काठमाडौं - शनिबार प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा प्रहार गरेको ५ हजार रकेटका कारण हालसम्म २५० इजरायलीको मृत्यु भएको छ भने १५ सय बढी घाइते भएका छन् ।
हमासको आक्रमणको जवाफमा इजरायलले गाजा पट्टीमा १७ सैन्य कम्पाउण्ड र ४ सैन्य मुख्यालयमा आक्रमण गरेपछी हाल इजरायल र हमासबीच युद्ध जारी छ। इजरायली सेनाका प्रवक्ता रिचर्ड हेचले इजरायलको २२ स्थानमा अझै पनि लडाइँ जारी रहेको बताएका छन् । हमलाका कारण हालसम्म २३० बढी प्यालेस्टाइनीको मृत्यु भएको छ भने १७०० भन्दा बढी घाइते भएका छन् ।
इजरायली सेनाले गाजा पट्टीका ७ क्षेत्रका मानिसहरूलाई आफ्नो घर छोडेर सहरमा बनेका आश्रय गृहहरूमा जान आग्रह गरेको छ। १००० भन्दा बढी प्यालेस्टिनी इजरायल प्रवेश गरेका छन् ।
हमासले गाजापट्टी क्षेत्रबाट २० मिनेट अवधिमै ५ हजारभन्दा बढी रकेट आक्रमण गरिएको दाबी गरेको छ। उसले यो कारबाहीलाई ‘अपरेसन अल अक्सा फ्लड’ नाम दिएको छ। हमासका लडाकुहरूले गाजा क्षेत्रबाट इजरायली सीमामा प्रवेश गरी सर्वसाधारणलाई आक्रमण गर्दै बन्दीसमेत बनाएका छन्। शनिबार बिहानै हमासका वरिष्ठ सैन्य कमान्डरले युद्धको घोषणा गर्दै सबै प्यालेस्टिनीहरूलाई आआफ्नो स्थानबाट लडाइँमा भाग लिन अपिल गरेका थिए।
गाजा पट्टीबाट भएको आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले युद्धको घोषणा गरेका थिए । मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि उनले भनेका थिए–यो युद्ध हो र हामी अवश्य जित्छौं । शत्रुहरूले यसको मूल्य चुकाउनु पर्छ।
उक्त आक्रमणमा नेपाली पनि परेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार ९ नेपाली घाइते भएका छन्, दुई जनाको अवस्था गम्भीर छ। १४ जना नेपाली काम गर्ने इजरायली कृषि फार्ममा पनि आक्रमण हुँदा सो घटना भएको मन्त्रालयले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ। क्षतिको अरू विवरण संकलन भएसँगै जानकारी गराइने पनि मन्त्रालयले जनाएको छ।
यसैबिच नेपालका शिर्ष नेताहरुले इजरायलमा आक्रमणमा परी घाइते भएका र आक्रमणकारीको कब्जामा रहेका नेपालीहरूको उद्दार तथा स्वदेश फिर्ताका लागि सरकारसँग माग गरेका छन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायलमाथि हमासले गरेको आक्रमणपछि द्वन्द्व बढ्न नदिन मध्यपूर्वमा कूटनीतिक प्रयास गर्न आग्रह गरेका छन्।
0 comment