काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आगामी दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डले परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने घोषित कार्यतालिका अनुसार तयारीलाई अन्तिम चरणमा पुर्‍याएको जनाएको छ।

यस वर्ष एसईई परीक्षा गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन गरिएको थियो। परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले आवेदन फाराम भरेका थिए।

बोर्डका अनुसार यसपटक उत्तरपुस्तिका परीक्षण परीक्षा केन्द्रमै गरिएको कारण नतिजा तयारी प्रक्रिया छिटो भएको हो। केन्द्रमै परीक्षण प्रणाली लागू गरिएकाले उत्तरपुस्तिका ढुवानी, व्यवस्थापन तथा परीक्षणमा लाग्ने समय घटेको बोर्डको भनाइ छ।

नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेकाले प्राविधिक परीक्षण र विवरण प्रमाणीकरणको काम भइरहेको जनाइएको छ। बोर्डले नतिजा वेबसाइट तथा एसएमएसमार्फत नतिजा हेर्न सक्ने व्यवस्था मिलाउँदैछ।