हरेक वर्ष विश्वमा “स्तनपान सप्ताह” मानाउँने गरिन्छ । हरेकवर्ष झैँ यसवर्ष पनि अगस्ट महिनाको पहिलो साता “स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाको प्रतिबद्धता” भन्ने नाराका साथ स्तनपान सप्ताहको उपलक्ष्यमा विभिन्न कार्यक्रम सञ्चालन गरी यो दिवस मनाईयो । यस्तै नेपालमा पनि आमा र बच्चाको स्वास्थ्य प्रर्वद्घनका लागि स्तनपानको अपरिहार्य महत्व छ भनीे बुझाउन राष्ट्रिय रुपमा नै जनचेतनामूलक कार्यक्रमहरु हुने गर्दछन् । यस्तै प्रकृतिले पनी प्रत्येक आमालाई सन्तान जन्माउने अनुभुतीसँगै स्तनपान गराउने सुखद अवसर पनि प्रदान गरेको छ । 

तर पछिल्लो समय नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण–२०२२ अनुसार देशमा ५६ प्रतिशत सुत्केरी महिलाले मात्र पूर्ण स्तनपान गराउँछन । अर्थात्, सय जनामा केवल ५६ आमाले मात्र बच्चा जन्मिएको ६ महिनासम्म शिशुलाई आफ्नो दूध मात्रै चुसाउने÷खुवाउने गरेका छन् । जबकि यस अघि सन् २०१६ मा भएको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणमा चाहिँ पूर्ण स्तनपान गराउने आमाहरू ६६ प्रतिशत रहेको पाइएको थियो । यो तथ्यांकमा पछिल्ला ७ वर्षको अवधिमा नेपालमा पूर्ण स्तनपान गराउने महिला १० प्रतिशतले घटेको देखिन्छ । त्यस अघि सन् १९९६ मा पूर्ण स्तनपान गराउने नेपाली आमाको संख्या ७५ प्रतिशत रहेकामा सन् २०११ मा ७० प्रतिशत हुँदै हाल ५६ प्रतिशतमा झर्नुले पछिल्ला २७ वर्षमा नेपालमा पूर्ण स्तनपान गराउने महिलाको संख्या २७ प्रतिशतले घटेको देखाउँछ । 

दिगो विकास लक्ष्यप्राप्तिका लागि शिशुको पूर्ण स्तनपानलाई एक प्रमुख आधारका रूपमा ग्रहण गरी नेपालले सन् २०३० सम्ममा पूर्ण स्तनपान गराउने आमाहरूको संख्या ९० प्रतिशत पु¥याउने लक्ष्य राखेको परिप्रेक्ष्यमा त्यो संख्या उल्टै उल्लेख्य रूपमा घट्नु यो एउटा चिन्ताको विषय हो । अझै पनि सयमा ४४ सुत्केरी आमाले जन्मेको ६ महिनाभित्रै पनि आफ्नो शिशुलाई बट्टाको कृत्रिम दूध वा गाई भैंसीको दूध खुवाउने गरेको र यस्तो संख्या बर्सेनि बढिरहँदा त्यसले उल्लिखित दिगो विकासको लक्ष्यप्राप्तिमा चुनौती खडा गरिरहेको छ । आखिर पूर्ण स्तनपानको दरमा भैरहेको यस्तो गिरावटका लागि जिम्मेवार कारकहरू केके हुन् त ? 

समाजमा शिक्षा, चेतना र स्वास्थ्यको पहुँचमा वृद्धि भैरहेको यथार्थका बीच आमा र बच्चा दुवैको दीर्घकालीन स्वस्थ जीवनका लागि अनिवार्य मानिएको शिशु स्तनपान भने किन घटिरहेको छ ? पूर्ण स्तनपानका फाइदाबारे बखान गरिरहँदा र महिलाहरूलाई स्तनपानको महत्त्वबारे उपदेश दिइरहँदा अब उल्लिखित सवालहरूबारे पनि विचार पु¥याउनु नित्यान्त अत्यावश्यक भैसकेको छ ।

नेपाल होस वा बहिरका अन्य मुलुकमा नर्मल डेलिभरीभन्दा अप्रेसन गरेर बच्चा निकाल्ने काम बढ्दो रुपमा देखिन्छ, । जसले गर्दा आमाहरुलाई घाउ दुख्ने भएकाले आमाको दूधको साटो फर्मुला दूध बढी दिइन्छ । यस्तै शिशु जन्मिएको एक घण्टाभित्र आमाको दूध खुवाउनुपर्ने नियम अस्पताल र स्वास्थ्यकर्मीले पनि पालना गरेको नदेखिएको पोषणविद् विनिता पन्त बताउँनु हुन्छ । 

