काठमाडौं – अहिले गर्मीको मौसम छ । यो मौसममा आफूलाई स्वस्थ र फिट राख्नका लागि हामीले धेरै कुरा गर्नै पर्दैन । केही सामान्य कुरामा यदी हामीले ध्यान दिन सकियो भने गर्मीबाट सहजै पार पाउन सकिन्छ । हामीले अनुभव गरेकै छौं, गर्मी बढेसँगै पखला लाग्छ, खानेकुरा पच्दैन, फूड प्वोइजन हुन्छ । यहिबेला हो, छालाको संक्रमणदेखि टाउको दुख्नेसम्मको समस्या हुने । 

गर्मी याममा हाम्रो शरीर आलस्य हुन्छ । थकाई लाग्छ । काम गर्न जाँगर चल्दैन । अर्कोतिर झिँगा फैलने, लामखुट्टेले टोक्ने र साङ्लाले दुख दिने पनि यही गर्मी याममै हो । यद्यपी यो मौसमको खराबी होइन, हामीले मौसम अनुसार आफुलाई तयार राख्न नसकेका मात्र हौं । गर्मी÷जाडो भनेको प्राकृतिक चक्र हो । यो बर्षौदेखि निरन्तर र नियमित छ । अतः गर्मीमा पनि आफुलाई कसरी फिट एन्ड फाइन राख्ने भन्ने कुरा हाम्रो आफ्नै हातमा छ ।

गर्मी याममा शरीरलाई सीतल बनाई रख्न यसो गर्नुहोस

– गर्मी याममा सफा तथा स्वच्छ पानी प्रशस्त मात्रामा पिउनुपर्छ ।
– दही, लस्सी, मोही, जुस, राइता तथा दहीमा काक्रो, केरा, खरबुजा आदि फलफूल राखेर खान सकिन्छ । यसले खाना स्वादिलो हुनुको साथै पानीको मात्रा पनि पु¥याएर शरीरमा शक्ति प्रदान गर्छ ।
– गर्मी मौसममा नरिवलको पानी पनि पिउनु अत्यन्त लाभदायी हुन्छ । यसको सेवनले शरीरमा शीतलता प्रदान गर्नुका साथै महत्वपूर्ण खनिज पदार्थ पनि पाइन्छ ।
– आलुबखडा, आरु, भुँइकटर, आँप, नास्पाती, केरा खरबुजा र अन्य फल–फूल खानुपर्छ ।
– मौसमी तथा हरिया सागसब्जी हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्नुपर्छ ।
– यो मौसममा फलफूल पनि खान सकिन्छ । फलफूलमा डाइटरी, फाइबर, भिटामिन ए, भिटामिन सी, एन्टि अक्सिडेन्ट तथा अन्य खनिज पदार्थ जस्तो म्याग्नेसियम, पोटासियम, फस्फोरस आदि पाइन्छ ।
– यति बेला डूाई फुट्स ओखर, बदाम, काजु पनि खान सकिन्छ ।
– पुदिना तथा कागती पानी पिउनु पनि यो मौसममा लाभदायी हुन्छ ।
– गर्मी मौसममा पीरो तथा अमिला खानेकुराहरु जिब्रोका स्वाद तथा रिफ्रेसका लागि खाने गरिन्छ, यस्ता खानेकुराले बाहिरी तापक्रम अनुसार शरीरको भित्रि तापक्रम पनि बढाइ शरीरमा तापक्रमको सन्तुलन गराउँछ ।
– अमिला खानेकुराहरु (कागती वा अन्य फलफूलहरू) र पीरो (हरिया खुर्सानी) ले हाम्रो शरीरका लागि आवश्यक अन्य पौष्टिक तत्वहरू पनि प्रदान गर्दछ ।
– ताजा खाद्य स्रोतबाट प्राप्त अमिलो वा पिरो खानेकुराले स्वस्थ मानिसको स्वास्थ्यमा कुनै असर गर्दैन तर विभिन्न रोगको समस्या छ भने पोषणविदसँग परामर्श गरेर मात्र खानु प्रभावकारी हुन्छ ।
– शरीरको तापक्रम ठीक राख्नका लागि पानी आवश्यक हुन्छ । यो मौसममा कति पानी पिउने भन्ने कुरा स्थानमा निर्भर रहन्छ । स्वस्थ मानिसले यो मौसममा २ देखि ३ लिटरसम्म पानी पिउनु पर्छ । बढी तापक्रम हुने र पसिना बढी आउने ठाउँमा भने ५ लिटरसम्म पानी पिउन उपयुक्त हुन्छ ।
– पानीको मात्रा कम गर्नु पर्ने बिरामीको लागि भने चिकित्सक तथा पोषणविद्को सल्लाह अनुुसार लिनु उपयुक्त हुन्छ ।

के तपाईको पसिना गन्हाउँछ ?

