काठमाडौं – प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको ज्यान गएको छ ।
यसरी ज्यान गुमाउँनेहरुमा, कैलालीका नारायणप्रसाद न्यौपाने, आशिष चौधरी, बझाङका गणेशकुमार नेपाली, दार्चुलाका दीपेशराज विष्ट, लोकेन्द्र सिंह धामी, धनुषाका आनन्द शाह, सुनसरीका राजेशकुमार स्वरंकार, डोटीका राजन फुलारा, पदम थापा र सल्यानका प्रवेश भण्डारी रहेको इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले जानकारी दिनु भएको छ ।
यस्तै नेपाली विद्यार्थी नितिन भण्डारीका अनुसार अन्य चार जना घाइते भएका छन् भने एक जना सम्पर्कविहीन रहेका छन् । अन्य दुई जना भने सकुशल रहेको र उनीहरू सबै जना सूदुरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू रहेको नितिनले जानकारी दिएका छन् ।
११ महिनाका लागि “लर्न एन्ड अर्न” कार्यक्रमअन्तर्गत् कृषि अनुसन्धान तथा कामका सिलसिलामा इजरायल गएकाहरूमध्ये सल्यानका प्रमोद केसी र कैलालीका बीरेन्द्र चौधरी सकुलस रहेका छन् । तीमध्ये प्रमोद कृषि फार्मका मालिकसँग रहेका छन् भने बीरेन्द्र प्रहरीकहाँ सुरक्षित रहेकाछन् ।
त्यस्तै विद्रोहीको आक्रमणबाट चार जना घाइतेमध्ये सल्यानका विधान सेजवा र दाङका प्रविन डाँगीलाई खुट्टामा चोट लागेको छ भने कैलालीका धनबहादुर चौधरी र गोरखाका हिमााञ्चल कट्टेल अस्पतालमा सकुशल रहेका छन् । कञ्चनपुरका बिपिन जोसी भने सम्पर्कविहीन रहेका छन् ।
हमासको आक्रमणको जवाफमा इजरायलले गाजा पट्टीमा १७ सैन्य कम्पाउण्ड र ४ सैन्य मुख्यालयमा आक्रमण गरेपछी हाल इजरायल र हमासबीच युद्ध जारी छ । इजरायली सेनाका प्रवक्ता रिचर्ड हेचले इजरायलको २२ स्थानमा अझै पनि लडाइँ जारी रहेको बताएका छन् । हमलाका कारण हालसम्म २३० बढी प्यालेस्टाइनीको मृत्यु भएको छ भने १७०० भन्दा बढी घाइते भएका छन् ।
इजरायली सेनाले गाजा पट्टीका ७ क्षेत्रका मानिसहरूलाई आफ्नो घर छोडेर सहरमा बनेका आश्रय गृहहरूमा जान आग्रह गरेको छ। १००० भन्दा बढी प्यालेस्टिनी इजरायल प्रवेश गरेका छन् ।
यसैबिच नेपालका शिर्ष नेताहरुले इजरायलमा आक्रमणमा परी घाइते भएका र आक्रमणकारीको कब्जामा रहेका नेपालीहरूको उद्दार तथा स्वदेश फिर्ताका लागि सरकारसँग माग गरेका छन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायलमाथि हमासले गरेको आक्रमणपछि द्वन्द्व बढ्न नदिन मध्यपूर्वमा कूटनीतिक प्रयास गर्न आग्रह गरेका छन्।
0 comment