मजदुरी गरेर खाने आमाहरुले पोषणयुक्त खान पाउँदैनन् र दूध राम्रोसँग आउँदैन । स्तनपान गर्ने आमाको संख्यामा कमी आउनुमा सामाजिक, आर्थिक र मेडिकल जस्ता विवीध कारणहरु पनी हुन् । स्तनपान गराउँदा शरीरिक बनोट बिग्रिन्छ भन्ने हल्लाले पनि केही आमाहरुले बच्चालाई स्तनपान नगराउने गरेको देखिन्छ । स्तनपान गराउँदा एक आमाको दूध बच्चाका लागि कति फाइदाजनक छ भनेर ज्ञान नहुनु पनि एउटा कारण हो । 

कतिपय महिला भने आत्मविश्वासको कमीका कारण स्तनपान गराउँदैनन् । शिशुको वृद्धि विकासका लागि स्तनपान अति आवश्यक भए पनि स्तनपान गराउने आमाहरुको संख्या घटिरहेको छ । कोही रहरले स्तनपान गराउँदैनन् त कोही बाध्यताले । स्तनपान शिशुको लागि अमृत समान मानिन्छ । अहिले महिलाहरु सन्तान जन्माउन त चाहन्छन् तर शरीर बिग्रने डरले पनी स्तनपान गराउँदैनन् । 

पछिल्लो समय महिलाहरूको श्रम सहभागिता दरमा वृद्धि हुनु तर कार्यस्थल शिशु तथा स्तनपानमैत्री नहुनुका कारणले गर्दा कामकाजी महिलाहरूले आफ्ना शिशुलाई चाहेर पनि स्तनपान गराउन पाएका छैनन् । बढ्दो आधुनिकीकरण, सहरीकरणसँगै पेसा–व्यवसायमा संलग्नतामा भएको बढोत्तरी र व्यस्तताका कारण आमाहरूले शिशुहरूलाई पर्याप्त स्तनपान गराउन पाइरहेका छैनन ।

जनचेतनामा व्यापक अभिवृद्धि हुँदाहुँदै पनि पूर्ण स्तनपान गराउने महिलाको संख्यामा बर्सेनि उल्लेख्य गिरावट आउनुमा कार्यस्थलमा शिशु स्तनपान कक्ष तथा शिशु स्याहार कक्षको अभाव मुख्य कारक रहेको देखिन्छ । कानुन बमोजिमको सुत्केरी बिदा सकिएपछि आमाहरू काममा फर्किनुपर्ने तर आफ्नो कार्यस्थलमा शिशु स्याहार तथा स्तनपान कक्षको अभावका हुँदा बच्चालाई घरमै छाडेर काम जान बाध्य हुन्छन् । 

यसले गर्दा उनीहरू दिनभर बच्चालाई आफ्नो दूध चुसाउनबाट वञ्चित हुनुपरेको छ । नेपाल सरकारले ६ महिनासम्म पूर्ण स्तनपान गराउने भनेको छ तर बिदा जम्मा तीन महिनाको मात्र दिएको छ । निजामती सेवामा रहेका महिलाहरूले तलबी सुत्केरी बिदा जम्मा ९८ दिन मात्रै पाउँछन । बेतलबी सुत्केरी बिदा ६ महिनासम्म पाइने भए पनि जागिरले परिवार धान्नुपर्ने महिलाहरू ९८ दिनपछि नै बच्चालाई घरमा छाडेर काममा फर्किन बाध्य हुन्छन् । गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत महिलाका लागि त यस्तो न्यूनतम सुविधाको समेत अभाव छ ।