गर्मी मौसममा शरीरबाट पसिना निस्कनु यो सामान्य कुरा हो । जति धेरै पसिना आयो, त्यति नै उक्त व्यक्ति स्वस्थ हुन्छ भन्ने आम मान्यता समेत रहेको छ । शरीरबाट पसिना निस्कनु शरीरका लागि आवश्यक कुरा पनि मानिन्छ । शरीरमा भएको बिकार समेत पसिनाकै रुपमा शरीरबाट बाहिर निस्कन्छ । पसिनाले शरीरको तापक्रमलाई सन्तुलनमा समेत राख्छ । यद्यपि, आवश्यकता भन्दा बढि पसिना आएमा शरीर तथा पहिरन नै दुर्गन्धित हुन सक्छ । अधिकांश व्यक्तिहरु पसिना गन्हाउने समस्याबाट पीडित छन् । पसिना गन्हाउने कारणले संगै बस्ने व्यक्तिले असहज महसुस गरिरहेको हुन्छ । आवश्यकताभन्दा बढि पसिना आउने समस्यालाई हाइपर हाइडूोसिस भनिन्छ ।

वंशाणुगत कारण, धेरै गर्मी भएमा तथा व्यायाम गर्दा समेत पसिना आउँछ । यसबाहेक कुनै–कुनै रोगका कारण, कमजोर भएको बेला पनि शरीरमा पसिना आउँछ । यसबाहेक थाइराइड ग्रन्थी आवश्यकताभन्दा बढि सक्रिय भएको बेला पनि पसिना आउने गर्दछ । शरिरको बाहिरी भागमा भएको मृत छालाको पत्रलाई पसिनाले ओसिलो बनाउँछ ।  त्यहीँबाट दुर्गन्ध उत्पन्न हुन्छ । पसिना आउन नदिन शितलमा बस्नु पर्छ । नियमित नुहाउनु पर्छ । गर्मी मौसममा धेरै फलफूल सेवन गर्नु पर्छ । धेरै बेर भोकै नबस्ने, मसलादार खानेकुरा नखाने गर्नाले पसिना आउने समस्याबाट छुटकारा पाउन सकीने विज्ञहरु बताउछन् । यसबाहेक गर्मी मौसममा बढि मात्रामा दही सेवन गर्नाले पनि धेरै पसिना आउने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

गर्मी याममा लामखुट्टे, झिँगा र साङ्लाबाट बच्न के गर्ने ?

गर्मीमा याममा आफ्नो शरीरका साथ–साथै वातावरणिय स्वच्छता पनि आवश्यक हुन्छ । आफ्नो घर, आँगन वा आफु बसोबास गर्ने आसपासको क्षेत्र सफा, सुग्घर भयो भने विभिन्न संक्रमणको भय हुँदैन । पानी जम्ने खाल्डाखुल्डी, फोहोरको थुप्रो, कुहिएका बस्तुहरु छन् भने त्यहीबाट लामखुट्टे, झिँगा, साङ्ला फैलन्छ । यी भनेका रोगका स्रोत हुन् । लामखुट्टेको टोकाइले जिउमा चिलाउने मात्र होइन, रगतको माध्यामबाट विभिन्न रोग सार्ने डर पनि हुन्छ । यसैगरी झिँगाले खानेकुरालाई दुषित बनाइदिन्छ । 

साङ्लाले पनि खानेकुरामा हानिकारक ब्याक्टेरिया सार्ने जोखिम हुन्छ । त्यसैले लामखुट्टे, झिँगा, साङ्ला  नियन्त्रणका लागि घर एवं आसपासका क्षेत्रमा सरसफाई आवश्यक हुन्छ । गर्मीमा लामखुट्टेको टोकाईबाट बच्नका लागि झुलको प्रयोग गर्ने गरिन्छ । यो सही तरिका हो । जबकी लामखुट्टे भगाउन धूप बाल्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । यस्ता धूपले लामखुट्टे मर्छ भने पक्कै त्यसले हाम्रो स्वास्थ्यलाई पनि हानी गरिरहेको हुन्छ । लामखुट्टेको प्रकोपबाट बच्न कतिले झ्याल(ढोका बन्द गर्ने गर्छन् । यद्यपी झ्याल ढोका पूर्ण रुपमा बन्द गर्दा कोठामा हावा आउजाउ गर्न सक्दैन । त्यसैले संभव भएसम्म झ्यालमा जाली लगाएर सकेसम्म खुला राख्नु राम्रो हो ।