काठमाडौं - लिबियामा ड्यानियल आँधीसँगैको मुसलधारे वर्षाले भीषण बाढी निम्त्याउँदा पूर्वी शहर डेर्नामा मात्र ज्यान गुमाउनेको सङ्ख्या एघार हजार तीन सय पुगेको छ।
डेर्नामा मात्र अझै दश हजार एक सय जना हराइरहेका छन् भने देशका अन्य भागबाट दशौँ हजार बेपत्ता भएका तथा ५० हजारभन्दा बढी विस्थापित भएका छन्। गत आइतबार दिउँसो आँधी आएसँगै मुसलधारे वर्षा हुँदा दुईवटा नदीका बाँध भत्केपछि बाढीले गाउँ–शहरका भवन र तिनमा बसेका सबैलाई बगाएको थियो।
बाढीबाट सर्वाधिक प्रभावित डेर्नामा कम्तीमा ३० हजार लिबियाली घरबारविहीन भएका छन्। नब्बे हजार जनसङ्ख्या भएको डेर्नामा अहिले जताततै शवमात्र छरिएकाले उद्धारकर्तालाई शव व्यवस्थापन ज्यादै चुनौतीपूर्ण बनेको छ। सुडान र इजिप्टका चार सय विदेशीको पनि बाढीमा मृत्यु भएको छ। हालसम्म तीन हजार एक सय ९० जनाको अन्त्येष्टि गरिएको छ।
डेर्ना र वरपरका जिल्लामा भएको अकल्पनीय विनाशका आधारमा मृतकको सङ्ख्या २० हजारको हाराहारीमा पुगेको डेर्नाका प्रमुख अब्दुलमेनम अल–गैथीधचले बताएका छन्।
0 comment