काठमाडौं - अफगानिस्तानको पश्चिमी क्षेत्रमा आइतबार फेरी ६.३ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको छ। 

यसै महिना भूकम्पको शृङ्खलाले एक हजारभन्दा बढीको ज्यान लिएको क्षेत्रमा आइतबार फेरी ६.३ म्याग्निच्युटको भूकम्प गएको हो।  

ग्रिनविच मिनटाइमअनुसार ३ बजेर ३६ मिनेटमा अफगानिस्तानको हेरात सहरभन्दा ३३ किलोमिटर टाढा भूकम्प गएको हो। यही असोज २० गते (अक्टोबर ७) हेरातको सोही भागमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पसँगै आठ वटा पराकम्प गएको थियो। उक्त भूकम्पले ग्रामीण घरहरू ध्वस्त पारेको थियो भने एक हजारभन्दा बढीको मृत्यु र सयौं घाइते भएका थिए।  

हजारौं भयभित बासिन्दा बिना आश्रय रहन बाध्य भएको र स्वयंसेवकहरूले बाँचेकाहरूको खोजी गरिरहेका बेला सोही म्याग्निच्युटको अर्को भूकम्प जाँदा एक जनाको मृत्यु र एक सय ३० जना घाइते भएका छन्।  

भूकम्पमा परी मर्नेहरूमा ९० प्रतिशतभन्दा बढी महिला र बालबालिका रहेको युनिसेफले बुधबार बताएको थियो। भूकम्पबाट १२ हजारभन्दा बढी नागरिक प्रभावित भएको संयुक्त राष्ट्र सङ्घले जनाएको छ। 

सन् २०२१ मा अफगानिस्तानको सत्तामा आएको तालिबान अधिकारीहरूका लागि ठूलो मात्रामा आश्रयको व्यवस्था गर्न चुनौती हुने छ। तालिबानको अन्तर्राष्ट्रिय दातृ संस्थाहरूको सम्बन्ध खराब छ।