
प्रभातराज पाण्डे,
पुष्पकमल दाहाल प्रधानमन्त्रीका हैसियतले भारत भ्रमणमा जाँदा त्यहाँको सरकारले भैँसी उपहार दिएछ। पत्रपत्रिका, रेडियो, टिभी र सामाजिक सञ्जालमा भैँसीकथा चर्चित छ।तत्कालीन युवराज दीपेन्द्र वीरविक्रम शाह पाकिस्तान भ्रमणमा जाँदा त्यहाँको सरकारले २२ वटा उन्नत जातका अरेबियन घोडा उपहार दिएको थियो। विमानबाट ल्याउन नमिल्ने भएको र सडकबाट ल्याउन भारतले स्वीकृति नदिएपछि ती घोडा उतै रहे।राजपुत्रले घोडा उपहार पाए। कास्की ढिकुरपोखरीमा पिता मुक्तिराम दाहालका छाप्रामा जन्मेका घनश्याम दाहाल (न्वारानको नाम) भारतीय गुजराती भैँसी उपहार पाउँदा हर्षले प्रफुल्ल हुनु स्वाभाविक हो।
दरिद्र बाहुनले हात्ती बकस पायो भने पाल्न सक्दैन। तसर्थ, गौदान गर्ने चलन सुरु भएको संस्कृतिविद्हरू बताउँछन्। जसको हैसियत जे-जस्तो छ, सोहीअनुसार बकस पाउने परम्परा छ। दीपेन्द्रलाई उपहार दिइएका घोडा भारतीय मार्गबाट नेपाल ल्याउँदा के बिग्रन्थ्योरु तर सानो चित्त देखाएर भारतले रोक्यो । दीपेन्द्र शाहका घोडा र पुष्पकमलका राँगा-भैँसीमा पनि कूटनीति घुसेको छ। नेपाल र नेपालीको गालामा चुम्मा गर्ने विदेशीको नियत बुझ्न सकिएन भने काठमाडौँ अर्को काबुल बन्नेछ।
नेपालमा दश वर्ष द्वन्द्व चलाउने भारतीयहरूलाई भलिभाँति थाहा छ, गाउँमा गाई काटेर खाने र जबर्जस्ती खुवाउने, सनातन धर्मका उपासक पण्डितलाई मार्ने र नेपाल धर्म निरपेक्ष राष्ट्र भनेर संविधानमा लेख्ने-लेखाउनेलाई गेरुबस्त्र धारण गराएर सामूहिक भ्यासेक्टोमी गरायो दिल्लीले। दासहरू हरेक महादेशका कुनामा पाइन्छन्। उदाहरणका लागि मध्य अफ्रिकी राष्ट्र निकारागुवालाई लिए पुग्छ। स्पेनबाट स्वाधीन त्यो राष्ट्र अमेरिकी र सोभियत संघको षड्यन्त्रको मैदान बनेको त बितेका ४० वर्षमा रेडियो र अखबारहरूमा समाचार बनिरहे।
नेपालमा जतिसुकै राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको नारा दिए पनि धेरैजसो बिक्री भइसकेका छन्। छानबिन गर्ने कसलेरु कोर्रा हान्ने कसलेरु राष्ट्रघात गरेको प्रमाणित भए पनि उनीहरूलाई एउटै खाल्डो खनेर पुर्ने कसलेरु यत्रतत्र सर्वत्र पराधीन र पञ्चमाङ्गी (फिफ्थ कलमनिस्ट) छन्।
केही वर्षयता विदेशीको मात्रै काम गर्ने कतिपय पत्रकार, वकिल, राजनीतिकर्मी, राजस्व खाने विभिन्न दर्जाका मानिस, उद्योगपति, व्यापारी आदि मात्रै होइन, परोपकारका नाममा खुलेका धेरै संघ-संस्थाले राष्ट्रघात गरिरहेका छन् भन्ने गुनासो बढेको छ। कसैको डर नभएपछि अराजकता बढ्ने नै भयो। देशद्रोहीहरू एक अर्कालाई दोषारोपण गरेर पानीमाथिको ओभानो हुने प्रयास गरिरहेका छन्। उनीहरूको जीवनशैलीमा ठूलो परिवर्तन देखिन्छ। विदेशीलाई गुप्त सूचना दिनेहरू प्रायः उच्च तहकै हुने गर्छन्। भैँसी, राँगा जे भित्र्याए पनि राष्ट्रिय सुरक्षाका लागि खतरा हुँदैन तर द्वन्द्वकालमा झैँ तालिम, नगद र हतियारसहित आतंककारीसमेत भित्र्याउन अनेक जालझेल भइरहेको देखिन्छ।
