प्रभातराज पाण्डे,

नेपालको ईतिहासमा अभिलिखित वि.सं. १८९० साल भदौ १२ गते, १९९० साल माघ २ गते, २०४५ साल भदौ ५ गते र २०७२ बैशाख १२ गतेको भूकम्पलाई ठुलो र विनाशकारी मानिन्छन् । नेपालको भुकम्प ईतिहास केलाउँदा वि.सं. १२१८ को रेकर्ड गरिएका मध्ये पहिलो विनाशकारी भूकम्प मानिन्छ । 

वि.सं. २०७२ को महाभूकम्प वैशाख १२ गते शनिवार नेपालको प्रमाणिक समयअनुसार ११ः५६ मा लगभग ३४ किमी (२१ माइल) पूर्व–दक्षिणपूर्व बार्पाकलाई केन्द्रविन्दु बनाई ७.८ रेक्टर स्केलको भूकम्प १५ किमी (९.३ माइल) गहिराईमा गएको थियो । वि.सं. १९९० महाभूकम्प पछिको यो सवैभन्दा ठुलो भूकम्प थियो । भूकम्पले नेपाल सरकारको प्रारम्भिक जानकारी अनुसार नेपालमा मात्रै ५१६२ मानिसको ज्यान लिएको थियो । यस महाभूकम्पका कारण नेपाल सँगै रहेका भारत, चिन र वंगलादेशमा पनि कैयौँ मानिसहरुको हताहत भएका थिए । भूकम्पले गर्दा काठमाण्डौ उपत्यकामा रहेका युनेस्को विश्व सम्पदा क्षेत्रका शताव्दी पुराना भवनहरु भत्कीएका थिए, जसमा वसन्तपुर दरवार क्षेत्र पनि रहेको छ । 

यस भूकम्पले सगरमाथामा हिमपहिरो जान शुरु भएको थियो, जसकाकारण नेपाली र विदेशी गरी २२ जनाको हिमपहिरोमा पुरिएका कारण मृत्यु भएको थियो । यो हिमपहिरो सगरमाथामा आएको सवैभन्दा घातक थियो । भूकम्पले लाङटाङ उपत्यकामा पनि विशाल हिमपहिरो गएको थियो, जसकाकारण २५० जना वेपत्ता भएका थिए । यस महाभूकम्पका कारण नेपालको कैयौँ जिल्लाका हजारौँ गाँउबस्तीका सर्वसाधारणहरु भूकम्पले धक्का दिँदा घर नष्ट भएका कारण कैयौँको मृत्यु भएको थियो भने हजारौँ मानिसहरु घरवारविहीन बनेका थिए । यस महाभूकम्पका कारण काठमाण्डौ उपत्यकाका युनेस्कोद्धारा विश्व सम्पदा सुचिका सूचिकृत स्थल तथा सयौँ वर्ष पुराना ऐतिहासिक धरोहरहरु आंशिक रुपमा र केहि पूर्ण रुपमा ध्वस्त भएका थिए, जसमा काठमाण्डौ दरवार क्षेत्र, पाटन दरवार क्षेत्र, भक्तपुर दरवार क्षेत्र, चाँगुनारायण मन्दिर, वौद्धनाथ स्तूप र स्वयम्भुनाथ स्तुप सामेल छन् । नेपाल एक घातक भूकम्पले कमजोर बनेको र मुख्यरुपमा देशको भूविज्ञान र शहरीकरणका कारण भुभौतीकीविद तथा अन्य विशेषज्ञहरुले दशकौँदेखि नेपालमा ठुलो भूकम्प जान सक्ने चेतावनी दिएका थिए । यस महाभूकम्पका कारण ६१.८८ मिटर अग्लो नौतले धरहरा भूकम्पको पहिलो धक्कैका कारण ध्वस्त भएको थियो भने धरहरा पूर्णरुपमा क्षतिग्रस्त हुँदा यसले कैयौँ मानिसहरुको ज्यान लिएको थियो, जुन युनेस्कोद्धारा मान्यता प्राप्त काठमाण्डौ उपत्यकाको वास्तुकलाको एक हिस्सा थियो । 

