काठमाडौं – दाङमा आँखा पाक्ने रोगका कारण बिरामीहरुको संख्या दिनानु–दिन बढ्दो रुपमा देखिएको छ ।
राप्ती आँखा अस्पताल रक्षाचौरले दिएको जनकारी अनुसार, अहिले आँखाका बिरामीहरुको संख्या हवात्तै बढेसंगै आँखा उपचारकालागि आउने बिरामीहरुको अस्पतालमा भिड लाग्ने गरेको छ ।
पछिल्लो समय कन्जनटिभाइटिस भाइरसबाट लाग्ने सरूवा रोगका कारण राप्ती आँखा अस्पताल तुलसीपुरमा दैनिक पाँच सय २१ जना बिरामी आउने गरेका छन् । रोगका कारण आँखा पाकेर बढी मात्रामा केटाकेटीहरू अस्पताल आउने गरेका छन् ।
आँखा पाक्ने रोगलाई अङ्ग्रेजीमा कन्जङ्टिभाइटिस वा पिङ्क आई भनिन्छ । यो रोग लागेपछि आँखाको सेतो भागको बाहिरी तह र आँखाको ढकनीको भित्री तहमा पोलेको महशुस हुन्छ भने आँखा फुस्रो वा रातो देखिन्छ । त्यस्तै आँखामा पीडा हुनुका साथै पोलेको, चिलाएको वा केही बिझाएको महशुस हुन्छ । आँखा पाक्ने रोग लागेको आँखामा धेरै आँसु आउने र बिहान उठ्ने बेलामा आँखाको ढकनी एक आपसमा टाँसिने हुन्छ ।
यो रोग लाग्दा आँखाको सेतो भाग सुन्निन पनि सक्छ । यदि आँखा पाक्ने रोगका साथमा एलर्र्जी भयो भने अझ धेरै चिलाउने हुन सक्छ । यसले एउटा मात्रै वा दुबै आँखामा असर पुर्याउन सक्छ । आँखा पाक्दा आँखा रातो हुने, चिलाउने, आँखाबाट रगत मिसिएको आँसु आउने, ज्वरो आउने, घाँटी दुख्ने समस्या जस्ता लक्षणहरु देखा परेको अस्पतालले जनाएको छ ।
लमही आँखा अस्पतालमापनी दैनिक तीन सय १३ जना र भालुवाङ उपचार केन्द्रमा दैनिक झण्डै ८० जना बिरामी आउने गरेको लमही आँखा अस्पताल देउखुरीले जानकारी दिएको छ ।
यस्तैगरी राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा रहेको तिलगंगा सर्जिकल आँखा केन्द्रमा दैनिक ४५ जना बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।आँखा पाक्ने रोग सरुवा रोग भएकोले संक्रमणबाट बच्नका लागि संक्रमित व्यक्तिको नजिक नबस्ने, भिड-भाडमा नजाने, बिरामीले प्रयोग गरेका औषधी, रुमाल, फोन, सिरानी तथा ओच्छ्यान प्रयोग गर्नु हुँदैन ।
त्यस्तै औषधी प्रयोग गरिसकेपछि हातधुने, आँखा नछुने तथा चस्माको प्रयोग गर्नुपर्छ । अनावश्यक रुपमा भिडभाडमा नजाने तथा जानै परे चस्माको प्रयोग गर्ने र लक्षण देखिएमा अस्पतालमा गएर चेकजाँच गराउन डाक्टरहरुले सुझाब दिएका छन् ।
0 comment