काठमाडौं – बिशेषगरी सहरी क्षेत्रको घना बस्तीहरुमा महामारीको रुपमा फैलिरहेको आँखा पाक्ने रोग दिनदिनानु रुपमा बढ्दै गैरहेको छ । आँखा पाक्ने रोग अर्थात् भाइरल कन्जंक्टिभाइटिसको महामारीले आँखा रातो हुने र चिलाउने समस्या धेरैमा रहेको पाइन्छ । आँखा च्याप÷च्याप हुने, कचेर आउने, आँखा रातो हुने र चिलाउने आदि यसका लक्षणहरु हुन् ।

यो रोग लागेका कतिपयलाई घरमै उपचार गर्दा सन्चो हुन्छ भने कसैको अस्पाताल पनि जानुपर्ने बनाउन सक्छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले आँखा पाक्नबाट बच्न तथा पाकिहालेमा आँखाको हेरचाहाको लागि ध्यान दिनुपर्ने केही महत्वपूणृ जानकारीहरु दिएको छ । 

– बरफले आँखा सेक्दा आँखा बन्द गरेर वा सफा रुमालमा राखेर सेक्ने ।

– आँखा नमिच्ने र आँखामा पानी नछ्याप्ने ।

– आँखा छोइसकेपछि साबुनपानीले हात मिचिमिचि राम्रोसँग धुने ।

– प्रशस्त मात्रामा पानी र पोषिलो खानेकुरा खाने ।

– बाहिर घाममा जाँदा कालो चस्मा प्रयोग गर्ने ।

– संक्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, टावेल, सिरानी, तन्ना आदि हरेक दिन धुने वा सफा गर्ने ।

– संक्रमित व्यक्तिले प्रयोग गरेको सामान अन्य व्यक्तिलाई प्रयोग गर्न नदिने ।