काठमाडौं – उदयपुरमा डेंगुका बिरामी बढ्न थालेको् जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

यो वर्ष महामारीकै रुपमा फैलिएको डेंगुबाट २६६ जना संक्रमित भएका छन् ।  डेंगुबाट कटारी नगरपालिकाका २९ वर्षीय एक पुरुषको ज्यान गई सकेको छ भने, महामारीकै रुपमा फैलिएको डेंगुबाट २६६ जना संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी उमेश लुइँटेलले जनाकारी दिएका छन । लुइँटेलका अनुसार जिल्लाका चारवटा नगरपालिकामा ८४५ जनामा गरिएको परीक्षणबाट २६६ जनामा डेंगु पुष्टि भएको हो ।

लामखुट्टेको टोकाइबाट हुने डेंगु संक्रमणले बिरामीको संख्या दिनानुदिन बढ्दै गएको उनले बताएका छन् । लुइँटेलका अनुसार सबैभन्दा बढी त्रियुगा नगरपालिकामा ५२६ जनामा परीक्षण गरिएकोमा १५६ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी बेलका नगरपालिकामा १४३ जनामा परीक्षण गरिएकोमा ४८ जनामा डेंगुदेखा परेको छ भने चौदण्डिगढी नगरपालिकामा १३१ जनामा परिक्षण गरिएकोमा ४५ जना र कटारीमा ४५ जनामा परिक्षण गरिएकोमा १७ जनामा डेंगु संक्रमण पुष्टि भएको उनले बताएका छन् । 

उमेरगत हिसाबले १५ देखि ४९ वर्षका ६५ जना, १५ वर्ष उमेर समूहका ३४ जना र ५० वर्षमाथिका २३ जना रहेको र संक्रमितमध्ये सबैभन्दा बढी महिला ६१ र पुरुष ४८ जना रहेको जिल्ला कार्यालयले जनाएको  छ ।  यसबाहेक नीजि अस्पतालमा उपचार गराएका बिरामीको तथ्यांक यसमा समावेश न गरिएको लुइँटेले जानकारी दिएका छन् । 

जिल्ला अस्पतालमा उपचार गर्न जाने दैनिक एक हजार हाराहारी बिरामीमध्ये ६० प्रतिशतभन्दा बढी ज्वरोकै आउने गरको अस्पतालका प्रमखु मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. ज्ञानेन्द्र झाले बताएका छन् । उनका अनुसार धेरैजसो बिरामी भाइइरल ज्वरोकै हुने गरेको र ज्वरो आउनेमध्ये केही प्रतिशत डेंगुका बिरामी हुने गरेको पाइएको छ । डेंगुका बिरामीको संख्या बढ्दै गर्दा चेकजाँचका लागि चाहिने आवश्यक किट सरकारले पठाउन सकेको छैन् । सरकारले किट नपठाएपछि अस्पताल विकास समितिले खरिद गरेर ल्याएको किट न्युनतम शुल्क लिएर परीक्षण गर्ने गरेको मेसु झाले बताएका छन् । 

अत्याधिक ज्वरोका कारण डेंगुको परीक्षण गर्नेको संख्या दैनिक बढ्ने गरेको र नीजि अस्पतालमा पनि उस्तै बिरामीको चाप बढेको उनले बताएका छन् । केहीदिनअघि ल्याइएको १ सय ५० थान किट ३÷४ दिनअघि नै सकिएपछि थप किटको माग गरेर पनि नआएको उनले बताएका छन् । 

डेंगु भएको कसरी थाहा पाउने ?

चिकित्सकहरुका अनुसार तीन दिनदेखि १० दिनसम्म लगातार ज्वरो आयो भने डेंगु भएको बुझ्नु पर्छ । डेंगु ज्वरो आउदाँ शरिरको तापक्रम १०२ डिग्रीदेखि १०३ डिग्रीसम्मको हुन्छ । टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जिउ, जोर्नी दुख्ने,रातोरातो बिमिरा देखिने भयो भने डेंगु भएको बुझ्नुपर्छ ।

डेंगु लाग्दा देखिने लक्षण

–    असाध्यै टाउको दुख्ने
–    आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने
–    ढाड, जोर्नी तथा मांसापेशीहरू दुख्ने
–    शरीरमा विमिरा आउने
–    वाकवाकी लाग्ने
–    पेट दुख्ने
–    नाक वा गिजाबाट रगत बग्ने
–    रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ  ।

बच्ने उपाय

डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको बृद्धि रोक्नुपर्छ । यसका लागि पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनुहुँदैन । पानीको ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्ने पर्छ भने कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्न सकिन्छ ।