काठमाडौं – पृथ्वीमा जलवायु परिवर्तन हुनुको कारण एउटै मात्र छैन, धेरै छन् । सौर्य मण्डलमा पृथ्वीको अवस्थिति, यसको आफ्नै भू–बनावट, अनि तिनमा आउने परिवर्तनहरु नै यहाँको जलवायु परिवर्तनका मुख्य वाहक हुन् । यसलाई क्रमैसँग बुझ्ने कोसिस गरौं ।
(क) पृथ्वीमा जलवायु परिवर्तनको पहिलो कारण यसको अवस्थिति हो । सूर्य परिवारमा यो सूर्यदेखि तेस्रो स्थानमा पर्दछ र सूर्यलाई सालाखाला ३६५ दिन लगाएर परिक्रमा गर्दछ । पृथ्वीले परिक्रमा गर्ने त्यो काल्पनिक बाटो अन्डाकारको रहेको छ, यसैका कारण यहाँ ऋतु परिवर्तन हुने हो, किनकि अन्डाकारको बाटोमा घुम्नु भनेको सूर्यसितको यसको दूरी सधैँ एकैनास नहुनु हो । अर्को कुरा पृथ्वी आफ्नो कक्षमा सिधा नभई ६६ २ डिग्रीमा कोल्टे परेको छ, यो कोल्टाई ६६.९ डिग्रीसम्म पुग्दछ । अर्थात् पृथ्वी आफ्नो ठाडो कक्षबाट २२.१ डिग्रीदेखि २४.५ डिग्रीसम्म ढल्किन्छ । यस्तो ढल्काइ पूरा हुन करिब ४१ हजार वर्ष लाग्छ । यसलाई मिलानकोभीच चक्र भनिन्छ । पृथ्वी ढल्किने यस चक्रको क्रममा पृथ्वी कुनै समय तातो र कुनै समय चिसो हुने हो ।
(ख) पृथ्वीमा हुने जलवायु परिवर्तनको अर्का कारण यसको भू–बनावटमा आउने परिवर्तन हो । पृथ्वी विभिन्न ठूल्ठूला भूभागमा विभक्त छ, यसलाई टेक्टोनिक प्लेट भनिन्छ । यो प्लेट सदैव चलायमान छ, यसैले पृथ्वीका महादेशहरु सधैँ एउटै स्थानमा रहँदैनन् । करोडौं वर्ष पहिले ती महादेशहरु सबै एउटै ढिक्का भएर बसेको थियो अहिले फाटेर छुट्टाछुट्टै छ । यसरी महादेशीय प्लेटहरुको अवस्थिति परिवर्तन हुने बेलामा त्यहाँको भू–बनावट परिवर्तन हुन्छ र त्यसै अनुसार जलवायु पनि परिवर्तन । जस्तो उदाहरणको लागि आजभन्दा करिब ६ करोड वर्ष पहिले हिमालय पर्वतमाला थिएन पछि भारतीय भूभाग तिब्बत भूभागसित ठोकिएपछि हिमालयको सिर्जना भयो । हिमालय सँगसँगै मनसुनी वर्षा पनि प्रारम्भ भयो ।
(ग) जलवायु परिवर्तनको तेस्रो कारण ठूल्ठूला ज्वालामुखी विष्फोटन, आकाशबाट झर्ने ठूल्ठूला उल्कापिण्डहरु, सूर्यमा देखा पर्ने धब्बा (Sun Spot) हुन् । ज्वालामुखी विष्फोटनबाट पृथ्वीको गर्भबाट निस्कने ग्याँस, तातो पदार्थ लाभाले वायुमण्डललाई प्रभावित पारी त्यस्तो परिवर्तन हुने हो । त्यस्तै अन्तरिक्षबाट खस्ने उल्कापिण्डहरु पनि पृथ्वीमा बज्रन आई यहाँको वातावरणलाई असर पुर्याई त्यस्तो परिवर्तन हुनमा सघाउँछ ।
(घ) जलवायु परिवर्तनको चौथो कारण पृथ्वीका जीव जीवात्माहरु हुन् । पछिल्लो वैज्ञानिक धारणा अनुसार जसरी वातावरणका कारण जीवहरुको विकासमा असर पुर्याइरहेको हुन्छ, त्यसरी नै जीवहरुले पनि वातावरणमा असर पुर्याइरहेका हुन्छन् । पृथ्वीको वायुमण्डलमा रहेको ओजोन त्यस्तै जीवहरुको कारण सम्भव भएको हो । पृथ्वीमा जब हरितकणयुक्त जीवहरु देखा परे तिनले प्रकाश संष्लेषण क्रियामार्फत अक्सिजन उत्सर्जन गरे र त्यही अक्सिजनबाट नै ओजोनको तह बन्न सकेको हो ।
(ङ) जलवायु परिवर्तनको पछिल्लो कारण मानिसहरुको क्रियाकलाप हो । खास गरी औद्योगिक क्रान्ति पश्चात् जुन प्रकारले कलकारखाना र सवारी साधनको लागि इन्धन (Fossil Fuel) प्रयोग भयो । त्यसबाट उत्सर्जन भएको कार्बोन डाइअक्साइड ग्याँस वर्तमान जलवायु परिवर्तनका लागि बढी जिम्मेदार छ । एक तथ्याङ्क अनुसार सन् १८५० अघि वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा २८० पीपीएम थियो जुन अहिले बढेर ३९० पीपीएम पुगेको छ । त्यस्तै चौपायाहरु र अन्य जैविक स्रोतबाट निस्कने मिथेन ग्याँस पनि पृथ्वी तताउनका लागि जिम्मेद्वार छ । पृथ्वीको तापक्रम वृद्धि गर्ने यी ग्याँसहरुलाइ हरितगृह ग्याँस (Green House Gas) भनिन्छ ।
0 comment