यद्यपि सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन–२०७५ मा सबै रोजगारदाताले आफूकहाँ कार्यरत सुत्केरी आमाहरूलाई दुई वर्षसम्म कार्यस्थलमा स्तनपान गराउन सक्ने व्यवस्था गर्नुपर्ने र कार्यस्थललाई शिशु स्तनपानमैत्री बनाउनुपर्ने उल्लेख छ । तर यो प्रावधान अहिलेसम्म सबै सरकारी निकायमै त लागू हुन सकेको छैन, निजी क्षेत्र, बजार तथा अनौपचारिक श्रम क्षेत्रमा पूर्ण कार्यान्वयन आउनु झन् आकाशको फलजस्तै हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वका आधा अर्बभन्दा धेरै कामकाजी महिलालाई सम्बद्ध मुलुकको कानुनले अत्यावश्यकीय मातृ सुरक्षा दिन सकेको छैन । यस्तै कारणले समेत विश्वमा ६ महिनाभन्दा कम उमेरका शिशुमध्ये ४८ प्रतिशतले मात्र पूर्ण स्तनपान गर्न पाएका छन् । विश्वका २० प्रतिशत मुलुकमा मात्र रोजगारदाताले सम्बद्ध महिलालाई तलबी बिदाका साथै स्तनपानका लागि सुविधा उपलब्ध गराउनुपर्ने कानुन बनाएका छन् । यसबाट विश्वभर नै कार्यस्थलको अड्चन महिलालाई स्तनपानबाट वञ्चित गराउने एक प्रमुख कारक रहेको पुष्टि हुन्छ ।

हुन त महिलाहरूले आफ्नो शिशुलाई पूर्ण स्तनपान नगराउनुमा केवल कार्यस्थलको मात्र दोष छैन र यसका विभिन्न कारण छन् । कसैका लागि यो बाध्यता बनेको छ भने कसैका लागि रहर वा देखावटीको परिणाम । तथ्यांक अनुसार शिशु जन्मेको एक घण्टाभित्र दूध चुसाउने आमाहरू ५५ प्रतिशत मात्र छन् । शिशु जन्मिएपछि सबैभन्दा पहिले आमाको दूध चुसाउनुपर्नेमा नेपालमा हरेक १० मध्ये ३ शिशुलाई घिउ, मह तथा चिनी चटाउने गरिएको पनि सर्वेक्षणले देखाएको छ । साथै शल्यक्रिया गरेर जन्माइएका शिशुलाई पहिलो पटक आमाको दूधको साटो अन्य चीज खुवाउने गरिएको छ ।

आधुनिकताको प्रवेशसँगै कतिपय नयाँ आमामा आफ्नो दूधभन्दा बट्टाको फर्मुला मिल्क बढी पोषणयुक्त तथा राम्रो हुन्छ भन्ने भ्रमणपूर्ण बुझाइ छ  । नेपालमा त्यस्तो फर्मुला मिल्कको बिक्री–वितरणमा कानुनतः बन्देज लगाइएको भए पनि आमाको दूधको साटो शिशुलाई खुवाउनका लागि भन्दै अनेक खालका बोतलबन्द चीजहरू बजारमा प्रचुर मात्रामा उपलब्ध छन् । कतिपय आधुनिक आमालाई बच्चाले दूध चुस्दा आफ्नो शरीर बिग्रिन्छ भन्ने डर पनि छ । स्तनपान लज्जाको विषय होइन, बच्चाको अधिकार हो । अनि आमा र बच्चाको स्वास्थ्यसँग सम्बन्धित विषय हो ।

एक अध्ययन अनुसार, पहिलो पटक आमाको दूध चुसाउन २ घण्टादेखि २३ घण्टासम्म ढिलो गर्दा शिशुको मृत्यु हुने जोखिम ३३ प्रतिशतले बढ्छ । जन्मेको दुई दिनसम्म पनि दूध चुस्न नपाउने बच्चामा यस्तो जोखिम झनै दोब्बर हुन्छ । जन्मेको एक घण्टाभित्र आमाको दूध खान नपाउँदा विश्वमा हरेक वर्ष ७ करोड ८० लाख शिशु मृत्युको उच्च जोखिममा पर्ने गरेका छन् । तर विडम्बना, विश्वमा हरेक ५ नवजात शिशुमध्ये २ जनाले मात्र जन्मेको एक घण्टाभित्र आमाको दूध चुस्न पाएका छन् । कुपोषणका कारण बर्सेनि विश्वका २७ लाख बालबालिका ज्यान गुमाउन बाध्य छन् र यस्तो प्राणघातक कुपोषणका लागि पूर्ण स्तनपानको अभाव एउटा प्रमुख कारक बन्ने गरेको छ ।