महाभारत युद्धमा युयुत्सुको प्रसंग आउँछ। उनी धृतराष्ट्रको पुत्र भए पनि दासीबाट जन्मेका कारण दुर्योधनले रुचाएनन्। तसर्थ, युद्धका बेला सैनिकलाई भोजनको प्रबन्ध गर्नेदेखि लिएर हातहतियार, रथ, घोडा, हात्ती आदिको व्यवस्थापन गर्न उनलाई महाप्रबन्धक बनाइएको थियोे। योग्य जहाँ पनि योग्य र अयोग्य जहाँ पनि अयोग्य हुन्छ। युयुत्सुले लाखौँ सैनिकलाई समयमा युद्धसामग्री र भोजनको प्रबन्ध गरेर त्यो पुष्टि गरे।
कृष्णले सेनापति बनाएका धृष्टध्युम्नको प्रबल अठोट अब्बल थियो। साहस, इमान, उद्देश्य, रणनीति, कार्यनीति र नेतृत्व क्षमता नभए पनि केही व्यक्तिको अक्षमता नै क्षमता सिद्ध हुने गरेको नेपालमै देखिन्छ। ती नालायकहरू प्रतिशोध, घृणा, कुण्ठा, संकीर्ण सोच र अभिमानले उन्मत्त हुन्छन्। पदलाई अत्यन्तै महत्व दिन्छन्। यो रोग जंगी, निजामती, प्रहरी सबैतिर ब्याप्त छ।
हामीमध्ये धेरैलाई भ्रम छ, चुनावमा जनप्रिय, इमानदार र सक्षमले जित्ने गर्छन्। यो हुँदै होइन। मध्यरातमा दस करोड रुपियाँ लुटेर कुनै दललाई पाँच करोड बुझाएपछि उसले सांसद बन्नु भनेर टिकट दिन्छ। बाँकी पाँच करोड रक्सी, मासु, आर्थिक सहायतामा खर्च गरेपछि सांसद हुने संभावना रहन्छ।चुनाव प्रणालीमा दोष भएको हुँदा बीसौँ वर्ष योगदान गर्नेहरू भन्दा ठग, तस्कर, डाँका र अपराधीहरू हरेक दलमा प्रिय छन्। घोडा र राँगामध्ये एउटा छान्नुपर्दा जनताले आफ्नो बौद्धिक क्षमताअनुसमर नै छान्ने गरेको पाइन्छ।
असल, सार्थक र इमानदार नेतृत्व नहुँदा धेरै राष्ट्रका करोडौँ जनताले कष्ट बेहोरेका छन्। राजा द्रव्य शाहको शुभराज्याभिषेक भएको वर्ष (संवत् १६१६) देखिको मात्रै हिसाब गर्दा पनि सयौँ वर्षमा हामी यति पतीत भएका थिएनौँ, जति बितेका १५ वर्षमा नेपाल बदनाम भयो।सुन्दा पनि लाज लाग्ने घटनाक्रम धेरै छन्। राजा वीरेन्द्रको सम्पत्ति तस्करहरूले भोग गर्ने, उच्चपदस्थहरूले सरकारी सम्पत्ति मास्ने, जनतालाई रुवाएर सत्ता र प्रतिपक्षका ठगहरू हाँस्ने विद्रुप दृश्य तस्करपरस्त मिडियाले समेत ढाकछोप गरिरहेका छन्।
नेपालमा विदेशी हस्तक्षेप २००७ सालपछि बढ्दै गयो। राजा त्रिभुवनको निधनपछि राजा महेन्द्रका सामुन्ने अनन्त समस्या थिए तर चतुर्याइँपूर्वक बाह्य र आन्तरिक समस्याको समाधान हुँदै गयो। नेपालका राजनीतिक दल, सेना, प्रहरी, निजामती, विभिन्न वर्गीय र व्यावसायिक संगठन वा गैरसरकारी संस्थालाई विदेशीले निस्वार्थ सहयोग गरेका छैनन्। कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा विदेशीको प्रभाव बढ्दैछ। तसर्थ, दीपेन्द्र शाहका घोडा र पुष्पकमलका राँगा-भैँसीमा पनि कूटनीति घुसेको छ। नेपाल र नेपालीको गालामा चुम्मा गर्ने विदेशीको नियत बुझ्न सकिएन भने काठमाडौँ अर्को काबुल बन्नेछ ।


0 comment