भूकम्प गएको २० मिनेटको अन्तरालमा पुरै देशभरि लगातार भूकम्पको पराकम्पहरु गईरहेका थिए भने वैशाख १३ का दिन रातको १२ बजेर ५४ मिनेट जाँदा ६.७ रेक्टर स्केलको अर्को पराकम्प गएको थियो । २९ वैशाख २०७२ का दिन दिउँँसोको १२ वजेर ५० मिनेट जाँदा देशले पुनः ७.३ रेक्टर स्केलको पराकम्पको सामना गर्नुपरेको थियो, जसको केन्द्रविन्दु काठमाण्डौ र सगरमाथाको विचमा चिनको सिमाना नजिक थियो । यस पराकम्पमा २०० भन्दा वढी मानिसहरुको मृत्यु भएको थियो भने २५०० भन्दा वढी घाइते हुँदा कैयौँ घरवार विहिन भएका थिए । 

२०७२ वैशाख १२ गतेको महाभूकम्पलाई शुरुमा सयूंक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षणले ७.५ रेक्टर स्केलको रहेको प्रतिवेदन निकालेको थियो भने चिनीया भूकम्प सञ्जाल केन्द्रले ८.१ रेक्टर स्केल रहेको प्रतिवेदन दिएको थियो । भारत मौसम विज्ञान विभागले नेपाली समय अनुसार ११ः५६ मा र १२ः३० मा गरि दुई शक्तिसाली भूकम्प गएको बताएको थियो । वैशाख १२ को महाभूकम्प आउँदाको समयमा सयौ पर्वतारोहिहरुले सगरमाथाको चढाई गरिरहेका थिए । भूकम्पको तिव्र कम्पनका कारण हिम पहिरो आएको थियो भने यसलगतै भुसख्लन शुरुभएको थियो, जसका कारण १७ भन्दा बढी पर्वतारोहिहरुको मृत्यु भएको थियो । संयूक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षका अनुसार भूकम्प जानुको कारण जमिनको सतह भन्दा ९ माइल तल रहेको एक चट्टान सरेका कारण दिएको धक्काले आणविक हतियार फुटे जत्तिकै शक्तिशाली थियो । 

२०८० साल कात्तिक १७ गते शुक्रवार मध्यरात तिर जाजरकोट जिल्ला र रुकुम पश्चिममा आएको ५.७ म्याग्निच्युडको भूकम्पले १५७ जनाको ज्यान लियो र कम्तीमा ३७५ जना घाइते भए । भूकम्पको धक्का पश्चिम नेपाल र उत्तरी भारतमा व्यापक रुपमा महशुस गरिएको थियो । संयूक्त राज्य भूगर्भ सर्वेक्षणले भूकम्पको म्याग्निच्युड ५.७ र १६.५ किलोमिटर (१०.३ माइल) गहिराई रहेको वताएको छ । जाजरकोट जिल्लाको रामिडाडाँमा भूकम्पको केन्द्रविन्दु रहेको अनुमान गरिएको छ । भूकम्पग्रस्त क्षेत्रमा मानविय सहायता र कर्मचारीहरु पु¥याउन हेलिकोप्टर तैनाथ गरिएको थियो जवकी सेनाहरुलाई पहिरोले अवरुद्ध सडकहरु खाली गर्न पठाईएको थियो । नेपालगंजको एक अस्पतालमा भुकम्पपिडितका लागि सय भन्दा बढी शय्याको व्यवस्था गरिएको थियो । यसैविच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भूकम्पबाट भएको जनधनको क्षती प्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ भने पाकिस्तानका कार्यवहाक प्रधानमन्त्री अनवर उल हक कक्कडले नेपाललाई सहयोग गर्न आफ्नो देश तयार रहेको बताउनु भएको छ । त्यस्तै चिन सरकारले नेपालाई ४० करोड मुल्य बराबरको राहत सामाग्री प्रदान गरिसकेको छ । यस्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक पत्र पठाएर मानवीय तथा सम्पतिको क्षति प्रति दुःख व्यक्त गर्नु भएको छ । 

(नेपालमा दैनिकजसो भूकम्पको पराकम्प महशुस भईरहेको वर्तमान परिप्रेक्षमा यो लेख सान्दर्भिक हुने भएकाले यहाँ प्रस्तुत गरेको छु )