पछिल्लो समय आफूखुसी शल्यक्रियाबाट बच्चा जन्माउने क्रम बढ्नु र सोही अनुसारको प्रसवपश्चात्को चिकित्सा सुविधा नहुनाले पनि बच्चाले सुरुमै दूध चुस्न पाउने समय घर्किने गरेको र सुरुमा आमाको दूधको साटो बट्टाको दूध खुवाउने चलन बढेको पाइन्छ । आमाको दूधको विकल्पका रूपमा बच्चालाई खुवाइने बट्टाका दूध लगायतको प्रचार तथा बजारीकरणलाई सीमित गर्नका लागि कडा कानुनी उपाय अपनाउनु र भएका कानुनको प्रभावकारी कार्यान्वयन गर्नु आवश्यक छ । विश्वमा करोडौं बालबालिका कुपोषणको सिकार बनिरहेको र आमाको दूध चुस्न नपाउनु त्यसको एउटा मुख्य कारक रहेको अवस्थामा बाल कुपोषण निवारणको सबैभन्दा वैज्ञानिक तथा सस्तो उपाय मानिएको स्तनपानको प्रवर्द्धनलाई बाल तथा मातृशिशु स्वास्थ्यको प्रमुख पाटोका रूपमा प्राथमिकता दिनुपर्छ ।

कुनैपनि शिशुको समग्र वृद्घि र विकासमा स्तनपानको अत्यन्त महत्व छ । नवजात शिशुलाई जन्मनेवित्तिकै यथाशीघ्र (एक घण्टाभित्रै) आमाको दूध चुसाउनु पर्छ । आमाको पहिलो बाक्लो र पहेँलो बिगौती दूध नवजात शिशुका लागि अमृत सरह मानिन्छ । आमाको दूधमा प्रचुर मात्रामा भिटामिन ‘ए’ हुने र रोग प्रतिरोधात्मक तत्व हुने हुँदा बच्चालाई शक्ति प्रदान गर्नुका साथै श्वासप्रश्वाससम्बन्धी समस्या र झाडापखालाबाट बचाउँछ । 

बच्चालाई ६ महिनाको अवधिसम्म आमाको दूधमात्रले पनि आवश्यक सम्पूर्ण पोषण पुग्छ र अन्य कुनै खानेकुरा चाहिँदैन । त्यसैकारण पनि भनिन्छ, आमाको दूध नवजात शिशुका लागि अमृत समान छ । यस अलावा स्तनपानले आमा र बच्चाबीच ममताको सम्बन्ध स्थापना गर्ने काम पनि गर्छ । आमाको दूधले बच्चालाई चाहिने सम्पूर्ण पौष्टिक तत्वहरु त दिन्छ नै, शिशुको शारीरिक तथा मानसिक विकासका लागि चाहिने अच्यूत आहारको पनि काम गर्छ । स्तनपान शिशुको जन्मसिद्घ अधिकार पनि हो र आमाका लागि पनि स्तनपान गराउनुका धेरै फाईदाहरु छन् ।

आमाको दूध शिशुको लागि सबैभन्दा पोषिलो र उत्तम आहार हो । स्तनपान गराउनाले शिशलाई त फाईदा हुन्छ नै, आमाको स्वास्थ्यमासमेत अत्यन्त महत्वपूर्ण प्रभाव पार्दछ । सुत्केरीको पाठेघरबाट समयमै सालनाल बाहिर निस्कन पनि स्तनपानले सहयोग गर्छ । साथै, स्तनपानले बच्चा जन्मिएपछि पाठेघरबाट हुने रक्तश्राव समेत कम गराउँछ । स्तनपानलाई परिवार नियोजनको एउटा माध्यमको रुपमा पनि लिइन्छ । बच्चा जन्मेको ६ महिनासम्म नियमित रुपमा स्तनपान मात्र गराउँदा तत्कालै गर्भ बस्नबाट पनि बचाउँछ । 

आमाले जति धेरै पटक शिशुलाई स्तनपान गराउँछिन् त्यतिनै बढी अस्थायी गर्भनिरोधको अवधि बढेर जान्छ । सुत्केरीको लगत्तै शरीरमा उच्च रहेको हर्मोनहरुमा एक्कासी कमी आई कतिपय आमाहरुमा मानसिक समस्या समेत देखिन सक्छ भने स्तनपानले त्यस्तो लक्षण कम गराउन मद्दत गर्दछ । कम्तीमा दुई वर्षसम्म नियमित रुपमा बच्चालाई स्तनपान गराउने आमाहरुमा स्तन क्यान्सर र पाठेघर क्यान्सरको खतरा समेत कम हुने गरेको कुरा विभिन्न अनुसन्धानबाट प्रमाणित भएका छन् । त्यसैले बाल कुपोषण निवारणको सबैभन्दा वैज्ञानिक तथा सस्तो उपाय मानिएको स्तनपानको प्रवर्द्धनलाई बाल तथा मातृशिशु स्वास्थ्यको प्रमुख पाटोका रूपमा प्राथमिकता दिंदा धेरै नै राम्रो हुने थियो की ?