३ मा पनि मन्त्रीस्तरीय निर्णय गरियो । सोही निर्णयको प्रचलित प्रक्रिया अनुसार सुवर्ण शमशेरका हकदारहरुले २०४९ कार्तिक २५ र पुस २३ मा काठमाडौं मालपोत कार्यालयबाट ११२ रोपनी मोही कायम भएको जग्गा प्राप्त गरेका थिए । प्रमाणहरुले सुवर्णको ललिता निवासले चर्चेको २९९ रोपनी ९ आना ३ पैसा मालपोतको से्रस्तामा सरकारका नाममा अभिलिखित समरजंग कम्पनीलाई रेखदेख गर्न मात्र दिइएको थियो । यहाँ जग्गामा भूमाफियाहरुले चलखेल गरेका हुन् । मुआब्जा दिएर सो जग्गा सरकारको नाममा अभिलिखित रहेको थियो । यस आधारमा ललिता निवासले चर्चेको सो परिमाणको जग्गा सरकारी सार्वजानिक जग्गा हो ।


0 comment