काठमाडौं - सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षण सिकाइ हुन थालेपछी पर्वतको महाशिला गाउँपालिकामा रहेका निजी विद्यालय विस्थापित हुँदै गएका छन् । 

सात पालिका मध्ये निजी विद्यालय नहुने यही महाशिला गाउँपालिका हो । अन्य पालिकामा भने निजी विद्यालय सञ्चालनमा छन् । महाशिलामा जनप्रतिनिधिले सामुदायिक विद्यालयको गुणस्तरमा सुधारमा प्राथमिकता दिएपछि विभिन्न वडामा सञ्चालित निजी विद्यालय बन्द भएका हुन् । 

हुनेखानेका बालबालिका गुणस्तरीय शिक्षाका नाममा बजार जाने र गाउँमा रहेका विपन्न तथा मध्यम परिवारका बालबालिका पनि लामो समय विद्यालयमा नटिक्ने समस्यापछि गाउँपालिकाले सामुदायिक विद्यालयबाट नै निजी विद्यालय सरहको शिक्षा दिन थालेपछी यस्तो हुन गएको दाबी गरेको छ ।  

गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसाले सुरुमा कक्षा १ देखि ३ सम्म दिवा खाजा कार्यक्रम सुरु गरेपछि यसले विद्यार्थीको टिकाउदर बढेको बताउनुभयो । 

पछि सरकारले कक्षा ५ सम्म दिवा खाजा कार्यक्रम सञ्चालन गरेपछि निजी विद्यालयमा भन्दा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण झन बढाएको र अहिले कक्षा नर्सरीदेखि १० सम्म नै सबै विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ सञ्चालन गरेपछि सामुदायिक विद्यालय नै अभिभावको रोजाइमा परेको उहाँको भनाइ छ ।

भुसालले पछिल्लो समय जिल्लाभरमा निजी विद्यालय नहुने पालिका बनाउन सफल भएको बताउनुभयो । गाउँपालिकाले अङ्ग्रेजी भाषाप्रतिको मोह देखेर यहाँ रहेका सबै विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरेको र बोर्डिङ स्कुलले दिने शिक्षा सामुदायिकबाट नै दिन थालिएपछि गाउँपालिकालाई निजी विद्यालय बिहीन बनाउन सकिएको बताउनुभयो ।